PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पहिले मानिसले घेरिन्थे श्याम नारायण, यस पटक मूर्तिको भीडले घेरिए

पहिले मानिसले घेरिन्थे श्याम नारायण, यस पटक मूर्तिको भीडले घेरिए

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौँ: करिब २५ वर्ष भयो श्याम नारायण पण्डित काठमाडौँ ओर्लिएको। मधेसबाट काठमाडौँ आएपछि उनको धेरै समय ललितपुरको कुपण्डोलस्थित गुसिंगलमा बित्यो, माटोको मूर्ति बनाएर।

१२ वर्षको उमेरदेखि मूर्ति बनाउन सुरु गरेको थिए उनले। बाजे बाबुबाट पुर्खौली पेसा सिक्दै काठमाडौँको चाडमा छुट्टै रौनक थप्न उनले खुब मिहिनेत गरे। बेला मौकामा गाउँ पुग्थे।

हरेक वर्ष भदौ महिनामा निकै व्यस्त हुन्थे पण्डित। गुसिंगलमा विश्वकर्मा पूजाका लागि मूर्ति तयार गर्दै दिन बित्थ्यो। वर्षमा १२५ देखि १५० वटासम्म विश्वकर्माको मूर्ति बनाउँथे। असोज १ गते पर्ने विश्वकर्मा पूजाका लागि भदौ अन्तिमतिर त उनको वर्कसपमा मूर्ति लिन आउनेको भीड हुन्थ्यो। मान्छे लाइन लागेर मूर्ति लिन आउँथे।

तर यस पटक सोचेझैँ भएन।

वर्कसपमा विश्वकर्माका मूर्ति त बने तर लिन आउनेको भीड लागेन। कोरोना महामारीबीच केही आशा थियो मूर्ति बिक्ने। त्यसैले १०० वटा विश्वकर्माको मूर्ति तयार पारेका थिए। तर विश्वकर्मा पूजाको पूर्व सन्ध्यासम्ममा मात्र २५ वटा मूर्ति बिक्री भए।

पहिला वर्ष यो समय उनको वर्कसपमा मान्छेको भीड हुन्थ्यो। यो पाली मूर्तिको भीड छ। र चारैतिर विश्वकर्माका मूर्तिले घेरिएका छन् श्याम नारायण।

आफैँले बनाएका मूर्ति नियाल्दै पण्डितले भने ‘यस पटक यस्तै भयो। सोचे जस्तो भएन।’

आफूसहित ६ जना कामदार मिलेर बनाएका थिए यी मूर्ति। रंगारोहण गरेर मूर्ति तयार पारेका थिए। आफ्नोसँगै कामदारको परिवारले नि राहत पाउने सोचेका थिए।

पहिला वर्ष करिब ६ लाखको व्यापार भएको थियो। ३ लाखको लगानी थियो। यस पटक अली कम लगानी गरेका थिए। महामारीको अवस्थाका कारण कम संख्यामा नै मूर्ति बनाएका थिए।

‘कोरोनाका कारण यस पटक कम मात्रै अर्डर आयो। लकडाउन निषेधाज्ञाका कारण मानिस आएनन्। पहिला वर्ष अर्डरमात्रै १२५ वटा बेचेको। विश्वकर्मा पूजा गर्ने समयमा मात्रै हरेक साल दुईदेखि चार लाखसम्म कमाएको। पहिलोपटक यस्तो घाटा भयो।’ उनले भने।

सरकारले भीडभाड हुने क्षेत्र खुला गरेको छैन। नित्य पूजाबाहेक मन्दिर जान वा जात्रा पर्व गर्न पनि अनुमति दिएको छैन। सुरक्षा सतर्कता अपनाएर भए पनि केही पर्व सञ्चालन गर्न सक्ने उनको मत छ। जसबाट मानिसहरूको आस्था त जीवन्त रहन्छ नै भगवान् बनाउने हातहरूले समेत केही राहत पाउँथे।

यस पटक घाटा भयो नै। तर आउने दसैँ तिहारमा अवस्था हेरेर मूर्ति बनाउने उनको योजना छ।

विश्वकर्माका मूर्तिले घेरिएका श्याम नारायण भन्छन्, ‘यसपाली नवदुर्गाको मुर्ति बनाउने हो। अर्डर आएको मात्र बनाउने धेरै नबनाउने। त्यो बेला पनि बनायो र बिक्री भएन भने डबल घाटा हुन्छ।’



ट्रेन्डिङ पोस्ट

Ncell