काठमाडौं : झण्डै छ महिनादेखि थन्किएका मध्यम र लामो रुटका बस सञ्चालनका लागि तयारी भइसकेको यातायात व्यवसायीले बताएका छन्।
यातायात व्यवसायी र चालक महासंघ सम्मिलित संयुक्त कार्यदलले भोलिबाट बस सञ्चालनका लागि सबैलाई अनुरोध गरेको छ। बुधवार एक विज्ञप्ति जारी गर्दै कार्यदलले सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेको छ।
चालक, सहचालकले मास्क, पञ्जा, सेनेटाइजर र सहचालकले फेस भाइजरको प्रयोग अनिवार्य रुपमा गर्न भनिएको छ। यात्रुले यात्रा अवधिभर मास्क लगाउन र सवारी साधनमा चढ्दा, ओर्लदा र खाजा खाँदा भीड नगर्न भनिएको छ।
कार्यदलले बुधवार नै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर बस सञ्चालनको प्रस्ताव मन्त्रिपरिषदमा लगेकोमा धन्यवाद दिएको थियो। मन्त्री नेम्वाङले आवश्यक सबै स्वास्थ्य सुरक्षा अपनाएर मात्रै बस सञ्चालन गर्नुपर्ने बताए। उनले सरकारले तोकेको मापदण्ड पूरा गरेर सेवामा जान आग्रह गरे।
मन्त्री नेम्वाङले यससम्बन्धी तयारीको जिम्मेवारी यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादूर हमाललाई दिइएको बताए। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बस चलेपछि यात्रुलाई कहाँ खाना, खाजा खुवाउनेलगायतका विषयमा अहिलेसम्म जानकारी नगराएको बताए।
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले असोज १ देखि लामो रुटको बस सञ्चालनको निर्णय गरेको थियो। यी सवारी साधनले सिट क्षमताको आधा यात्रु राखेर साविक भाडादरमा ५० प्रतिशत बढी भाडा लिएर यात्रा गराउनुपर्नेछ।