- दीपक शर्मा -
यो प्रश्न जसप्रति लक्षित छ उसप्रति पूरा जिम्मेवारी पूर्वक र आग्रहका साथ प्रश्न गरिएको हो यो। हुन त प्रश्नले संविधान र व्यवस्था नै कमजोर हुन्छ भन्ने ज्ञान बाँड्ने शासकको देशमा प्रश्न गर्नु पनि अपराध नै होला। तर, बचेखुचेको र कागजमै सही, लोकतन्त्र भएको देशमा यतिको प्रश्न गर्ने चेष्टा गरियो। र, यो प्रश्न सत्तालाई नभएकाले अरिंगालको डर पनि राखिएन। लोकतन्त्रलाई आफनो निर्देशक सिद्धान्त मान्ने दल भएकाले र प्रश्नलाई प्रतिशोधकै रुपमा बुझिने संस्कार नभएकाले हार्दिकता पूर्वक केही तपसिलका प्रश्न उठान गरिएको छ।
यतिखेर सारा मुलुक कोरोना र बाढी पहिरोको विपतसँग जुधिरहेको छ। जनताको सामान्य जीवन प्रक्रियामा असहजता थपिएको छ। सरकारी अकर्मण्यता र असक्षताले जनजीवनमा झन् अन्योलता थपिँदै गएको छ। सरकार हरेक क्षेत्रमा नालायक सावित भइसकेको छ। जनता बेसहारा जस्ता भइसकेका छन्। आशाको उजेली कतै देखिँदैन। सरकारका एक एक गलत गतिविधिबारे आमजनतालाई जानकारी भइसक्यो। कोरोनाले पूरै देशभर आपतकालको स्थिति बनाउन थालिसकेको छ। सरकारका यावत् बेथिति बाहिर आइरहेका छन्। सरकारको विरोधमा इनफ इज इनफको ब्यानरमा चेतनशील युवा सडकमा ओर्लिए। रोक, भोक र शोकले जनता पनि सडकमा आइसकेको विषम अवस्था छ। तर, यी सब विषयलाई प्रक्रियागत रूपमा उठाउनुपर्ने प्रतिपक्ष दल कहाँ छ? सरकारसँग उसका प्रश्न खोई? सरकारसँग जनधनका बारेका उसका चिन्ता खोई? जवाफदेहिताको माग गरेको खोई? आम जनतालाई 'हामी छौं' भन्दै आश्वस्त पारेको खोई? दलित भएकै आधारमा मारिएका शम्भु सदा, विजय राम, रोशन विश्वकर्मा जस्ता युवाका लागि न्याय मागेको खोई?
सरकारलाई सचेत गर्न भन्दै छायाँ सरकार पनि बनेको थियो क्यारे! कतै त्यो आफ्नै छायाँसँगै त्रसित पो भयो कि? नत्र आज बेथितिले यत्रो जनमानसलाई असहज पार्दा पनि ऊ किन मौन छ? युवाहरु बेथितिविरुद्ध आवाज लिएर इनफ इज इनफ भन्दै शान्तिपूर्ण रुपमा सडकमा आउँदा पनि किन तपाईँहरुको दल तिनका पक्षमा आएन? किन युवाले सरकारमाथि प्रश्न गर्दा पनि काङ्ग्रेस चुपचाप बस्यो? राजनीतिक भाषामा यसरी सत्ताको उन्मादविरुद्ध प्रतिपक्ष मौन बस्नु भनेको त्यसको साक्षी बस्नु हो। केही ब्यक्तिलाई छोडेर नेतृत्वलाई हेर्ने हो भने नेपाली काङ्ग्रेस आज सत्तापक्ष नै हो।
केपी ओलीको दोस्रो शासनकाल शुरु भएपछि यो मुलुकमा विभिन्न खाले भ्रष्टाचार र अपराध घटित भएका कुरा मिडियामा बारम्बार आइरहेका छन्। सुन काण्ड, सेक्युरिटी प्रेस काण्ड, यति होल्डिङ्स काण्ड, वाइड बडी जहाज खरीद काण्ड जस्ता भ्रष्टाचारका मुद्दा हुन वा निर्माला हत्याका अभियुक्त पक्रने विषय नै हुन्, वा रुकुममा प्रेम र जातको नाममा मारिएका नवराज बिक हुन्। अथवा हिरासतमा अनाहकमा मारिएका विजय राम हुन्, कसैलाई पनि न्याय मिलेको छैन।
राजनीतिक प्रभावका नाममा जघन्य अपराध गरेका अपराधीहरु मुलुकमा फुक्काफाल घुमिरहेका छन् भने यो देशमा दलित भएकै आधारमा मर्नुपर्ने नियति दिनदिनै बढ्दै गएको छ। सत्ताको आतंक आम नागरिकसम्मै कसरी संचालित छ भन्ने एउटा उदाहरण हेर्न जुम्ला पुगे हुन्छ। जहाँ आफ्नै बलबुताले भ्याएसम्मको स्वयम् सेवा गर्न हिँडेका डाक्टरलाई विभिन्न नाममा तर्साउने गतिविधि भएका छन्। सरकारी असक्षमताहरु हेर्दै आउने हो भने एकएक पत्रमा दमन र निर्धामाथि चरम बल प्रयोग भएका घटना छन्।
विकास र समृद्धिको नारा दिएर नेपाल आफैँले बनाउने स्वउद्घोष गर्ने प्रधानमन्त्री सर्प पालन र आदित्य फाउन्डेसनलाई पैसा बाड्छन् तर विज्ञान र प्रविधिमा काम गर्छु र देशमा नै बैज्ञानिक उत्पादन गर्छु भन्ने महावीर पुन दुत्कारिन्छन्। यो सतीको श्राप बोकेको देश हो कि होइन? त्यो थाहा लागेन। तर, यो विज्ञान र ज्ञानलाई उछितो काड्ने सत्ता चाहिँ पक्का हो। बिज्ञान र प्रविधिले नभई आदित्य फाउन्डेसनले यो देश बन्छ भन्ने सोच हावी भएको सत्तालाई भन्न सकिन्छ - महोदय, संसारमा सर्प पालेर देश समृद्ध भएको आजसम्म कतै थाहा पाइएको छैन। बेसारे पीएचडीमा कतै भए ज्ञान बाँडे भयो।
के यी तमाम पागलपन, बेथिति र अराजकताबारे प्रतिपक्ष दल अन्जान छ? यदि छ भने नेपाल र नेपाली को लागी यति गर्नोस् - कृपया तपाईँको दल खारेज गर्नुस्। होइन भने जनताको आवाज बोल्नोस्। तिनका दुख र तकलिफ सरकार समक्ष पुर्याउनोस्। ब्यक्तिगत तहमा प्रतिपक्ष दलका केही नेताहरूले आफ्नो भूमिका इमान्दारपूर्वक निभाएका छन् - शेखर कोइराला, मीनेन्द्र रिजाल, प्रकाशमान सिंह, गगन थापा, प्रदीप पौडेल आदिले। आमजनताले प्रतिपक्ष दलका नेता भन्दा यिनै केही नाम आउँछन् तर संसदमा प्रतिपक्ष दलका नेताको हैसियत बनाएका शेरबहादुर देउवा गुमनाम छन्।
जनतालाई ताजुब त तब लाग्छ जब सरकार जोडिएको कुनै घोटालाको खबर आउँछ र त्यससँगै प्रतिपक्ष दलका नेताको नाम पनि जोडिन्छ। र, पटकपटकको यस्तो संयोगले प्रतिपक्ष दलको नैतिक शक्ति कमजोर भएको छ। कमजोर प्रतिपक्ष अन्ततोगत्वा लोकतान्त्रिक व्यवस्थाका लागि नै खतरनाक हुन्छ। हाम्रो जस्तो अस्थिर लोकतन्त्रका लागि त मजबुत र नैतिक शक्ति बलियो भएको प्रतिपक्ष अनिवार्य छ।
शीर्षकमा उठाइएको को प्रतिपक्ष प्रश्नको जवाफ यदि नेपाली काङ्ग्रेस हुने हो भने यसले अब आउने महाअधिवेशन बाट नैतिक रुपले बेदाग रहेको र सत्तालाई प्रश्न गर्न सक्ने नेतृत्व छनौट गर्न सक्नुपर्छ। त्यसका लागि जनताले भरोसा गर्न लायक ब्यक्ति आउनुपर्छ। त्यसका लागि शेखर कोइराला र गगन थापा उपयुक्त हुन सक्छन् कि? शीर्षकमा नै सोधिएको कसको प्रतिपक्ष? को उत्तर पनि नेपाली काङ्ग्रेस बन्नुपर्ने हो भने उसले जनताको बीचमा गएर ऊनीहरुलाई ऐक्यावद्ध गरेर अगाडि आउनुपर्छ। अहिलेको प्रतिपक्ष त बिल्कुलै सत्ता जस्तो देखिन्छ। यस्तो प्रतिपक्ष केही थान नियुक्ति खान ठिक होला आमजनताका लागि जरुरी छैन।