विराटनगर : कोशी अस्पतालको आइसोलेसनमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका वडा नम्बर ६ का ६६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर लक्ष्मीनारायण यादवले जानकारी दिए।
प्रवक्ता यादवका अनुसार बुधवार राति ११:०० बजे अस्पतालको आइसोलेसनमा उनलाई भर्ना गरिएको थियो। अस्पतालले तत्काल उनको स्वाब संकलन गरेको थियो। बुधवार राती नै १२:१५ बजे उनको मृत्यु भएको हो।
प्रदेश प्रयोशालामा गरिएको रिपोर्टको रिजल्ट आज विहान १० बजे आयो। पीसीआर परीक्षणको रिपोर्टमा उनमा कोभिड १९ पोजेटिभ देखिएको यादवले जानकारी दिए।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएका ती व्यक्तिमा उच्च रक्तचाप र मधुमेह पनि थियो।
बिराटनगरकै लाइफ गार्ड अस्पतालमा उपचाररत रहेका उनलाई रेफरल गरी कोशी अस्पताल पठाइएको थियो।
'लाइफ गार्डबाट रेफर भएर आउनुभएको हो। अस्पताल आइपुग्दा नै उहाँको स्वास्थ्य अवस्था गम्भीर थियो,’ उनले भने, ‘राती नै मृत्यु भयो, आज रिपोर्ट पोजेटिभ आयो।’
मृत्युपछि कोरोना संक्रमण पुष्टि भएकाले उनको शव व्यवस्थापन नेपाली सेनाबाट गरिने उनले बताए।