PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

वामदेवलाई राष्ट्रिय सभामा सिफारिस अड्कियो कता? बालुवाटारबाट गइसक्यो, शीतल निवासमा छैन पुगेको



प्रकाश भण्डारी

वामदेवलाई राष्ट्रिय सभामा सिफारिस अड्कियो कता? बालुवाटारबाट गइसक्यो, शीतल निवासमा छैन पुगेको
फाइल फोटो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्ने तयारी गरेको छ। सोमवार बसेको मन्त्रिपरिषदको बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि मनोनित गर्न राष्ट्रपतिको कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको थियो।

तर, बिहीवार बिहानसम्म गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने विषयमा औपचारिक निर्णय भइसकेको छैन।

प्रधानमन्त्री कार्यालय बालुवाटारबाट उनको सिफारिस गइसकेको जानकारी आएको छ तर राष्ट्रपतिकहाँ उनको सिफारिसपत्र पुगिसकेको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषदले सिफारिस गरिसकेको जानकारी दिए। 'सिफारिस गरिसकेको हो,' उनले भने।

तर राष्ट्रपतिको कार्यालयले भने हालसम्म मनोनयनको सूचना नआएको जनाएको छ। उनको मनोयनबारे औपचारिक जानकारी नभएको कार्यालयले जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले सिफारिस पत्र नआएको बताए। 'अहिलेसम्म सूचना छैन। हामीकाहाँ औपचारिक जानकारी नभएपछि हामीले के जानकारी दिने,' उनले भने।

बालुवाटारबाट नजिकै रहेको शीतल निवास पुग्नुपर्ने सिफारिसपत्र कता अड्कियो त?

राष्ट्रपति कार्यालयमा सिफारिस नपुगेकोबारे जिज्ञासा राख्दा प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको जवाफ थियो, 'पर्खनुस् न राष्ट्रपतिको कार्यालयले गर्दै होला।'

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निर्णय सार्वजनिक गर्दा गौतमको सिफारिसबारे मुख खोलेनन्। योसँगै नेकपाभित्र ६ महिना लामो विवाद मिलाउन गौतमलाई राष्ट्रिय सभामा लैजान भएको निर्णय माथि आशंक उब्जिएको छ। स्थायी कमिटी बैठकले भदौ १८ गते नै गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरेको थियो। डा. युवराज खतिवडाको मन्त्रिपरिषदबाट बहिर्गमनसँगै वामदेव सरकरमा सहभागी हुने चर्चा चलिरहेको भएपनि उनको मनोनयनमा भने ढिलाइ भइरहेको छ।

राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्य मध्य डा. युवराज खतिवडाको समयावधि सकिएपछि एक सिट खाली रहेको थियो। गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन नेकपाको स्थायी कमिटी बैठकले पनि निर्णय गरेको थियो। गौतम राष्ट्रिय सभा सदस्यसँगै सरकारमा पनि सहभागी हुने चर्चा छ।

उपप्रधानसहित अर्थमन्त्री हुने बताइए पनि प्रधानमन्त्रीले सल्लाहकारमा युवराज खतिवडालाई नियुक्त गरेसँगै अर्थमन्त्रालयको जिम्मेवारी ओलीले आफै सम्हाल्ने तयारी गरेका छन्। नेकपाभित्रको विवाद मिलाउन प्रधानमन्त्री ओली वामदेवलाई राष्ट्रिय सभामा लैजान सहमत भएका हुन्। माघमै उनलाई राष्ट्रिय सभामा लैजान अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरुले दबाव दिए पनि ओलीले अस्वीकार गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell