PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

'अंकल रिवा': चीनमा जापानी उपनिवेशकालका रेलवे कर्मचारीका छोराले कसरी अगाडि बढाउलान् चीनसँगको सम्बन्ध?



पहिलोपोस्ट

'अंकल रिवा': चीनमा जापानी उपनिवेशकालका रेलवे कर्मचारीका छोराले कसरी अगाडि बढाउलान् चीनसँगको सम्बन्ध?
फोटो : asia.nikkei.com

एक वर्षको लागि जापानको नेतृत्व सम्हाल्न आइपुगेका छन् 'अंकल रिवा'। 'रिवा' को अर्थ हो सुन्दर सद्भाव। जापानी सम्राटको शासनकाललाई जनाउन जापानमा हरेक सम्राटको काललाई यस्तै फरक नामले चिनिन्छ।

२०१९ मे १ देखि जापानमा नयाँ युगको सुरु भयो 'रिवा युग'। दुई अक्षरको यो शब्दले 'सुन्दर भाग्य' र सान्ति अथवा सद्भाव जनाउँछन्।

तत्कालिन मन्त्रिपरिदका मुख्य सचिव योशिहिडे सुगा तिनै व्यक्ति हुन् जसले २०१९ अप्रिलमा नयाँ युगको नाम घोषणा गरेका थिए-'रिवा'। त्यससँगै उनी जापानमा 'रिवा अंकल'को नामले चिनिन्छन्।

आबे सरकारका मुख्य सचिव तथा प्रवक्तासमेत रहेका सुगाले सपथ लिँदै गर्दा 'आबेनोमिक्स' लाई अगाडि बढाउने र अमेरिकासँगको सम्बन्धलाई प्राथमिकतामा राख्दै स्वतन्त्र इन्डो प्यासिफिक क्षेत्रको वकालत गर्ने बताएका छन्। जापानको विदेश नीति अनुरुप अमेरिकासँगको सम्बन्धलाई केन्द्रमा राख्ने घोषणा गरेका सुगासामु मुख्य चुनौती भनेको आबेका अपूरा वाचा पूरा गर्नु हो जसमध्ये मुख्य जापानको संविधान संशोधन।

दोस्रो विश्वयुद्धमा अमेरिकासँग पराजित जापान अहिले पनि अमेरिकाले नै मस्यौदा गरिदिएको संविधान मातहत चल्दै आएको थियो। आबेले संविधान संशोधनको मुख्य नारा लिएका थिए। उनी यसमा असफल भए। जुन जाँदा जाँदै भावुक हुँदै माफी मागेका थिए।

उनीसामु अर्को चुनौती भनेको चीनसँगको सम्बन्ध हो। दोस्रो विश्व युद्ध ताका साउथ मन्चुरिया रेलवे कम्पनीका कामदार वासाबुरोका छोरा हुन् सुगा। साउथ मन्चुरियन उत्तर पूर्वी चीनको एक हिस्सा हो। दोस्रो विश्व युद्धताका त्यहाँ जापानको उपनिवेश थियो। चीनसँग जापानले आत्मसमर्पण गरेसँगै उनी जापान फर्किएका थिए।  

चीनमा जापानको उपनिवेश हुँदा उपनिवेशका लागि काम गरेका पिताका पुत्र हुन् सुगा। अब उनको सामु चीनसँगको सम्बन्धलाई स्थायित्व दिने चुनौति छ। त्यो पनि चीन र अमेरिकाबीच कुटनीतिक युद्ध जारी रहेका बेला।

जापानको प्रधानमन्त्री भएसँगै सुगाले चीनलाई चिड्याउने कदम चालेका छन्- रक्षामन्त्रीमा पूर्व प्रधानमन्त्री सिन्जो आबेका ६१ वर्षे भाई नोबुयो किसीलाई नियुक्त गरेर। यद्यपि उनी आबेका साख्खे भाइ भने होइनन्। उनलाई आबेका मामाले धर्मपुत्रको रुपमा अंगालेका थिए र उनले उनकै थर लिए।

किसीको सम्बन्ध ताइवानसँग नजिक छ। चीनको शासनमा रहेको ताइवानको सरकारसँग उनको निकट सम्बन्ध छ- त्यहाँकी राष्ट्रपति साइ इङ वेन र अन्य राजनीतिक नेतृत्वसँग पनि। उनी जुलाइमा ताइवान पुगेका थिए- जापानी पूर्व प्रधामन्त्री योशिरो मोरीसँगै।

त्यस्तै जनवरीमा निर्वाचनमा विजयी राष्ट्रपति साइलाई बधाई दिन ताइपेइ पुगेका थिए। 'उनी ताइवान-जापानका सम्पर्क सुत्र हुन्। ताइपेइमा रहेको सरकार र जापानबीचको महत्त्वपूर्ण सम्पर्क व्यक्ति,' टोकियोको सोफिया विश्वविद्यालयका राजनीतिका प्राध्यापक कोइची नाकानोले भने

उनको नियुक्तिको विषयमा चिनियाँ विदेश मन्त्रालयले चासो देखाएको छ। मन्त्रालयका प्रवक्ता वाङ वेनविनले जापान ताइवानसँगै ओपचारिक सम्बन्ध विस्तार गर्न रोक्ने आशा व्यक्त गर्दै टोकियोसँग बेइजिङको सम्बन्ध विस्तारको अपेक्षा राखे।

उनको नियुक्तिको विषयमा चीनको प्रतिक्रियाले जापानमासमेत प्रभाव पार्ने नाकानोले बताएका छन्।

उनी यस पदका योग्य नभएको उनको नीतिले नचिनिएको योकोहामा नेसनल युनिभर्सिटिका एसोसियट प्रोफेसर लिउ छिनविनले बताएका छन्। 'उनी वास्तवमै तल्लो तहका हुन्,' उनले भने, 'सुगाले कुटनीति र सुरक्षामा आबेको नीतिलाई अंगिकार गर्ने घोषणा गरेका त्यसैले पनि आबे समूहबाट उनका भाईलाई नियुक्त गरिएको हुन सक्छ।'

यसअघि सेप्टेम्बर १२ मा जापान सरकारले चीन मामिलाका विज्ञका रुपमा रहेका अनुभवी कुटनीतिज्ञलाई बेइजिङको लागि राजदूतको रुपमा मनोनित गर्ने निर्णय गरेको थियो।

हिडेइयो तारुमीलाई नयाँ राजदूतको रुपमा पठाउने निर्णय सुगा अगाडि नै भएको थियो। उनले २०१६ देखि राजदूत रहेका युताका योकोइलाई प्रतिस्थापन गर्ने छन्। यी दुई जापानको विदेश मन्त्रालयभित्र 'चाइना स्कुल'का कुटनितीज्ञ हुन्। यी दुबैले चिनियाँ भाषामा दखलसमेत राख्छन्।

उनको नियुक्ति सुगाले प्रधानमन्त्रीको सपथ लिएकै दिन कार्यान्वयनमा गएको छ। यसअघि पनि उनले बेइजिङस्थित दूतावासमा काम गरिसकेका छन् र जापानको विदेश मन्त्रालयमा चीन र मंगोलिया शाखाको नेतृत्वसमेत गरेका छन्।

उनको नियुक्ति रक्षामन्त्रीमा किसीलाई नियुक्त गर्दा पावर ब्यालेन्स गर्ने अस्त्रको रुपमा प्रयोग भएको हुन सक्ने बताइएको छ।

आबे युगपछि चीन-जापान सम्बन्ध अनिश्चिततामा लैजाने विश्लेषण चिनियाँ विश्लेषकहरुले गर्दै आएका छन्। यद्यपि सुगाले बेइजिङसँगको सम्बन्धलाई पनि प्राथमिकतामा राख्ने बताएका थिए।

चिनियाँ राष्ट्रपति सि चिनफिङले जापानी प्रधानमन्त्री सुगालाई बधाई दिँदै दुई देशबीचको द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा लैजानु पर्ने नयाँ युगको आवश्यकता रहेको बताएका छन्। सीले दुई देशबीचको सम्बन्धले यस क्षेको स्थायित्व र समृद्धिमा सहयोग पुग्ने बताएका छन्।

त्यस्तै प्रधामन्त्री ली ख्छ्याङले पनि समकक्षीलाई शुभकामना सन्देश पठाएका छन्। उनले चीनले जापानको नयाँ सरकारसँग मिलेर काम गर्न चाहेको बताएका छन्। यस्तो विरलै हुन्छ की कुनै देशका प्रधामन्त्रीलाई चीनका राष्ट्रपति र प्रधानमन्त्री दुबैले बधाई सन्देश पठाएका हुन्।

यसले चीनको जापानप्रतिको चासोलाई व्यक्त गर्छ। पछिल्लो वर्ष दुई देशबीच सम्बन्ध सुधार तर्फ थियो। आबेले राजिनामा दिए। आबेको ८ वर्षे कालमा चिनियाँ प्रधामन्त्री लीले २०१८ मे मा जापानको भ्रमण गरेका थिए भने आबेले अक्टोबरमा चीनको भ्रमण गरेका थिए।

जी २० सम्मेलनमा सहभागी हुन ओसाका जापान पुगेका राष्ट्रपति सीलाई आबेले जापानको राजकीय भ्रमणको निम्तो दिएका थिए। तर, कोभिड-१९ को संक्रमणका कारण भ्रमण हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell