PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ग्राहकले धितोमा राखेको सुनचाँदी लिएर स्वर्णकार दम्पती बेपत्ता, ३ सयभन्दा बढी ग्राहकको थियो सुनचाँदी



अनन्तराज न्यौपाने

ग्राहकले धितोमा राखेको सुनचाँदी लिएर स्वर्णकार दम्पती बेपत्ता, ३ सयभन्दा बढी ग्राहकको थियो सुनचाँदी

विराटनगर : ऋणका लागि ग्राहकले धितोमा राखेको सुनचाँदी लिएर मोरङका एक सुन पसल सञ्चालक बेपत्ता भएका छन्। मोरङको बुढीगङ्गा गाउँपालिकामा ‘चन्दा ज्वेलर्स’ नामको सुन पसल सञ्चालन गरिरहेका चन्दन स्वर्णकार र उनकी श्रीमती संगीता धितोमा राखिएको सुनचाँदी फरार भएका हुन्।

उनीहरूले बोक्ने गरेको मोबाइल फोन स्विच अफ छ। दुवैले आआफ्नो फेसबुक डिएक्टिभ गरेका छन्।

पीडितका अनुसार गाउँपालिकाका ३ सयभन्दा बढी ग्राहकले ‘चन्दा ज्वेलर्स’मा सुनचाँदी धितो राखेर नगद ऋण लिएका थिए। पीडितहरूले जिल्ला प्रहरी कार्यालयमा चन्दन र संगीताका विरूद्धमा किटानी जाहेरी दर्ता गराएका छन्।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी राईले घटनाको अनुसन्धान भइरहेको बताए।

बुढीगङ्गा गाउँपालिका वडा नम्बर २ टङ्कीसिनवारीकी देवी थापा निरौलाले विभिन्न मितिमा साढे चार तोला सुन लिएर १ लाख रुपैयाँ कर्जा लिएकी थिइन्। एक हप्ताअघि पैसा बोकेर सुन उकास्न जाँदा पसल बन्द थियो, चन्दन र संगीता बेपत्ता भएको खबर फैलिएको थियो।

त्यस्तै, बुढीगङ्गा ३ बाँसबारीकी राधा बरालले पनि ८ आना सुन धितो राखेर १४ हजार रुपैयाँ ऋण लिएकी थिइन्। आफूले भदौ २ गते लिएको ऋण तिर्न जाँदा पसल बन्द भएको उनले बताइन्।

लकडाउनका कारण घरमा आर्थिक समस्या भएपछि ऋणको आवश्यकता परेको राधाको भनाइ छ। चन्दा ज्वेलर्सले सुन धितोमा राखेर दिएको ऋणको ब्याज २४ प्रतिशत लिने गरेको पीडितले बताए।

बेपत्ता दम्पतीले देशका अन्य कुनै ठाउँमा यस्तै पसल खोल्न सक्ने आशंका गरेर प्रहरीले छानबिन गरिरहेको डीएसपी राईको भनाइ छ। सिमाना सिलबन्दी भएका बेला उनीहरू सपरिवार भागेर भारततर्फ जानसक्ने सम्भावना प्रहरीले क्षीण देखेको छ।

विराटनगरबाट यसअघि २ वर्षपहिले ओमलक्ष्मी ज्वेलर्सका शिशु बेगबानी पसल बन्द गरेर सपरिवार भागेका थिए। प्रहरीले उनको पत्ता हालसम्म लगाएको छैन। शिशु र उनको कम्पनी तथा परिवारमा रहेको सबै घरजग्गा बैंकले लिलाम गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell