PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रदेश एकको प्रदेशसभा भवन विराटनगरमै हुने निश्चित, सभामुख भण्डारीले गरे शिलान्यास



अनन्तराज न्यौपाने

प्रदेश एकको प्रदेशसभा भवन विराटनगरमै हुने निश्चित, सभामुख भण्डारीले गरे शिलान्यास

विराटनगर : प्रदेश नम्बर १ को प्रदेश सभाको भवन विराटनगरमै निर्माण हुने निश्चित भएको छ।

विश्वकर्मा पूजाको उपलक्ष्य पारेर बिहीवार भवनको उद्घाटन गरिएसँगै प्रदेश सभा कहाँ राख्ने भन्ने विवादको टुङ्गो लागेको हो।

हाल प्रदेश सभा सञ्चालन भइरहेकै स्थल साविकको जिल्ला विकास समितिको जमिनमा प्रदेश सभाको शिलान्यास गरिएको हो। प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीले हिन्दु विधिपूर्वक प्रदेश सभा भवनको शिलान्यास गरे।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रदेश सभाको निर्माणका लागि महानगरपालिकाले ५० बिघा जग्गा उपलब्ध गराउने घोषणा गरेका थिए। तर उक्त घोषणा हालसम्म पूरा भएको छैन।

प्रदेश सभा गठन भएको साढे दुई वर्ष पुगिसकेको छ।

शिलान्यासपछि आयोजित संक्षिप्त समारोहमा सभामुख भण्डारीले प्रदेश सभा हालसम्म मोरङ जिल्ला समन्वय समितिको साँघुरो हलमा सञ्चालन भइरहेको स्मरण गरे।

उनले आगामी ६ महिनाभित्र भवन निर्माण भइसक्ने र प्रदेश सभाको सातौँ बैठक नयाँ भवनमा गरिने जानकारी दिए।

सभामुख भण्डारीले प्रदेश सभा अब कहाँ रहने भन्ने विवादको पनि अन्त्य भएको दाबी गरे।

प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश सरकारले आफ्नो लगानीमा प्रदेश सरकारका लागि पहिलो पटक भौतिक संरचनाको निर्माण सुरु गरेको स्पष्ट पारे।

प्रवक्ता कार्कीले प्रिफ्याबको भवन बनाउन लागिएको र वर्तमान प्रदेश सभाको अवधिभर यही भवनबाट कार्य सम्पादन गरिने उल्लेख गरे।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले विराटनगरलाई प्रदेशको स्थायी राजधानी बनाउन विभिन्न निकायबाट आएको प्रतिबद्धता पूरा नहुँदा निर्माण कार्य अघि बढ्न नसकेको जिकिर गरे।

मन्त्री आङ्बोले जग्गाको अभावमा प्रदेश सरकारका अन्य पूर्वाधार र प्रशासनिक भवनको निर्माण अझै हुन नसकेको जानकारी दिए।

यसअघि विराटनगरमै प्रदेश सभा भवन हुनुपर्छ भन्ने पक्षका सांसदले प्रदेशका मुख्यमन्त्री शेरधन राई र सभामुख भण्डारीले प्रदेश सभा भवन सुनसरीको इटहरी सार्न खोजेको आरोप लगाएका थिए।

मुख्यमन्त्री राईले प्रदेशको राजधानी विराटनगरमै भए पनि प्रदेश सभा भवन मोरङको सुन्दर हरैँचा वा सुनसरीको इटहरीमा राख्नुपर्ने दलिल पेश गरेका थिए। सभामुख भण्डारी पनि मुख्यमन्त्रीकै पक्षमा थिए।

प्रदेश सभाका सचिव गोपाल पराजुलीका अनुसार प्रदेश सरकारले प्रदेश सभा भवनको निर्माणका लागि ५ करोड रुपैयाँ छुट्याएको छ। यसमध्ये २ करोड ५१ लाख ८१ हजार ९ सय ७६ रुपैयाँको लागतमा भवनको निर्माण सम्पन्न हुने गरी शिलान्यास गरिएको छ।

भवन निर्माणको ठेक्का धरानको स्वामी नारायण निर्माण सेवा कम्पनीले पाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell