PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

बक्सिङका विदेशी प्रशिक्षक अलिशेर रहिमुभको बिदाइ, आजै स्वदेश फर्कदै



पहिलोपोस्ट

बक्सिङका विदेशी प्रशिक्षक अलिशेर रहिमुभको बिदाइ, आजै स्वदेश फर्कदै
रहिमुभलाई बिदाइ गर्ने क्रममा अध्यक्ष राम अवाले (दायाँ) ।

काठमाडौं : नेपाल बक्सिङ संघले बक्सिङका विदेशी प्रशिक्षक अलिशेर रहिमुभलाई बिहीवार बिदाइ गरेको छ। बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी, अध्यक्ष राम अवाले, प्रशिक्षक, खेलाडीलगायतले उनलाई बिदाइ गरे।

रहिमुभ बिहीवारै स्वदेश (उज्वेकिस्तान) फर्कदै छन्। नेपालबाट उनी नेपाल एयरलाइन्सबाट पहिले दुबइ जाने छन्। त्यहाँबाट उज्वेकिस्तान एयरलाइन्सबाट गृह नगर तास्केन्त जाने तालिका छ। रहिमुभको नेपालबाट बिहीवार राती १०ः३० बजेको उडान छ।

रहिमुभ गत अक्टोबरमा १ वर्षका लागि नेपाल आएका थिए। विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)का कारण निर्धारित समयअघि नै स्वदेश फर्कन लागेको बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाएका छन्।

रहिमुभको प्रशिक्षणमा नेपालले बक्सिङको दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको बक्सिङ संघले जनाएको छ। उनको प्रशिक्षणमा नेपालले नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) तथा जोर्डनमा भएको ओलम्पिक क्वालिफाइङमा सहभागिता जनाएको थियो। १३ औं सागमा नेपालले ३ स्वर्ण, ६ रजत र ६ कांस्य जितेको थियो। ओलम्पिक क्वालिफाइङमा सनिल शाहीले १ बाउट जितेका थिए।

बिदाइका अवसरमा बक्सिङ संघका अध्यक्ष राम अवालेले रहिमुभको प्रशिक्षणमा नेपालले ऐतिहासिक सफलता प्राप्त गर्न सफल भएको बताउदै रहिमुभसहित उज्वेकिस्तान बक्सिङ संघ र आइबालाई धन्यवाद दिए। प्रशिक्षक रहिमुभले अझ राम्रो प्रशिक्षण पाए नेपाली खेलाडीमा विगतको भन्दा राम्रो नतिजा दिने क्षमता रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell