PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

१८ महिने बालकसहित प्रदेश १ का तीन जिल्लाका तीन जनाको पानीमा डुबेर मृत्यु



पहिलोपोस्ट

१८ महिने बालकसहित प्रदेश १ का तीन जिल्लाका तीन जनाको पानीमा डुबेर मृत्यु

विराटनगर : बिहीवार प्रदेश १ का तीन जिल्लाका तीन जनाको डुबेर मृत्यु भएको छ। मोरङ सुनसरी दुई बालबालिकासहित उदयपुरका एक पुरुषको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रदेश प्रहरी कार्यलयका अनुसार बिहीवार मोरङको रंगेली नगरपालिका-३ का १८ महिने बालकको नहरमा डुबेर मृत्यु भएको हो। बिहीवार दिउँसो करिब २ बजे बालकको घरदेखि करिब १५० मिटर पर रहेको नहरमा डुबेर उनको मृत्यु भएको हो।

उक्त घटनामा ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृयाका साथै अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

त्यस्तै, सुनसरीको दुहवी नगरपालिका-८ की १० बालिकाको पनि बिहीवार पानीमा डुबेर मृत्यु भएको छ। उनी दिउँसो करिब ३ बजे घर नजिकै जमेको पानीमा साथीहरुसँग पौडी खेल्न गएकी थिइन्। सोही क्रममा पानीमा डुबेर बेहोस अवस्थामा उनका साथीहरुले पानीबाट निकालेका थिए। उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता तथा सूचना अधिकारी सुमन कुमार तिम्सिनाले जानकारी दिए।

यसैगरी, उदयपुरको चौदण्डीगढी नगरपालिका-३ का ५५ वर्षीय पदम मगरको धपडखोलाले बगाएर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

बुधवार साँझ पौने ७ बजेको समयमा घरबाट बिरेन्द्रबजारतर्फ जाँदै गरेका मगर बिच बाटोमा रहेको धपड खोला तर्ने क्रममा खोलाको बाढीले बगाएर बेपत्ता भएका थिए। बेपत्ता भएका मगरलाई खोजतलास गर्ने क्रममा बिहीवार बिहान ९:१५ बजे बगाएको स्थान भन्दा केही तल मृत अवस्थामा फेला पारिएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell