PahiloPost

Nov 27, 2024 | १२ मंसिर २०८१

कोशी अस्पतालको पीसीआर र ओपीडी ल्याबका कर्मचारीमा कोरोना पुष्टि, दुई दिनका लागि ओपीडी ल्याब बन्द



फूलमाया पुरी

कोशी अस्पतालको पीसीआर र ओपीडी ल्याबका कर्मचारीमा कोरोना पुष्टि, दुई दिनका लागि ओपीडी ल्याब बन्द
फोटो : कोशी अस्पताल।

विराटनगर : विराटनगरस्थित कोशी अस्पतालको ओपीडी ल्याब दुई दिनका लागि बन्द भएको छ।

अस्पतालका ओपीडी ल्याब र पीसीआर ल्याबका दुई जनासहित तीन जना कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिनका लागि ओपीडी प्रयोगशाला बन्द गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी दिए।

‘ओपीडी ल्याबका कर्मचारी नै क्वारेन्टाइनमा गइसकेकाले दुई दिन अस्पतालको ओपीडी ल्याब मात्र बन्द गरिने भएको हो’, मेसु डा दासले भने, ‘पीसीआर ल्याब, इमर्जेन्सी लगायतका अन्य सबै खुला गरिने छ।’

पीसीआरमा १० जना कर्मचारी रहेकोमा एक जनामा संक्रमण देखिएको उनले बताए। संक्रमित भएका कर्मचारीको प्रत्यक्ष सम्पर्कमा आएका सबै क्वारेन्टाइनमा बसेको उनले बताए।

अस्पतालमा मंगलवार र बुधवार आएको रिपोर्टमा ओपीडी र पीसीआर ल्याबका एक एक जना र ओपीडी ल्याबकै कार्यालय सहयोगी एक जनामा कोरोना संक्रमण देखिएको अस्पतालका प्रवक्ता डा लक्ष्मी नारायण यादवले जानकारी दिए।

प्रवक्ता यादवका अनुसार बिहीवारदेखि बन्द रहेको ओपीडी ल्याब आइतवारबाट पुनः सञ्चालनमा आउने छ। त्यस्तै, संक्रमित भएका कर्मचारीको प्रत्यक्ष सम्पर्कमा आएका सबै अहिले क्वारेन्टाइनमा बसेको र सबैको शनिवारसम्म पीसीआर परीक्षण गरिने भएको छ।

‘कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको स्वाब संकलन गर्छौं र शनिवारसम्म रिपोर्ट नेगेटिभ आएमा आइतवारबाट ओपीडी ल्याब सञ्चालन हुनेछ,’ डा यादवले भने।

बुधवार संक्रमण पुष्टि भएका प्रयोगशालाका कर्मचारीसहित कोशी अस्पतालमा हालसम्म ३० जना कर्मचारी संक्रमित भएको उनले बताए। कोरोना संक्रमण देखिएकामध्ये अधिकांश कोरोना मुक्त भइ काममा फर्किसकेको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell