PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

नाओमी ओसाका : एक लजालु अन्तर्मुखी जसले आफ्नो आवाजलाई यसरी बुलन्द गरिन्



मुकुन्द घिमिरे

नाओमी ओसाका : एक लजालु अन्तर्मुखी जसले आफ्नो आवाजलाई यसरी बुलन्द गरिन्

अश्वेत जर्ज फ्लोयडलाई श्वेत अमेरिकी प्रहरीले सात मिनेटसम्म घुडाले घाँटीमा थिचे। जसकारण फ्लोयडको मृत्यु भयो। त्यसपछि अमेरिकामा मात्र नभइ विश्वका धेरै देशमा रंगभेदविरुद्ध आन्दोलन सुरु भयो। फ्लोयडलाई न्याय माग्दै लाखौं मानिस सडकमा ओर्लिए।

त्यसैक्रममा टेनिस स्टार नाओमी ओसाका आफ्नो प्रेमी र्‍यापर कोर्डइसँग मिन्नपोलिस पुगिन् उनीहरुलाई साथ दिन जो रंगभेदविरुद्ध प्रदर्शन गरिरहेका थिए।

‘मेरो मुटु दुख्यो। मैले केही गर्नुपर्छ भनेर महसुस गरेँ। ‘इनअफ’ अन्तत ‘इनअफ’ भएको थियो,’ इस्क्वाइर म्यागजिनमा ओसाकाले एउटा आर्टिकलमा लेखेकी छिन्।

छोटो करियरमा नै टेनिस स्टारका स्थापित हुनुभन्दा अघि २२ वर्षीया ओसाका आफ्नो काम चुपचाप सक्थिन र उनलाई ‘लाइमलाइट’ आउने कुनै इच्छा थिएन।

मृदुभाषी यी खेलाडीले आफूलाई इण्डियन वेल्स टाइटल सन् २०१८ मा जित्दैगर्दा ‘सबैभन्दा अलग’ (मस्ट अक्वार्ड) व्यक्तिका रुपमा परिभाषित गरेकी थिइन्। र, आफ्नो भनाइलाई खराब स्वीकृतिको भाषण भएको बताएकी थिइन्।

उक्त भाषण सानदार, आत्मघाती र आत्मचित्रण गर्ने किसिमको भए पनि उत्कृष्ट थियो। सम्भवत: ओसाकाले सायदै भीडको अगाडि बोल्नका लागि सहज महसुस गरेकी हुँदीहुन्। उनलाई आवश्यक परे छोटो उत्तर दिन नै सहज थियो।

तर यसको मतलव यो होइनकी तीन पटकको ग्राण्डस्लाम जितिसकेकी यी खेलाडीको भित्र कुनै आवाज थिएन। जसले अघिल्लो हप्तामात्र युएस ओपनको उपाधि जितेकी थिइन्।

+++

जापानी तामाकी र हाइटीयन लियोनार्ड उनका आमाबुवा हुन्। उनी जन्मिएको ठाउँ उनकै थर ‘ओसाका’ हो। उनी तीन वर्षको हुँदा उनको परिवार अमेरिका गएको थियो।

उनले इस्क्वाइर आर्टिकलमा आफुले मल्टिकल्चरल पृष्ठभूमिबाट आफूलाई परिभाषित गर्न संघर्ष गरेको उल्लेख गरेकी छिन्।

‘म एक छोरी हुँ, बहिनी हुँ, साथी हुँ र गर्लफ्रेन्ड पनि हुँ। म एसियन हुँ, अश्वेत हुँ र महिला हुँ। म अरु २२ वर्षका मानिसहरु जस्तै हुँ। यो बाहेककी म टेनिसमा केही राम्रो हुन पुगेँ। मैले आफुलाई म भएर स्वीकारेको छु।’ उनले लेखेकी छिन्।

पछिल्ला केही महिनायता उनको नाममा अर्को ट्याग पनि लागेको छ: अभियन्ता।

युएसओपनको पूर्वसन्ध्यामा ओसाकाले वेस्टर्न एण्ड साउथन ओपनको सेमिफाइनलबाट नाम फिर्ता लिइन्। विस्कन्सिनमा प्रहरीले ज्याकोब ब्लेकलाई गोली प्रहार गरेको विरोधमा उनले प्रतियोगिता नै बहिष्कार गरिन्। ज्याकोबलाई न्याय दिलाउन भइरहेको प्रदर्शनमा समर्थन जनाइन्।

उनको उक्त कदममा अरु स्पोर्टस स्टारहरुले पनि समर्थन जनाए। त्यसपछि खेल एकदिन पछिलाई सारियो। पछि फेरि उनले प्रतियोगितामा सहभागिता जनाउने निर्णय गरेकी थिइन्।

‘म खेलाडी भन्दा अघि अश्वेत महिला हुँ,’ ओसाकाले भनिन्, ‘अश्वेत महिलाका रुपमा मलाई लाग्छ मैले टेनिस खेलेको हेर्नुभन्दा धेरै महत्वपूर्ण कामहरु यस्ता छन् जसलाई तुरुन्त ध्याकर्षण हुन आवश्यक छ।’

उनी आफुले धेरै पर्खिँदा पनि केही फरक नभएपछि आफै अघि सरेको बताएकी छिन्।

‘मैले धेरै पर्खिएँ र पर्खिरहेँ। पछि मलाई लाग्यो मैले नै अघि बढ्नु पर्छ।’ उनले भनेकी छन्, ‘म बस टेनिसको बबलमा जागरुकता ल्याउन चाहन्थे। मलाई लाग्छ मैले त्यो गरेँ। सायद।’

टेनिसको सबैभन्दा ठूलो प्लेटफर्म ग्राण्डस्लाममा पनि उनले आफ्नो आवाजलाई अघि बढाइरहिन्। युएसओपनको हरेक म्याचहरुमा उनले लगाएको मास्कले विश्वको ध्यान आकर्षित गर्‍यो। ती मास्कमा रंगभेदका कारण मारिएका अफ्रिकन अमेरिकनहरुको नाम लेखिएको थियो: ब्रेओना टायलर, एलिजा म्याकलेन, अहमौद अरबेरी, जर्ज फ्लोयड, फिलान्डो क्यास्टाइल, तमिर राइस।

हरेक म्याच जित्दै जाँदा उनलाई ती नाम प्रदर्शन गर्ने मौका मिलेको थियो। उनका प्रशिक्षक विम फिसेटका अनुसार यसबाट ओसाकालाई अतिरिक्त मोटिभेसन मिल्यो।

‘यसले पक्कै पनि उनलाई धेरै शक्ति प्रदान गर्‍यो,’ प्रशिक्षक विमले भनेका छन्, ‘उनी कोर्टबाहिर रोलमोडल हुन चाहन्छिन्। त्यसैले उनलाई थाहा छ यसलाई लागि उनले पहिला कोर्टभित्र रोलमोडल हुनुपर्छ। यो राम्रो कम्बिनेसन हुनेछ।’

बेल्जियन फिसेट गएको डिसेम्बरमा अमेरिकाका जर्मेइन जेन्किन्सलाई प्रतिस्थापन गर्दै ओसाकाको प्रशिक्षक बनेका थिए।

अघिल्लो समरमा ओसाका, जेन्किन्स लगायत उनका टिमहरु युकेमा ग्रास कोर्ट सेसन र बर्मिङ्घममा हुने वुमन्स टेनिस एसोसिएसनको प्रतियोगिताको तयारीका लागि पुगेका थिए।

त्यहाँ उनीहरुले सँगै बसेर नेटफ्लिक्समा ‘ह्वेन दे सी अस’ भन्ने सिरिज हेरे। त्यो ड्रामा पाँचजना अश्वेत टिनेजर केटाहरुको सत्य कथामा आधारित थियो। हार्लिमका ति केटाहरु न्युयोर्कको एउटा ब्रुटल सेक्सुअल अट्याकको केसमा कसरी फसे भन्ने बारेमा थियो।

जेन्किन्सलाई लाग्छ त्यहाँबाट ओसाकालाई आफ्नो आवाजलाई बुलन्द गर्नुपर्छ भन्ने महसुस भयो।

‘मलाई लाग्छ त्यसले ओसाका र हामी सबैलाई पनि अमेरिकामा अश्वेतहरुलाई कसरी व्यवाहार गरिन्छ भन्ने फरक दृष्टी दियो।’ जेन्किन्सले भनेका छन्।

‘मलाई लाग्छ त्यसले उनलाई धेरै छोयो। नरोइकन त्यो हेर्न सायदै सकिएला। यसले उनलाई साँच्चै दुखी बनाएको थियो। यसबारेमा हामीले छलफल पनि गरेका थियौं। मलाई यसले गौरवान्वित बनाएको छ कि उनले आफ्नो आवाज निकालिन र वकालत गरिन् जो उनी हुन्।’ जेकिन्सले भनेका छन्।

संसारको चर्चित खेलाडी मध्येकी ओसाकाले आफ्नो प्लेटफर्मबाट आवाज उठाएर समर्थकहरुमा चेतना जगाउने काम गरेकी मात्र छैनन् उनले आफ्नो सहकर्मी साथीहरुको पनि ध्यान तानिरहेकी छिन्।

ग्रीक खेलाडी स्टेफेन स्टेपासले पनि ओसाकाको अभियानमा साथ दिँदै ‘ब्लाक लाइभ्स म्याटर्स’ को टिसर्ट युएसओपनमा प्रदर्शन गरेका थिए।

+++

वेस्टर्न साउथर्न ओपनको सेमिफाइनलबाट नखेल्ने घोषणा गर्दै गर्दा ओसाकाले आफ्नो लक्ष्य श्वेत बाहुल खेलकुदमा संवादको वातावरण बनाउने लक्ष्य रहेको बताएकी थिइन्।

टेनिस खेलबारे जानकार कतिपयले टेनिस क्षेत्रमा अश्वेतहरुले भोग्ने गरेको रंगभेदबारे राम्रो बुझाइ नै नभएको बताउँदै आएका छन्। जसको एउटा उदाहरण हुन् ओसाकाकै पूर्व प्रशिक्षक सास्चा बेजिन।

उनले जर्ज फ्लोयडको प्रकरणमा सामाजिक सञ्जालमा राखिएका पोष्टहरुको आलोचना गर्दै युरोपमा रंगभेदको इस्यु नभएको तर्क गरेका थिए।

जेन्किन भने टेनिसमा अश्वेत हुँदा एक्लिनु पर्ने वा ‘भीडको मान्छे’ बन्न नसकिने तर्क गर्छन्।

ओसाका ‘मल्टिकल्चरालिज्म’को विशिष्ट उदाहरण हुन्। जापान, हाइटी र अमेरिकन कल्चरको सम्मिश्रण हुन्।

ओसाकाले आफ्नो आर्टिकलमा जापानमै पनि रंगभेदको अवस्था चुनौतीपूर्ण रहेको दाबी गरेकी छिन्। उनको आफ्नै स्पोन्सरले एउटा कार्टुनको विज्ञापनका लागि आफुलाई ‘व्हाइटवास’ गरेको उदाहरण उनले दिएकी छिन्।

हुन त अहिलेसम्म उनले उठाएका आवाजहरु अमेरिकी परिघटनामा आधारित भएको देखिएको छ। यद्यपि उनी सामाजिक अन्यायको विरुद्धमा आवाज उठाउन वैश्विक मञ्चको प्रयोग गर्ने आशा गर्छिन्।

‘मलाई लाग्छ कुनै विषयमा बोल्नका लागि राम्रो अवसर मिल्छ। मैले महसुस गरेकी छु एकजना खेलाडीले यसबारे बोल्न थालेपछि अरुको लागि पनि बाटो खुल्छ,’ उनले भनेकी छिन्, ‘मलाई लाग्छ मेरो अन्तिम लक्ष्य त्यही हो। किनकी टेनिस अन्तर्राष्ट्रिय खेल हो र विश्वभर मानिसहरु टेनिस खेल्छन्।’

(बीबीसीमा प्रकाशित सामग्रीको भावानुवाद)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell