काठमाडौं : आज भारतमा बनेको नेपाली ट्रेन सेट जनकपुर आइपुग्दैछ। जलेश्वर हुँदै रेल जनकपुर आएपछि परीक्षण र कमिसनिङको काम हुनेछ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले शुक्रबार १ बजेसम्म नेपाल आइपुग्ने जानकारी दिए। उनका अनुसार परीक्षणबाट राम्रो रहेमात्रै त्यसलाई स्वीकार गरिनेछ। भोलि शनिवार भारतीय पक्षले नेपाललाई ट्रेन सेट हस्तान्तरण गर्नेछ। औपचारिक कार्यक्रममा सहभागी हुन महाप्रबन्धक भट्टराई र रेल विभागका कर्मचारी जनकपुर गएका छन्।
नेपालले चेन्नइको कोंकर्ण रेलवे कर्पोरेसनलाई दुई वटा ट्रेन सेट अर्डर गरेको थियो। गत वर्ष नै अर्डर गरिएका दुवै ट्रेन सेट कम्पनीले तयार पारेको थियो। सीमापारि बिहारको हाजीपुरमा ल्याएर राखिएका ट्रेन सेट भित्र्याउनु अघि विभागले तयारीका निम्ति समय मागेको थियो। यो रेल असोजदेखि संचालनमा ल्याउने तयारी छ।
जनकपुर-जयनगर खण्डमा चलाउन लागेको रेल अत्याधुनिक इलेक्ट्रोनिक सिस्टमको हो। नेपालले करिब ८६ करोड रुपैयाँमा दुइ सेट डेमु ट्रेन खरिद गरेको हो। रेल आइपुगेपछि जयनगरमा राखिनेछ। दिनभर संचालन गरेर राख्नका लागि जयनगरमा पार्किङ स्टेशन बनाइएको भट्टराईले बताए।
रेल संचालनका लागि कम्पनीले १ सय २९ जना सहायक प्राविधिक सहितको अनलाइन आवेदन खुलाइसकेको छ। यस खण्डमा रेल संचालनका लागि २ सय २६ जना जनशक्ति आवश्यक पर्छ। तर, तत्कालका लागि १ सय २९ जना भर्ना गर्न लागिएको छ। भट्टराईले १२९ जनाले काम गर्दै जाने विस्तारै बाँकी पदपूर्ति गरिने बताए। प्रशासनिक र प्राविधिक सहयोगी कर्मचारी भर्ना गर्न लागिएको हो। मुख्य प्राविधिक कर्मचारी भारतबाट ल्याउन लागिएको छ। २६ जना प्राविधिक भारतबाट आउँदै छन्। यसका लागि कम्पनीलाई नेपाल सरकारले स्वीकृति दिइसकेको छ। भारतीय पक्षलाई कर्मचारी उपलब्ध गराइदिन कम्पनीले पत्राचार समेत गरिसकेको छ।
दुई वर्षपछि नेपाली इन्जिनियरहरु पनि रेल संचालनका लागि तयार हुनेछन्। त्यसपछि भारतीय कर्मचारीलाइ फिर्ता पठाइनेछ।
प्रधानमन्त्रीले उद्घाटन गर्ने
दसैं अघि नै रेल संचालनको तयारीमा कम्पनी जुटेको छ। क्रस बोर्डर रेल संचालन गर्न भारतसँग रेल्वे सेवा सम्झौंता गर्नुपर्छ। रेल मर्मतका लागि समेत सम्झौता गर्न बाँकी छ। रेल उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।
जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्ग भारतले आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरिदिन लागेको छ। जयनगरदेखि जनकपुर करिब ३४ किमि रेलमार्ग तयार भइसकेको छ।
