PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

विश्वभर संक्रमितको संख्या पुग्यो ३ करोडमाथि



पहिलोपोस्ट

विश्वभर संक्रमितको संख्या पुग्यो ३ करोडमाथि

काठमाडौं : कोभिड १९ को संक्रमित संख्या विश्वभर ३ करोड पार भएको छ। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभर तीब्र गतिमा फैलिनेक्रम रोकिएको छैन।

चीनले समयमा नै संक्रमणलाई नियन्त्रणमा राख्न सफल भए पनि बाँकी विश्व भने अहिले पनि यससँग संघर्ष गरिरहेको छ। सबैभन्दा बढि अमेरिकामा यसको असर देखिएको छ। अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा कोरोनाविरुद्धको खोप मुख्य एजेन्डा बनिसकेको छ। हालसम्म औषधि उपलब्ध नभएकाले कोरोना भाइरसको संक्रमण अझ कति समयसम्म लाम्बिरहने हो भन्न सकिन्न।

संक्रमित संख्या ३ करोड पार हुँदा सबैभन्दा धेरै अमेरिका प्रभावित छ। अमेरिकामा ६६ लाख ७२ हजार २ सय २२ जना मानिसहरु संक्रमित रहेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ। दोस्रो बढी प्रभावित मुलुक हो भारत जहाँ ५१ लाख १८ हजार २ सय ५३ जना संक्रमित रहेको तथ्याङ्क जोन्स हप्किन्सले संकलन गरेको छ।

ब्राजिलमा ४४ लाख ५५ हजार मानिस यसबाट संक्रमित छन् भने रसियामा १० लाख ८१ हजार १ सय ५२ जना संक्रमित छन्।

संक्रमितको संख्या ३ करोड पार हुँदा यसैका कारण ज्यान गुमाउनेको संख्या पनि १० लाख नजिक पुग्दैछ। विश्वविद्यालको तथ्याङ्क अनुसार अहिलेसम्म ९ लाख ४४ हजार ३ सय ५८ जना मानिसले संक्रमणकै बीच ज्यान गुमाइसकेका छन्। यसमा पनि अमेरिकाले नै नेतृत्व लिएको छ। अमेरिकामा १ लाख ९७ हजार ५ सय ९० जनाको मृत्यु भइसकेको छ। मृत्यु संख्यामा ब्राजिल दोस्रो स्थानमा छ। ब्राजिलमा १ लाख ३४ हजार ९ सय ३५ जना मानिसले ज्यान गुमाएका छन्। तेस्रो स्थानमा भारत रहेको जहाँ ८३ हजार १ सय ९८ जनाको ज्यान गइसकेको छ। त्यसैगरी म्याक्सिकोमा ७१ हजार ९ सय ७८ जनाको मृत्यु भइसकेको छ।

कोभिड १९ विरुद्ध विश्वभर औषधि तयार गर्ने होडबाजी कायम छ तर अहिलेसम्म यही खोपले रोग ठीक पार्ने अथवा प्रतिरोध गर्न सक्छ भन्ने वैज्ञानिक पुष्टि भइसकेको छैन। त्यसैले यो पेन्डामिक कहिलेसम्म जारी रहन्छ र कति मानिस यसैका कारण हताहत हुनेछन् यसै भन्न सकिन्न।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell