PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

नारायणी अस्पतालमा जनरल उपचार सेवा पुनः शुरु



राधेश्याम पटेल

नारायणी अस्पतालमा जनरल उपचार सेवा पुनः शुरु

वीरगंज : वीरगंजमा कोरोना संक्रमण नियन्त्रणमा आएसँगै ५ महिनापछि आजबाट नारायणी अस्पतालले ओपीडीसहित जनरल सेवा पुनः सन्चालन गरेको छ। वीरगंजमा कोरोना संक्रमण बढेसँगै बन्द भएको नारायणी अस्पतालको ओपीडी तथा जनरल सेवालाई कोरोना नियन्त्रणमा आएपछि सन्चालन गरिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए।

लामो समयदेखि नारायणी अस्पतालमा सर्वसाधारणका लागि सुपथ मुल्यमा सन्चालित ओपीडी तथा जनरल सेवाहरु बन्द रहेका कारण बिरामीहरु चर्को मुल्य तिरेर निजी अस्पताल र स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्य सेवा लिन बाध्य भएका थिए। तत्कालका लागि नारायणी अस्पतालका सम्पूर्ण विभागहरुमा प्रतिदिन अधिकतम २५ जनाको मात्र स्वास्थ्य जाँच गर्ने व्यवस्था अस्पतालले मिलाएको प्रवक्ता डाक्टर चौरसियाले जानकारी गराए।

मध्य तराईका जनताहरुको उपचारको केन्द्रको रुपमा स्थापित नारायणी अस्पतालमा ५ महिनादेखि जनरल सेवा ठप्प हुँदा सर्वसाधरण नराम्रोसँग प्रभावित भएका थिए। विशेषगरी बारा, पर्सा, रौतहट र छिमेकी मुलुक भारतबाट समेत ठुलो संख्यामा बिरामीहरु उपचारका लागि नारायणी अस्पताल आउने गरेकोमा कोरोना संक्रमणको कारण जारी लकडाउन र निषेधाज्ञा तथा नारायणी अस्पताललाई नै कोभिड अस्पताल बनाएपछि बन्द भएको ओपीडि तथा जनरल सेवा सन्चालनमा नआउँदा सर्वसाधारण प्रभावित भएका हुन्।

सरकारले नारायणीलाई लेभल २ को कोभिड अस्पताल घोषणा गरेपछि अस्पतालबाट प्रवाह हुने अन्य सेवा ठप्प हुदा विशेषगरी निम्न आयस्तर भएका सर्वसाधारणहरु उपचार नपाएर ज्यान गुमाउने अवस्था सिर्जना भएको थियो। वीरगंजमा अहिले अस्थायी कोभिड अस्पतालको रुपमा गण्डक अस्पतालको ६० बेड र नेसनल मेडिकल कलेज शिक्षण अस्पतालको ३ सय शय्याको गरी ३ सय ६० शय्याको व्यवस्था रहेको छ। अहिले वीरगंजमा कोरोना संक्रमित हरुको संख्यासमेत घट्दै गएको छ। 

कोरोना नियन्त्रण तथा रोकथामको लागि चालिएका कदम प्रभावकारी भएको र संक्रमण नियन्त्रणमा आएसँगै नारायणी अस्पतालाई आजबाट जनरल अस्पतालको रुपमा सेवा सन्चालन गर्न लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए। यसैबीच नारायणी अस्पताललाई जनरल अस्पताल बनाउन माग गर्दै लामो समयदेखि धर्नामा उत्रिएका जसपाका नेता नेजामुद्धिन समानीले नारायणी अस्पताल सबैको प्रयासबाट जनरल अस्पताल बनेकोमा खुशी व्यक्त गर्दै मिर्गौला रोगीका लागि आवश्यक पर्ने केही डायलासिस मेसिनहरु, अल्ट्रासाउण्ड, सिटीस्क्यान लगायतका मेसिनहरु बिग्रीएको हुँदा मर्मत सम्भार गरी सेवा सुचारु गर्न माग गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell