अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री टोनी एबटको सम्पर्क नम्बर र पासपोर्ट डिटेल ह्याकरले पत्ता लगाएको छ। टोनीले इन्स्टाग्राममा आफ्नो बोर्डिङ पासको फोटो पोस्ट गरे पछि उनको निजी विवरण ह्याकर एलेक्स होपले ह्याक गरेका हुन्।
एलेक्सले टोनीको विवरण बोर्डिङ पासको सहायतामा ४५ मिनेटमै पत्ता लगाएको बताएका छन्। लगत्तै उनले सुरक्षा चुनौतीको विषयमा टोनीलाई सतर्क गराउन सम्पर्क गर्ने प्रयास गरे। त्यसका लागि महिनौं लाग्यो।
बीबीसीका अनुसार यस घटना पछि क्वान्टस एयरलाइन्सले आफ्नो साइबर सेक्यूरिटीको निर्देशिका अपडेट गरेको बताएको छ।
पूर्व प्रधानमन्त्रीले गत मार्च २१ मा सिड्नीबाट टोक्यो जाने क्रममा जहाजका चालक दललाई धन्यवाद व्यक्त गर्दे बोर्डिङ पासको फोटो पोस्ट गरेका थिए। उक्त फोटोको लिंक पठाउँदै होपलाई कसैले टोनी एबटको विवरण ह्याक गर्ने चुनौती दिएको थियो।
ह्याकरले बुधवार ब्लग लेख्दै यस विषयको जानकारी दिए।
साइबर सेक्युरिटी बारे महत्वपूरुण जानकारी दिएकोमा पूर्व प्रधानमन्त्रीले ह्याकरलाई धन्यवाद व्यक्त गरेका छन्।
टोनी सन् २०१३ देखि २०१५ सम्म अस्ट्रेलियाका प्रधानमन्त्री थिए।
