काठमाडौं : गएको पाँच महिनामा विभिन्न प्राकृतिक विपत्तिमा परेर ३ सय ७४ जनाको मृत्यु भएको छ।
देशभर आएको बाढी, पहिरो, चट्याङ लगायतका विपत्तमा परेर ३ सय ७४ जनाको मृत्यु भएको हो। त्यस्तै १ सय १ जना बेपत्ता भएका छन्। ४ सय २० जना घाइते भएका छन्। शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिमा गृह मन्त्री रामबहादुर थापाले यसबारे जानकारी दिएका हुन्।
सबैभन्दा धेरै पहिरोमा परेर मानिसको मृत्यु भएको छ। २ सय ७१ जना मानिस पहिरोमा परेर मृत्यु भएको हो। ६५ जना पहिरोको कारण बेपत्ता भएका छन्। २ सय ६ जना घाइते छन्। त्यसै गरी बाढीमा परेर ३९ जनाको मृत्यु भएको छ। ३६ जना बेपत्ता र ११ जना घाइते छन्।
चट्याङ्मा लागेर मृत्यु हुनेको सङ्ख्या पनि ६४ रहेको छ। २ सय ३ जना घाइते भएका छन्। त्यस्तै बाढी पहिरोमा घर बिहीन भएकालाई सरकारले भूकम्प पीडित सरह घर बनाउनको लागि ३ लाख रुपैयाँ,जग्गा नहुनेको लागि सरकारले नै जग्गा उपलब्ध तयारी गरिसकेको र कार्यन्वयमा ल्याउने तयारी भइरहेको समितिमा गृह मन्त्री थापाले जानकारी दिए।
सरकारी जग्गा उपलव्ध गराउन नसकिनेलाई जग्गा खरिदका लागि २ लाख रुपैयाँ समेत दिने भएको हो। पछिल्लो समय सिन्धुपाल्चोक, बाग्लुङ लगायत जिल्ला बाढी पहिरोको चपेटामा पर्दै आएको छ।
