PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

राष्ट्रियसभामा वरिष्ठ नेताहरु आउनाले यसको गरिमा बढ्छः अध्यक्ष तिमिल्सिना



पहिलोपोस्ट

राष्ट्रियसभामा वरिष्ठ नेताहरु आउनाले यसको गरिमा बढ्छः अध्यक्ष तिमिल्सिना

काठमाडौं: राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभामा वरिष्ठ नेताहरु आउनु स्वागतयोग्य रहेको बताएका छन्।

राजनीतिमा कुनै एउटा चुनाव हार्नु ठूलो कुरा नभएको बताउँदै तिमिल्सिनाले हार्ने नेता सँधैभरि असक्षम वा काम गर्न नसक्ने भन्ने नहुने उल्लेख गरे। चुनाव हारेका नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्दा आलोचना भइरहेका बेला अध्यक्ष तिमिल्सिनाले बचाउ गरेका हुन्।

‘राजनीतिमा कुनै एक चुनाव हार्नु भनेको सबै चिज होइन। खास प्रयोजन र अवस्थामा मतहरु तलमाथि पर्न सक्छन् तर यसको अर्थ ती नेता सँधैभरि असक्षम वा काम गर्न नसक्ने भएका हुन् भन्ने हुँदैन,’ उनले भने, ‘हारे पनि उहाँहरुले राजनीतिक काम गरिरहनुभएकै छ। देश र जनताकै लागि काम गरिरहनुभएको छ भने विधि र प्रक्रियानुसार उहाँहरु फरक भूमिकाको जिम्मेवारीमा आउन सक्नुहुन्छ।’

अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभामा विगतमा प्रत्यक्ष चुनाव नलडेका पनि धेरै आएको पनि स्मरण गरे। ‘बाहिर रहेकामध्येबाट आवश्यक परेकालाई यसमा ल्याउन पनि सकिन्छ। यसलाई अन्यथा लिनु पर्दैन,’ उनी भन्छन्, ‘राष्ट्रियसभामा वरिष्ठ नेताहरु आउनाले यसको ओझ र गरिमा बढ्ने नै छ। यसलाई प्रधानमन्त्री हुन तयार वा योग्य खालका नेताहरुको रुचि र आकर्षणका रुपमा पनि लिन सकिन्छ।’

वरिष्ठ नेताहरु आउँदा राष्ट्रियसभाको महत्व अझ बढेको उनको भनाई छ। ‘उहाँहरु भोलि फेरि अर्को ठाउँमा निर्वाचन जित्न सक्नुहुन्छ। कतिपय प्रदेशबाट जितेर आउनुभएको छ। मनोनीत भएर आउनु भनेको पनि मन जितेर आउनु हो,’ अध्यक्ष तिमिल्सिना भन्छन्, ‘सरकारले आवश्यक नठानी मनोनयन सिफारिश गर्दैन भन्ने विश्वास पनि गरौँ। त्यसकारण उहाँहरुले एक पटक निर्वाचन हार्नुलाई अपराधै गरेको वा सर्वनाक हार थियो भनिनु हुन्न।’

अध्यक्ष तिमिल्सिनाले रासससँगको कुराकानीमा हाल राष्ट्रियसभामा राजनीतिक योगदान, उमेर, वर्ग, विभिन्न पेशा, बौद्धिकता आदि सबैको मिश्रणअनुसार प्रतिनिधित्व रहेको दावी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell