PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आईपीएल खेल्नुअघि सन्दीपले भने,'युएईको पिचमा राम्रो अनुभव छ, त्यो काम लाग्न सक्छ'



पहिलोपोस्ट

आईपीएल खेल्नुअघि सन्दीपले भने,'युएईको पिचमा राम्रो अनुभव छ, त्यो काम लाग्न सक्छ'

सन्दीप लामिछाने हाल इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न युएईमा छन्। क्यारेबियन प्रिमियर लिग (सीपिएल) खेलेर सिधै युएई पुगेका उनी हाल क्वारेन्टिनमा छन्। आईपीएलमा दिल्ली क्यापिटल्सबाट तेस्रो सिजन खेल्न लागेका लामिछाने भोलिबाट सुरु हुने खेलका लागि उत्साहित देखिन्छ।

जेभियर इन्टरनेसनल कलेजको ब्राण्ड एम्बेस्टर समेत रहेका लामिछानेले आज कलेजको फेसबुक पेजबाट लाइभमा आउँदै क्वारेन्टिनबाट आफ्नो अनुभव साटे। खासगरी युएईको पिचमा आफ्नो राम्रो अनुभव रहेकोले त्यो कामलाग्न सक्ने विश्वास उनले ब्यक्त गरे। त्यस्तै भर्खरै सीपीएलमा राम्रो प्रदर्शन गरेका उनले आइपीएलमा पनि राम्रो प्रदर्शन गर्नेमा आत्मविश्वासी सुनिए।

उनले भने, 'युएईमा अहिलेसम्म राम्रो अनुभव गरेको छु। त्यसलाई क्यारी गर्दै सीपीएलमा जुन प्रदर्शन गरेको थिएँ। मलाइ लाग्छ अगाडि जानका लागि त्यो अनुभव सकारात्मक हुनेछ।

हाल क्वारेन्टिनमा रहेका उनी भोलिबाट अभ्यासमा जाने बताए। उनले दिल्ली क्यापिटल्समा अरु खेलाडीहरुसँगको सम्बन्धबारे कुरा गर्दै पृथ्वी श र ऋषभ पन्तसँग गहिरो दोस्ती भएको बताए। त्यस्तै पृथ्बीसँग यू १९ विश्वकपको खेलमा बाउन्ड्री खाएको र अर्को बलमा विकेट लिएको पनि सम्झिए।

‘पृथ्बीसँग राम्रो दोस्ती छ। यू १९ क्रिकेटमा चिनजान भएको थियो। अहिले त दिल्लीबाट सँगै खेलेको तीन वर्ष भइसक्यो,’ सन्दीपले पुराना दिनलाई समेत स्मरण गर्दै भने।

त्यस्तै उनले फुर्सदको समयबारे पनि चर्चा गर्न भ्याए। फुर्सदको समयमा गीत लेख्ने, गाउने गरेको बताउँदै पछिल्लो समय पियानो सिकिरहेको जानकारी गराए। त्यस्तै आफू पब्जीमा पनि कहिले काहीँ रम्ने गरेको सुनाए।

आफूलाई मनपर्ने अहिलेका खेलाडीबारे कुरा गर्दै उनले विराट कोहली र केन विलिम्सनलाई सम्झिए। त्यस्तै उनलाई नेपाली राष्ट्रिय टिमपछि मनपर्ने टिम न्युजिल्याण्ड रहेछ।

आफ्नै विगतबाट प्रेरित भएको बताउने सन्दिप विगतको आफूलाई ‘गली बोइ’ का रुपमा चित्रण गर्छन्। उनी सफलताका कुरा सबैले देखे पनि संघर्षका कुरा आफूलाई थाहा हुने बताउँछन्। उनले आफूले संघर्षका दिनमा २१ किलोमिटर टाढा एकेडेमीमा हिडेर गएरसमेत अभ्यास गरेको कुराहरु सम्झिए। अनि भने, 'सफल भएपछिको स्टोरी सबैलाई थाहा हुन्छ, संघर्षका दिन त आफूलाई थाहा हुन्छ।'

नेपाली क्रिकेटबारे

नेपाली क्रिकेटबारे कुरा गर्दै सन्दिपले सबैभन्दा सबल पक्ष ‘बोन्डिङ’ रहेको बताए। ललितसिंह भण्डारीको दुर्घटना हुँदा सबै खेलाडीहरु एक हुनुले नेपाली क्रिकेटरहरुको एकता दर्शाएको उनको भनाई थियो।

उनले टियुको मैदानमा खेल्दा अर्कै आनन्द मिल्ने गरेको बताए। ‘टियु क्रिकेट ग्राउण्डमा प्रवेश गर्दा अर्कै आनन्द महसुस हुन्छ। जुन आनन्दको बयान म गर्न सक्दिन,’ सन्दीपले भने।

उनी नेपाली टीम अझै ‘योङ’ रहेकाले लामो यात्रा तय गर्न बाँकी रहेको बताउँछन्। नेपाली टिममा दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलको ब्याटिङमा ठूलो सम्भावना देख्छन् उनी। जसलाई तिखार्न सके ‘ट्यालेन्ट’ को कमी नेपालमा नहुने उनको भनाई छ। 

यद्यपि नेपाली खेलाडीलाई अझै सर्भाइभलको नै समस्या रहेको उनले महसुस गरेका रहेछन्। हुन पनि उनले त्यो पृष्ठभूमि हुँदै नै त अहिलेको अवस्था सम्म सफलताको शृङ्खला टेक्दै टेक्दै पुगेका हुन्।

तर अहिलेको पाराले खेलाडीहरु बाध्यताबस बाहिरिनुपर्ने अवस्था आइपर्ने गरेको उनी बताउँछन्। जसलाई रोक्न क्रिकेट एसोसिएसन र सरकारले वातावरण मिलाउनु पर्ने उनले सुझाए।

उनले अफगानिस्तान र नेपालको क्रिकेटको सन्दर्भमा तुलना गर्न नमिल्ने बताए। 'अफगानिस्तानसँग हामी धेरै तुलना नगरौ। किनभने अफगानिस्तानले जुन सुविधाहरु पायो, अफगानिस्तान अहिले भारतमा गएर अभ्यास गर्छ। हामी नेपालको नेपालमै गर्छौ। नेपालमा त्यो वातावरण बनेको छैन कि हामी बाहिर गएर त्यहाँ अभ्यास गर्न सकौं। धेरै कुराहरु गर्न सकिएको छैन। त्यसैले अफगानिस्तानसँग तुलना नगर्नु नै राम्रो होला,' उनले भने। 

त्यस्तै खेलाडीहरुले तलब पाएको विषयको समाचार देख्दा आफू अचम्मित भएको उनको भनाई थियो। उनले भने, 'त्यो अधिकारको कुरा हो। मेहेनत गरेर त्यहाँ पुगेपछि पाउने कुरा पाएको हो। मानौ हामी कुनै जागिर गर्छौ र तलब पाउँछौं। त्यसमा केही न्युज बन्छ र?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell