विराटनगर : विराटनगर महानगरपालिका ५ नम्बर वडा कार्यालय एक सातादेखि सिल भएको छ।
गत भदौ २५ गते वडा अध्यक्ष मीनकुमार आचार्यको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि वडा कार्यालय नै सिल गरिएको वडा सचिव दिनकुमार मण्डलले बताए।
वडा सचिव मण्डलका अनुसार वडा अध्यक्षमा कोरोना संक्रमण देखिएपछि वडा कार्यालयलाई शील गरी सबै कर्मचारी होम क्वारेन्टाइनमा बसेका थिए।
२७ गते वडा कार्यालयका सबै कर्मचारीको स्वाब संकलन गरिएको छ। महानगरपालिकाले निरन्तर स्वाब संकलन गर्ने स्थान जैन भवनमा उनीहरुले स्वाब दिएका थिए।
कोशी अस्पतालको प्रयोगशाला गरिएको पीसीआर परीक्षणमा बिहीवार वडा कार्यालयका थप चार जनाको रिपोर्ट पोजेटिभ आएको मण्डलले बताए।
वडा अध्यक्षको भने परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएको मण्डलले जानकारी दिए। वडा अध्यक्षका दुई छोरा बुबा आमा र श्रीमतीमा पनि संक्रमण देखिएको उनले बताए।
हाल वडाअध्यक्षसहित संक्रमित सबैजना होम आइसोलेसनमा बसेका छन्।
‘वडा अध्यक्षमा कोरोना देखिएपछि वडा कार्यालय नै सिल गरेर हामी घरमै बसेका छौं, हिजो हाम्रो पनि रिपोर्ट पोजेटिभ आयो हामी सबै होम आइसोलेसनमै बसेका छौं’ मण्डलले भने ‘त्यसैले हाम्रो रिपोर्ट नेगेटिभ नआएसम्म कार्यालय खुल्ने सम्भावना कम छ।’ तर पनि विकल्प खोजिनुपर्ने उनको भनाई छ।
त्यसो त वडा अध्यक्षसहित संक्रमित सबै कर्मचारीहरुको पीसीआर रिपोर्ट आएपछि मात्र वडा कार्यालय सञ्चालनमा आउने मण्डलले बताए।