PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

५० जिल्लामा कोभिड-१९ का संक्रमित थपिए : उपत्यकामै थप ८५९ जना संक्रमित, ४ जनाको मृत्यु



पहिलोपोस्ट

५० जिल्लामा कोभिड-१९ का संक्रमित थपिए : उपत्यकामै थप ८५९ जना संक्रमित, ४ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ५० जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालामा गरिएको ११ हजार ४५८ नमुना परीक्षणका क्रममा ६३९ महिला र एक हजार ३८१ पुरुष गरी दुई हजार २० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

यो हालसम्मको उच्च संक्रमण  हो। योसँगै कोभिड-१९ संक्रमण पुष्टि हुनेको संख्या ६१ हजार ५९३ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८५९ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। जुन कुल पुष्टि भएको संख्याको ४२.४२ प्रतिशत हो।

काठमाडौं जिल्लामा मात्र ६९८ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंमा २१६ महिला र ४८२ पुरुषमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

त्यस्तै, भक्तपुरमा ४८ महिला र ३४ पुरुष गरी ८२ जनामा संक्रमण पुष्टि हुँदा ललितपुरमा ३२ महिला र ४७ पुरुष गरी ७९ जना नयाँ संक्रमित पहिचान भएका छन्।

वाग्मतीमा ११०७ जना संक्रमित

यसैबीच. पछिल्लो २४ घण्टामा वाग्मती प्रदेशमा मात्र एक हजार १०७ जना थप कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। वाग्मती प्रदेशमा उपत्यकामा ८५९ सहित चितवनमा ७९ महिला र ११२ पुरुष गरी १९१ जनामा पनि संक्रमण पुष्टि भएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा प्रदेश ५ मा २०५ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। जसमध्ये रुपन्देहीमा ८६ र नवलपरासी पश्चिममा ४१ जना छन्। त्यस्तै, प्रदेश १ मा मोरङमा ११८ सुनसरीमा ५८ जनासहित १८७ जना संक्रमित पहिचान भएका छन्। प्रदेश २ मा १७६ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये बारामा ७८ र सप्तरीमा ४५ जना छन्।

गण्डकी प्रदेशको कास्कीमा ८६ जनामा संक्रमण पुष्टि भएको छ। गण्डकीमा पछिल्लो २४ घण्टामा १४८ जनामा संक्रमण पुष्टि भएको छ।

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १४१ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। जसमध्ये ११७ जना सुर्खेतका छन्।

पछिल्लो २४ घण्टामा सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ४७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

उपत्यकामा चार जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ७ जना कोभिड-१९ का संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। मृत्यु भएकामध्ये उपत्यकाका ४ जना रहेका छन्।

मृत्यु हुनेमा काठमाडौंका ८५ वर्षकी महिला र ८८ वर्षका पुरुष गरी दुई जना संक्रमितको मृत्यु भएको छ। त्यस्तै, भक्तपुरका ८२ वर्षका पुरुषको पनि मृत्यु भएको छ। ललितपुरकी ६६ वर्षकी महिलाको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै मोरङका दुई जना ६६/६६ वर्षका पुरुषको मृत्यु भएको छ। त्यस्तै,वलपरासी पश्चिमका ३१ वर्षका पुरुषको पनि मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने कोभिड-१९ संक्रमितको संख्या ३९० पुगेको छ। जुन कुल संक्रमितको ०.६३ प्रतिशत हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell