PahiloPost

Nov 27, 2024 | १२ मंसिर २०८१

विराटनगर महानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्षसहित कर्मचारीमा कोरोना पुष्टि



फूलमाया पुरी

विराटनगर महानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्षसहित कर्मचारीमा कोरोना पुष्टि

विराटनगर : विराटनगर महानगरपालिका वडा नम्बर ५ कार्यालय एक सातादेखि सिल गरिएको छ। गत भदौ २५ गते वडा अध्यक्ष मीन कुमार आचार्यको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि वडा कार्यालय नै सिल गरिएको वडा सचिव दिनकुमार मण्डलले बताए।

वडा सचिव मण्डलका अनुसार वडा अध्यक्षमा कोरोना संक्रमण देखिएपछि वडा कार्यालयलाई सिल गरी सबै कर्मचारी होम क्वारेन्टाइनमा बसेका थिए। २७ गते वडा कार्यालयका सबै कर्मचारीको स्वाब संकलन गरिएको थियो। महानगरपालिकाले निरन्तर स्वाब संकलन गर्ने स्थान जैन भवनमा उनीहरुको स्वाब लिइएको थियो।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बिहिवार वडा कार्यालयका थप चार जनाको रिपोर्ट पोजिटिभ आएको मण्डलले बताए।

वडा अध्यक्षको भने परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएको मण्डलले जानकारी दिए। वडा अध्यक्षका दुई छोरा, बुबा, आमा र श्रीमतीमा पनि संक्रमण देखिएको उनले बताए। हाल वडाअध्यक्षसहित संक्रमित सबैजना होम आइसोलेसनमा बसेका छन्।

‘वडा अध्यक्षमा कोरोना देखिएपछि वडा कार्यालय नै सिल गरेर हामी घरमै बसेका छौं’, मण्डलले भने ‘त्यसैले रिपोर्ट नेगेटिभ नआएसम्म कार्यालय खुल्ने सम्भावना कम छ।’

तर पनि विकल्प खोजिनुपर्ने उनको भनाइ छ। वडा अध्यक्षसहित संक्रमित सबै कर्मचारीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मात्र वडा कार्यालय सञ्चालनमा आउने मण्डलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell