
सुर्खेत : एकातिर कोरोना भाइरस (कोभिड–१९) दिनदिनै बढ्दै गएको छ भने अर्कातिर लकडाउन खुलिसकेको अवस्था छ। कोरोना भाइरस प्रतिकार्यका लागि संघ, प्रदेश र स्थानीय सरकार लागिपरेकै छन्। नियम, निर्देशिका निर्माण गरी केन्द्रदेखि स्थानीय तहसम्मको संयन्त्र परिचालन छन्। तर, कार्यान्वयन तहकै नेतृत्वकर्ताहरु कोरोना नियन्त्रणको नियम, निर्देशिकाको उल्टो बाटो हिँडिरहेका छन्।
कोरोनाले आक्रान्त बनिरहेको बेला कर्णालीमा राजनीतिक दल सल्बलाएका छन्। कोरोना महामारीकैबीच पार्टीका कार्यक्रम र अभियानमा संलग्न हुन भन्दै मानिसहरु गाउँगाउँमा पुगेका छन्। विशेषगरी ठूला दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका नेताहरुले नेताकार्यकर्ता भेटघाट, पार्टी प्रवेश गराउने र संगठन विस्तार गर्ने जस्ता काम गरिरहेका छन्।
विकास निर्माणका योजना अनुगमन र आयोजना तथा योजनाको शिलन्यासका नाममा गाउँगाउँ पुगेर पार्टी प्रवेशका कार्यक्रम पनि राखेकै छन्।
कोरोना संक्रमणको बेवास्ता गर्दै प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, सांसद सबै हुलहुज्जत सहित गाउँ पुग्ने गरेका छन्।
करिब एक साताअघि निस्केका कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल सहितको जम्बो टोली यतिबेला साविक कर्णालीका जिल्ला घुम्न व्यस्त छन्। उनीहरु मुख्यमन्त्री शाहीको गृह जिल्ला कालिकोट हुँदै जुम्ला र मुगु पुगे।
यही बेला सरकारका मन्त्री, सांसद नेता तथा कार्यकर्ता सबैले कोरोना महामारीलाई बिर्सिएका छन्। उनीहरुले भेला, सभा समारोह र पार्टी प्रवेश गराउने होडवाजी जारी छ। कोरोना संक्रमणको जोखिम बढाउने भेलामा प्रमुख अतिथि बनेर कार्यक्रमलाई सम्बोधन समेत गर्न भ्याइरहेका छन् भलै यस्ता भेला सरकारले निषेध गरेको किन नहोस्।
सरकारले कोराना नियन्त्रणका लागि निर्धारण गरेको मापदण्ड कार्यान्वयन गर्ने मन्त्री स्वंयमले यस्ता गविधि गर्दा कोरोनालाई गिज्ज्याइरहेका छन्। विश्वलाई त्रसित र थकित बनाइरहेको कोरोनालाई कर्णालीका नेता तथा कार्यकर्ताले भने गिज्ज्याइरहेका छन्। यसैरी नै सावधानी नअपनाए आगामी दिन कोरोनाको परिणाम के होला हेक्का कसैलाई छैन।
केही दिन कर्णालीका मन्त्रालयहरु मन्त्रीविहीन बने। मन्त्रिहरु आयोजना शिलान्यास, उद्घाटन, पार्टी कार्यकर्ता भेटघाटन जस्ता कार्यक्रममा जिल्ला दौडाहामा निस्केपछि मन्त्रालयहरु मन्त्रीविहीन बनेका हुन्। भेला, गोष्ठी, सभासमारोह, जस्ता भिडभाड हुने क्रियाकलाप र गतिविधि नगर्ने भने पनि सरकारकै पदाधिकारी यस्ता काममा सक्रिय छन्।
सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्ने भनिरहेकै छ । जोखिम कम गर्न सरकारले हिँड्डुल, भेला, सभा समारोह, जमघट नहुने भन्दै मान्दै आएको चाडपर्वहरु समेत विगतका वर्षहरु जस्तै मान्न रोक लगायो।
यसअघि लकडाउन खुकुलो भएसँगै कर्णालीमा संक्रमितको दर उकालो लागेकै छ। दैलेख, सुर्खेत, डोल्पाका गरी ६ जनाको मृत्यु भइसकेको छ।
पछिल्लो समय कर्णालीमा संक्रमितको दर बढ्दै गएको तथ्यांकले पनि देखाउँछ कि कोरोना संक्रमण फैलिएकै छ। चिकित्सकका अनुसार कोरोना समुदायस्तरमा पुगिसकेको छ ।
यी दृष्यहरु आफैँ बोल्छन्
प्रदेशसभा सदस्य सुशील थापा गृह जिल्ला दैलेखमा पार्टी प्रवेश गराउँदै।
सुर्खेतमा नेपाली कांग्रेस पार्टीमा प्रवेशपछि
सल्यानमा पुल उद्घाटन गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला
सल्यानमा पुल उद्घाटन गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला
सल्यानको दार्मा गाउँपालिकामा अस्पताल भवनको उद्घाटन
सल्यानको दार्मा गाउँपालिकामा अस्पताल भवनको उद्घाटन
कालिकोटमा युवाकार्यकर्तासंग मुख्यमन्त्री महेन्द्रबहादुर शाही
कालिकोटस्थित पार्टीको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागि
मुख्यमन्त्री महेन्द्रबहादुर शाही सडको अनुगमनमा कालिकोट
हुम्लाको सर्केगाड गाउँपालिकामा पार्टी प्रवेश कार्यक्रम
सल्यानको कालिमाटी गाउँपालिकामा विद्यालय भवन उद्घाटनमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकास्थित डेरी उद्योग उद्घाटन कार्यक्रममा सभामुख राजबहादुर शाही र कृषि मन्त्री विमला केसी
सुर्खेतको पश्चिममा नेपाली कांग्रेसको कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्वसञ्चार राज्य मन्त्री तप्त बहादुर विष्ट
सुर्खेतमा कांग्रेसका नेताहरुको कार्यकर्ताबीच भेटघाट