PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बिग नेक्स्ट थिङ : दुई युवाले तयार पारेको इनोभेटिभ एप ‘वाकम्यान’



सहयोग रञ्जित

बिग नेक्स्ट थिङ : दुई युवाले तयार पारेको इनोभेटिभ एप ‘वाकम्यान’

करिब एक वर्ष अगाडि सुयम वैद्य र सुशान्त चालिसेलाई भेट्दा उनीहरु आफ्नो ‘ड्रिम प्रोजेक्ट’ तयार गर्दै थिए। कालोपुलको एउटा कोठामा मानिसहरुलाई हिँड्न हौस्याउने मोबाइल एप्लिकेसनलाई अन्तिम रुप दिने तयारीमा थिए उनीहरु। मिहिनेतले रंग नि ल्यायो। तयार भयो ‘वाकम्यान’ एप। र लन्च गरे त्यसको बेटा भर्सन।

एक वर्ष भयो। बेटा भर्सनको परीक्षण गर्दै त्यसलाई अन्तिम रुप दिन लागिपरेको उनीहरु। र आउने केही समयमा नै उनीहरु लन्च गर्दै छन् ‘वाकम्यान ग्रीन- क्वाइन्स’को फाइनल भर्सन।

अहिले अधिकांश स्मार्ट मोबाइलमा एउटा ‘डिफल्ट फिचर’ हुन्छ। मोबाइल प्रयोगकर्ता हिँडेको प्रत्येक स्टेप (पाइला)को गणना गर्ने फिचर। सुयम र सुशान्तले बनाएको एप पनि यही फिचरमा नै आधारित छ। यो एपले प्रयोगकर्ताहरुले हिँडेको प्रत्येक पाइला रेकर्ड गर्नेछ। तर ‘वाक म्यान’ एप मोबाइलमा हुने डिफल्ट फिचरभन्दा अलि फरक छ।

यो एपले एक जना व्यक्ति हिँडेको स्टेपमात्र रेकर्ड गर्दैन। हिँडेको वापत् ‘रिवार्ड’ पनि दिन्छ। एपमा रेकर्ड हुने स्टेप 'भर्चुअल करेन्सी' मा रुपान्तरण हुनेछ र प्रयोगकर्ताहरुले निश्चित स्टेप बराबर निश्चित ‘क्वाइन’ पाउनेछन्। ती क्वाइनहरुको प्रयोग गरेर विभिन्न रेष्टुरा र स्टोरहरुमा डिस्काउन्ट पाउन सकिनेछ। हाल १० हजार स्टेप पूरा गरेपछि प्रयोगकर्तालाई १०० ग्रीन क्वाइन प्रदान गरिँदै आएको छ।

++

ग्रीन क्वाइन्स कम्पनीको दुईवटा विशेषता छ। लन्च गर्ने प्रोडक्टहरु सबै वातावरणको संरक्षणसँग सम्बन्धित हुने र अर्को कम्पनी ‘प्रोफिटेबल’ हुनुपर्ने।

सुयम भन्छन्, ‘हाम्रो भिजन भनेकै जलवायु परिवर्तनबाट हुने नकारात्मक असर न्यूनिकरण गर्न इनोभेटिभ सोलुसन ल्याउने हो। त्यस्तै कम्पनी प्रोफिटेबल बनाउने प्रयास गर्नु हो। किनभने स्टार्ट अप सेल्फ सस्टेन हुनुपर्छ। नाफा भनेर व्यापारको लागि अक्सिजन हो। नत्र हामीले लिएको उद्देश्य पूरा नहुन नि सक्छ।’

यही लक्ष्य लिएर २०१९ फेब्रुअरीमा उनीहरुले ‘वाकम्यान’  को बेटा भर्सन प्लेस्टोरमा सार्वजनिक गरेका थिए।

‘एक वर्षको परीक्षणको क्रमा हाम्रो करिब ३ हजार ५०० प्रयोगकर्ता छन्। सबैजना गरेर करिब १ लाख ८० हजार किलोमिटर हिँडिसके।’ सुयमले भने, ‘यो भनेर २० हजार केजी कार्बन उत्सर्जन वातावरणबाट घटाउनु हो। जति बढी ग्रीन क्वाइन्स त्यति नै बढी वातावरणलाई फाइदा हुने हाम्रो विश्वास छ।’

सुशान्तले थप प्रस्टाए, ‘एउटा ग्रीन क्वाइनबाट हामीले निश्चित कार्बन उत्सर्जन घट्ने भ्यालु निकालेका छौं। मानिसहरुले गाडी चढ्नुको सट्टा हिड्यो भने त्यसबाट वातावरणलाई हुने फाइदा कति गरिरहेका छौं भन्ने थाहा पाउँछौं।’

उनीहरुको यही प्रोडक्ट विश्वको सबैभन्दा ठूलो ग्रीन विजनेस कम्पिटेसन ‘क्लाइमेन्ट लन्च प्याड’ मा साउथ एसियामा सफल समेत भयो।

युरोपियन युनियनको  युरोपियन इन्स्टिच्युट अफ इनोभेसन एन्ड टेक्नोजोलीले आयोजना गरेको उक्त प्रतियोगितामा दक्षिण एसियाबाट ‘बिग नेक्सट थिङ’ थिममा ग्रीन क्वाइन्सको ‘व्लकम्यान’ सर्वोकृष्ट भयो।

++

काठमाडौं उपत्यकामा हिँड्ने ‘कल्चर’ निकै कम छ। सवारी साधनको अस्तवयस्ततामा नै व्यस्त हुन्छ काठमाडौं। कोरोना भाइरसको संक्रमणका कारण भने केही राहत मिलेको छ काठमाडौंलाई। सरकारले अवस्था सामान्य बनाउँदै निषेधाज्ञा खुकुलो गरेसँगै मानिसहरुको हिँडडुल बढेको छ। सार्वजनिक यातायात संचालन भएपनि नजिकैको स्थानसम्म हिँडेरै पुग्न रुचाउन थालिएको छ। त्यसमाथि डिजिटल ट्रान्जयाक्सनको प्रयोग पनि बढ्दो छ। सुयम यो समयमा एपको प्रभावकारिता बढ्ने बताउँछन्।

‘कोरोनाका कारण धेरै समय मानिसहरु घरभित्र थुनिए। उनीहरुमा वर्कआउट गर्ने, मनिङ वाक र इभिनिङ वाक जाने क्रम बढ्दो छ। हामीले यो एपको बारेमा बुझाउन सक्यौं भने मानिसहरुले पक्कै यसलाई प्रयोग गर्नेछन् र मनपराउनेछन्।’

बेटा भर्सन प्रयोग गर्नेमा धेरैजसो युवाहरु रहेका छन्। यस्तै, हाइकिङ जाने समुहमा समेत यो एपले चर्चा पाएको छ। मर्निङ वाक र फिस्टनेसमा ध्यान दिने मानिसहरुले समेत एपको प्रयोग गरिरहेका छन्। 

सुशान्तका अनुसार हाल प्रविधिको प्रयोग बढ्दो छ। कोरोनाले धेरैलाई प्रविधिसँग घुलमिल बाध्य बनाएको समेत बनाएको छ र त्यसमाथि मानिसहरु ‘डिस्काउन्ट’ तर्फ आकर्षित हुँदै गइरहेका छन्। त्यसैले प्रविधिको सहातयाबाट नै मानिसलाई घरबाट बाहिर निकाल्न यो एपले सहायता गर्ने उनको दाबी छ।

बेटा भर्सनमा अफरहरु पनि थिए। निश्चित ग्रीन क्वाइनहरु पाएका प्रयोगकर्ताहरुले एपमा रहेका निश्चित आउटलेटहरुबाट डिस्काउन्ट समेत पाए। तर सुरुवाती चरणमा भएकाले केही समस्याहरु पनि देखियो।

‘कन्ट्रयाक्ट नगरी हामीले कुरा गरेको भरमा आउटलेटबाट डिस्काउन्ट दिने अफर राख्यौं। पछि हाम्रो युजर जाँदा डिस्काउन्ट दिएनन्। त्यहाँबाट हामीले सिक्ने मौका पायौं’ सुयमले भने, ‘अब त्यस्तो हुँदैन। अब सबै आउटलेटहरुसँग कन्ट्रयाक्ट गरेर नै विजनेस हुन्छ।’

बेटा भर्सनमा डिस्काउन्ट लिन आफै आउटलेटहरुमा जानु पर्थ्‍यो। अब यो फाइनल भर्सनमा घरमा नै बसेर डिस्काउन्टको सदुपयोग गरेर अनलाइन अर्डर गर्न पाइनेछ।

++

पहिला चारजना मिलेर सुरु गरेको यो स्टार्टअपमा अहिले दुईजनामात्रै छन्। काम गर्ने ठाउँ नि फेरियो। कालोपुलबाट वर्क स्टेसन इमाडोल सर्‍यो। तर मानिसलाई हिँड्न हौस्याउन भने उनीहरु रोकेका छैनन्।

आउँदो अक्टोबरमा उनीहरु आफ्नो इनोभेटिभ एपको फाइनल भर्सन सार्वजनिक गर्दैछन्। पछि आवश्यक्ता अनुसार अपडेट त हुनेनैछ।  

ठूलै समारोह गरेर एप लन्च गर्ने योजना थियो। तर यसपटक कोरोना भाइरसको संक्रमणका कारण ‘ह्युज इभेन्ट’ हुन सकेन। तर आफ्नो एप प्रयोग गर्नेहरुको संख्या भने ‘ह्युज’ नै हुने उनीहरुको विश्वास छ।

कसरी चल्छ एप?

एप डाउनलोड गरे पछि तपाइँले आफ्नो इमेल आइडी वा फेसबुक एकाउन्ट प्रयोग गर्दै एप चलाउन सक्नु हुन्छ। एक पटक लगइन गरिसकेपछि एपले अफलाइन काम गर्छ। इन्टरनेट जोडिएपछि एपमा रेकर्ड भएका स्टेपहरु स्वत: अपडेट हुनेछ। 

अहिले '१० हजार स्टेपबाट १०० क्वाइन'हरु दिने उनीहरुको योजना छ। पाइलट प्रोजेक्टका रुपमा सुरु गरिएको 'वाकम्यान' विस्तारै उपत्यका बाहिरका शहरहरुमा विस्तार हुनेछ।

एप प्रयोगकर्ताले वेलनेस स्पा, जीम, कपडा, जुत्ता र खानेकुराका निश्चित स्टोर र रेष्टुराहरुबाट आफूसँग भएका क्वाइनहरु प्रयोग गरी कम्तीमा २० प्रतिशत छुट पाउन सक्नेछन्।

प्रयोगकर्ताहरुले एपमा देखाइने 'क्यू आर कोड' को माध्यमबाट निश्चित स्टोरहरुमा जाँदा छुट पाउन सक्नेछन्। नयाँ भर्सनमा भने घरमा नै बसेर समेत डिस्काउन्टको सदुपयोग गर्न सकिन्छ।

यस्तै एपको दुरुपयोग हुनबाट बचाउन उनीहरुले प्रयोगकर्ताको 'भेलोसिटी' मापन गर्ने प्रविधि प्रयोग गरेका छन्। 'फुट ट्रयाकिङ टेक्नोलोजी'को माध्यमबाट २० किलोमिटर प्रति घण्टा भन्दा बढी गतिमा हिड्यो वा दौडियो भने एपले स्टेपहरु रेकर्ड गर्ने छैन। दौडने र बाइकमा सवार हुनेहरुबाट 'स्टेप कन्ट्रोल' गर्न यस्तो गरिएको हो।

अब ‘ट्रेजर हन्ट’

मानिसहरुलाई प्रविधिको प्रयोगबाट हिँडाउँदै डिस्काउन्ट दिलाउँदै हिँडाउन लागि परेका यी युवाहरु अहिले नयाँ प्रोजेक्टमा हात हाल्दैछन्। त्यो हो ‘ट्रेजर हन्ट’।

‘हामीले चाहेको भनेको मान्छेलाई हिँङाउनु नै हो। त्यसलाई हामीले मनोरञ्नात्मक ढंगले प्रस्तुत गर्नेछौं।’ सुयमले भने।

केही वर्षअघि ‘पोकेमन गो’ भन्ने एप निकै चर्चित बनेको थियो। हिँड्दै पोकेमन खोज्न युवाहरु शहरबजार भौतारिरहेका देखिन्थे।

अहिले सुयम र सुशान्तले त्यस्तै कन्सेप्टमा युवाहरुलाई हिँडाउने प्रयासमा छन्। जियो गेम ‘ट्रेजर हन्ट’ एपमा पोकेमन गोमा पोकेमन आएको जस्तै बीचबीचमा गिफ्ट/गिभअवेहरु आउनेछ। निश्चित स्थानमा पुगेपछि केही प्रश्नहरु सोधिनेछ। त्यसको उत्तर दियो भने प्रयोगकर्ताहरुले गिफ्टहरु पाउनेछन्।

सुयम भन्छन्, ‘अरु गेमहरुले मानिसहरुलाई घर भित्र बस्न बाध्य बनाउँछ हाम्रो जियो गेमले भने मानिसहरुलाई घर बाहिर ल्याउँछ। गिफ्टकै लागि भएपनि मानिसहरु दिनदिनै एक्सपलोर गर्न हिँडुन् भन्ने हाम्रो लक्ष्य हो।’

ट्रेजर हन्ट ट्रायलको रुपमा बेटा भर्सन टेस्टर्सको लागि लन्च गर्ने तयारी छ उनीहरुको।

पोकेमन गोका कारण धेरै दुर्घटना हुने भएकाले निकै विवादित समेत बन्यो। त्यसैले उनीहरुले तयार पार्न खोजेको ट्रेजर हन्ट भने अलि फरक छ।

सुशान्तले भने, ‘पोकेमन गोको नराम्रो कुरा आयो किनभने त्यसबाट धेरै दुर्घटना भए। त्यो मोबाइलमा हेररै हिड्नुपर्ने गेम थियो। तर हाम्रो त्यस्तो छैन। जतिखेर नि मोबाइलमा हेरेर हिँड्नुपर्दैन हाम्रो एपमा। त्यसैले यो सेफ नै छ।’

कोही एकजनाले ट्रेजर हन्ट प्रयोग गरेर कुनै एउटा स्थानसम्म जाने भनेर छनौट गरेर मोबाइल हेरेर हिँड्नु पर्दैन। मोबाइलाई गोजीमा राखेर नै हिँड्न सकिन्छ र कुन स्थानमा जाने हो त्यहाँ पुगेपछि नोटिफिकेसन आउँछ र प्रश्न सोधिनेछ। अहिले उनीहरु यही मोडललाई आधार बनाएर नयाँ एप बनाउँदैछन्।

सबै कुराको सकारात्मक र नकारात्मक कुराहरु हुन्छ। त्यसैले रिक्स लिएर नयाँ काम गर्नुपर्ने बताउँछ सुयम।

‘यो एपले जति मानिसलाई बाहिर जानलाई प्रोत्साहित गर्छ। त्यसले वातावरणमा पार्ने सकारात्मक प्रभावलाई महत्व दिन्छ। पछि समस्याहरु आउन सक्छन्। तर समस्या आउँछ भनेर काम नै नगर्ने हो भने त केही स्टार्ट नै हुँदैन नि।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell