जनकपुरधाम : कोरोना महामारीको समयमा अन्य रोगका बिरामीहरु उपचार सेवाबाट वञ्चित भइरहेको अवस्थालाई दृष्टिगत गर्दै महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले शनिवार जनकपुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।
महामारीसँग जुधिरहेका सर्वसाधारण जनतालाई विभिन्न सहयोग तथा परामर्शका निम्ति प्रतिष्ठानले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२३ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो।
शनिवार आयोजना गरिएको सो स्वास्थ्य शिविरमा २ सय ५४ जना बिरामीले सेवा पाएको तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले जानकारी दिए। स्वास्थ्य शिविरमा विभिन्न रोगका बिरामीहरुले उपचार सेवा पाएको उनले बताए। यसका साथै बिरामीहरुलाई जाँच गरेर औषधिहरु समेत उपलब्ध गराइएको थियो।
निःशुल्क स्वास्थ्य शिविरलाई थप प्रभावकारी बनाउनका लागि सोही स्थानमा ल्याबको समेत व्यवस्था गरिएको थियो।
उनले भने, ‘हामीले अलग अलग वडामा प्रत्येक साताको शनिवार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेका छौं।’
सो शिविरमा विभिन्न विभागका चिकित्सकहरुले बिरामीलाई उपचार सेवा प्रदान गरेका थिए।
