PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको भन्दा नयाँ संक्रमितको संख्या बढ्दो, जोखिमपूर्ण बन्दै होम आइसोलेसन



पी बी खड्का

कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको भन्दा नयाँ संक्रमितको संख्या बढ्दो, जोखिमपूर्ण बन्दै होम आइसोलेसन

सुर्खेत : कर्णाली प्रदेशमा पछिल्लो समय लक्षणसहितका कोरोना भाइरसका संक्रमितको संख्या बढेको छ। सरकारले यसअघि नै लक्षण र स्वास्थ्य समस्या नभएका संक्रमितलाई होम आइसोलेसनमा बस्न दिने निर्णय गरेपछि पछिल्लो समय सरकारीस्तरबाट निर्माण गरिएका आइसोलेसन भन्दा पनि होम आइसोलेसनमा बस्ने भाइरस संक्रमितको संख्या बढ्दै गएको छ।

लाखौँ रकम खर्च गरेर क्वारेन्टाइन र आइसोलेसनका शय्या तयार गरिएको भएपनि संक्रमितलाई होम आइसोलेसनमा बस्न छुट दिएपछि थप संक्रमणको जोखिम फैलिएको हो। सरकारले आर्थिक भार कम गर्न गरेको यस निर्णयले पहुँचको भरमा होम आइसोलेसनमा बस्ने र आवश्यक स्वास्थ्य सावधानी नअपनाउँदा जोखिम बढेको हो। 

होम आइसोलेसनमा बस्नेहरु आफ्नो घरमा नियमित काम गर्ने, अन्य व्यक्तिसँग खुलेआम भेटघाट गर्ने, समुदायमा घुलमिल गर्दै आएको स्थानीय समुदायको गुनासो छ।

‘होम आइसोलेसन भन्ने मात्रै रहेछ’, वीरेन्द्रनगर-४ की ममता ओलीले भनिन्, ‘हाम्रो छिमेकीकोमा घरपरिवार सबै एकै ठाउँमा खाने बस्ने, सबै गर्छन्। घरको काम गर्ने, साथी भाइ सबैसँग भेट्ने, गफ गर्ने, बजार जाने गर्छन्।’

प्रदेशमा हाल विभिन्न होम आइसोलेसन र अस्पतालमा गरी चार सय ५० जना संक्रमित छन्। यीमध्ये सबैभन्दा बढी संक्रमित रहेको सुर्खेतको वीरेन्द्रनगरस्थित होम आइसोलेसनमा एक सय ७२ जना र भेरीगंगा नगरपालिकामा पाँच जना, र रुकुम पश्चिमको त्रिवेणी होम आइसोलेसनमा एक जना छन्।

यसरी घरमै बस्ने संक्रमितका लागि तोकिएअनुसारको मापदण्ड पूरा भएपछि मात्रै घरमा बस्न दिने सरकारी नीति छ। त्यसमाथि घरमै बसेका संक्रमितको निगरानी र स्वास्थ्य अवस्थाका विषयमा समेत दोहोरो कम्युनिकेसन गर्नुपर्ने हुन्छ। सबैभन्दा बढी होम आइसोलेसनमा बसेको वीरेन्द्रनगरमा  स्थानीय जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारीसहित स्वास्थ्यकर्मीले निगरानी गर्ने गरी घरमा बस्न छुट दिएको छ। तर, उनीहरुको नियमित निगरानी हुन नसक्दा जोखिम बढेको हो।

‘होम आइसोलेसन बसेकै कारण संक्रमण फैलिएको छ भन्ने हल्ला साँचो होइन’, वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पर्शुराम खड्काले भने, ‘मोनिटोरिङ गर्ने, टोल विकासका अध्यक्ष, वडाअध्यक्ष, स्वास्थ्यकर्मीको जिम्मेवारी छ। त्यसैअनुसार सबैले निगरानी गर्नुहुन्छ। अहिलेसम्म त्यस्तो कम्प्लेन केही आएको छैन। यदी आएको खण्डमा हामी फेरि पनि बसपार्कस्थित आइसोलेसनमा ल्याएर राख्छौँ।’

यसअघि पनि होम आइसोलेसनमा बसेकाहरु बजार घुम्ने, औषधि पसल जाने जस्ता गुनासो बढेपछि नगरपालिकाले निर्माण गरेको बसपार्कस्थित आइसोलेसनमा ल्याएर राखिएको थियो।

‘हामीले मापदण्ड तोकेका छौँ, त्यो पूरा भयो भने मात्र होम आइसोलेसनमा बस्न दिन्छौँ’, उनले भने, ‘मापदण्ड पूरा नगरे र होम आइसोलेसनमा बस्दा स्वास्थ्य सावधानी पालना गरिएन भने हामीले तुरुन्त सरकारले नै निर्माण गरेको आइसोलेसनमा ल्याएर राख्छौँ। त्यस्तो गरेको एक÷दुई वटा उदाहरण पनि छन्।’

नगरपालिकाले आफ्नै लगानीमा बसपार्कमा आइसोलेसन निर्माण गरेको छ भने संक्रमितले आफ्नै खर्चमा होटेलमा बस्न चाहे पनि होटेल आइसोलेसन तयार गरेको छ। पछिल्लो समय सरकारले निर्माण गरेको आइसोलेसनभन्दा पनि होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै गएको छ।

यसरी होम आइसोलेसनमा बसेकाहरु सबैले स्वास्थ्य सुरक्षाको न्यूनतम मापदण्डसमेत अपनाएको देखिदैन। त्यत्तिमात्रै होइन घरपरिवारदेखि २१ दिनसम्म अलग्गै बस्नुपर्ने स्वास्थ्यकर्मीको नियम पनि पालना गरेका छैनन्।

यता, दिन प्रतिदिन बढेको संक्रमितको दरले पनि अवस्था जटिल बन्दै गएको देखाउँछ। निको भएर डिस्चार्ज हुनेभन्दा थपिनेको संख्या बढी छ।

शनिवार दुई जना निको भएर डिस्चार्ज भए भने  ४४ जना संक्रमित थपिए। शुक्रवार १६ जना निको भएर डिस्चार्ज भए भने ३५ जनामा संक्रमण पुष्टि भयो। त्यस्तै, बिहीवार २८ जना निको भएर डिस्चार्ज भएकोमा एकै दिन एक सय १४ जनामा संक्रमण पुष्टि भयो।

यसरी प्रत्येक दिन निको हुनेभन्दा संक्रमितको संख्या बढिरहेको छ। पछिल्लो समय संक्रमण समुदायस्तरमा पुगिसकेको र थप सचेत नभए अवस्था भयावह हुने भन्दै चिकित्सकले चेतावनी दिइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell