PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

बारामा १११ जनासहित प्रदेश २ मा थपिए १३२ कोरोना संक्रमित, एक जनाको मृत्यु



एम बम

बारामा १११ जनासहित प्रदेश २ मा थपिए १३२ कोरोना संक्रमित, एक जनाको मृत्यु

जनकपुरधाम : प्रदेश नम्बर २ मा थप १३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा गरिएको परीक्षणमा २२ महिला र ११० पुरुष गरी कुल १३२ जनामा  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए।

शनिवार थपिएका संक्रमितसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ८ सय ६४ पुगेको छ। जसमध्ये २ हजार १९ महिला र १० हजार ८ सय ४५ पुरुषमा कोरोना संक्रमण देखिएको छ।

शनिवार प्रदेशको बारा जिल्लामा सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। बारामा १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, पर्सामा ६ जना, धनुषामा २ जना र सर्लाहीमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

साथै, शनिवार यस प्रदेशमा ९४ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। शनिवार प्रदेशका ८३ पुरुष र ११ महिला निको भएर घर फर्केका हुन्। योसँगै यस प्रदेशमा निको हुनेको संख्या ७ हजार १० पुगेको छ। जसमध्ये ८ सय २ महिला र ६ हजार २ सय ८ जना पुरुष रहेका छन्।

थप एक जनाको मृत्यु, मृतकको संख्या १ सय १६ पुग्यो

कोरोना संक्रमणबाट प्रदेश २ मा शनिवार थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर ९ का एक ५५ वर्षीय पुरुष रहेका छन्।

योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १६ पुगेको छ। हालसम्म प्रदेशका ९७ जना पुरुष र १९ जना महिलाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको निर्देशक झाले जानकारी दिए ।

कोभिड १९ बाट हालसम्म सबैभन्दा बढी पर्सामा ४० जनाको मृत्यु भएको छ। यस्तै, बारामा १७ जना, धनुषामा १५ जना, महोत्तरीमा १३ जना, सिरहामा ११ जना, सप्तरीमा ९ जना, रौतहटमा ५ जना, सर्लाहीमा ५ जना र १ जना भारतीय नागरिकको कोरोनाका कारण मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell