PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वाग्मतीको पानीले जलमग्न रानीपोखरी, अन्तिम चरणमा पुनर्निर्माण

वाग्मतीको पानीले जलमग्न रानीपोखरी, अन्तिम चरणमा पुनर्निर्माण

सहयोग रञ्जित/पहिलोपोस्ट


काठमाडौँ: २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुगेको रानीपोखरी (न्हू पुखु) पुनर्निर्माण सम्पन्न हुने संघारमा छ।

पाँच वर्षसम्म पानीविहीन भएको पोखरी अहिले जलमग्न भएको छ। वर्षौंसम्म झारपातले भरिएको पोखरी पानी भरेपछि निकै सुन्दर देखिएको छ। रानीपोखरीले पुनर्जीवन पाएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हाल रानीपोखरीमा पानी भरिरहेको छ।

सुन्दरीजलबाट वाग्मतीको पानी ल्याएर हाल रानीपोखरी भर्ने काम भइरहेको छ।

सुन्दरीजलबाट लाजिम्पाट पानीपोखरीमा रहेको केयुकेएलमा पानी ट्याकंमा पानी जम्मा हुन्छ।  सुन्दरीजलको पानीलाई त्यहीको ट्यांकबाट पाइपलाइनमार्फत रानीपोखरीमा पुर्‍याइएको  प्राधिकरणका विज्ञ समूहका राजुमान मानन्धरले जानकारी दिए।

रानीपोखरी भर्न ३ करोड २२ लाख लिटर आवश्यक रहेको उनले बताए। आइतबारसम्ममा रानीपोखरीमा निश्चित गरिएको पानी भर्न सकिने उनले बताए।

‘३ करोड २२ लाखमा १ करोड लिटर पानी आकाशे पानी हो। भोलिसम्ममा रानीपोखरीमा पानी भर्न सकिन्छ,’ उनले भने।

भूकम्पबाट मन्दिरमा क्षति पुगेपछि रानीपोखरीको पुनर्निर्माण ओझेलमा परेको थियो। महिनौँसम्म रानीपोखरी अलपत्र परेपछि सरकारले पहिला रानीपोखरी पुनर्निर्माणको काम काठमाडौँ महानगरपालिकालाई दिएको थियो। महानगरपालिकाले रानीपोखरीको पुनर्निर्माणको काम ठेकेदारमार्फत् गराउने भएपछि स्थानीयले विरोध गरेका थिए।

विरोधका बाबजुद् रानीपोखरीमा ठेकेदारबाटै कंक्रिटको प्रयोग गरी पुनर्निर्माणको काम सुरु गरिएको थियो। त्रिचन्द्र कलेजपट्टिको क्षेत्र र मध्य भागमा रहेको मन्दिरमा कंक्रिट प्रयोग गर्दै रानीपोखरीको पानी सुकाइएपछि स्थानीयले विरोध चर्काएका थिए। रानीपोखरीमा कंक्रिटको प्रयोग भएकोमा विरोध खेपिरहेका काठमाडौँका मेयर विद्यासुन्दर शाक्यले रानीपोखरीमा कफी सप बनाउने घोषणासमेत गरेका थिए। मेयरको उक्त घोषणापछि उपमेयर हरिप्रभा खड्गीले निर्माणास्थलमा तालासमेत लगाएर विरोध जनाएकी थिइन्।

विवादबीच रानीपोखरीको काम ठप्प भयो। राष्ट्रपति विद्यादेवी भण्डारीले नै रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकोले पनि पोखरी निर्माण नहुँदा सरकार निकै आलोचित बन्दै गएको थियो।

फलस्वरुप सरकारले रानीपोखरी पुनर्निर्माणको काम काठमाडौं महानगरपालिकाबाट छिनेर पुनर्निर्माण प्राधिकरणलाई दिएको थियो।

प्राधिकरणले स्वामित्व पाएपछि उपभोक्ता समिति अन्तर्गत भक्तपुरका दक्ष जनशक्तिको परिचालन गरि रानीपोखरीको पोखरी र पर्खालका काम भएको थियो। पोखरीमा पानी अड्याउन कालो माटो लगाएर त्यसमाथि माअप्पा राखेर फेरि कालो माटो राख्ने काम गरिएको थियो। केही समयपछि भक्तपुरबाट आउने जनशक्तिले काम गर्दा धेरै समय लाग्ने देखेर पछि डोजरबाट कालो माटो बिछ्याइयो।

कोरोना कहर नभएको भए पुनर्निर्माणको काम वैशाखमा नै सकिने थियो। तर कोरोना संक्रमणका कारण पुनर्निर्माणको काम केही ढिला हुन पुग्यो। सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञाबीच पनि स्वास्थ्य मापदण्ड लागू गरेर पुनर्निर्माणको काम भइरहेको छ।  

हाल रानीपोखरी पानीले जलमग्न देखिएको छ भने पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको निर्माण समेत अन्तिम चरणमा पुगेको छ। मन्दिरको गजुर राख्न बाँकी छ। आउने केही दिनमा मन्दिरमा गजुर राखिने मानन्धरले बताए।

२०७२ सालमा भूकम्प जाँदा मन्दिर गुम्बज शैलीको थियो। तर त्यो राणाकालमा रानीपोखरीको परिवर्तित स्वरुप थियो।

पर्सियाका राजकुमार वाल्डेमरले नेपाल भ्रमण गर्दा बनाइएको रानीपोखरीको चित्रले फेला परेपछि रानीपोखरी राणाकालीन शैलीमा नभएर चित्रमा देखिएको झै ग्रन्थकुट (शिखर) शैलीमा नै बनाउनु पर्ने माग उठेको थियो। काठमाडौं महानगरपालिकाले रानीपोखरी गुम्बज शैलीमा पुनर्निर्माण गर्ने भएपछि स्थानीयहरुको विरोधका कारण रानीपोखरी निर्माण धेरै समय रोकिएको थियो। पछि सरोकारवालाहरुको सहमतिमा रानीपोखरीमा पुरानै शैलीमा मल्लकालीन मन्दिर बनाउने सहमति भएको थियो।

यसपटक तिहारमा रानीपोखरी सर्वसाधरणका लागि खुल्ने प्राधिकरणले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell