PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

फुलहममाथि लिड्सको संघर्षपूर्ण जित



पहिलोपोस्ट

फुलहममाथि लिड्सको संघर्षपूर्ण जित

इङ्गलिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा लिड्स युनाइटेडले फुलहममाथि संघर्षपूर्ण जित निकालेको छ। एल्लान रोड स्टेडियममा भएको खेलमा घरेलु टोली लिड्सले फुलहममाथि ४-३ को संघर्षपूर्ण जित निकालेको हो।

लिड्सको जितमा हेल्डर कोस्टाले दुई गोल गर्दा मटेउसज् क्लिन्च र प्याट्रिक बामफोर्डले एक गोल गरे। उता दर्बिलो चुनौती दिउको फुलहमका लागि अलेक्सेन्डर मिट्रोभिचले दुई गोल गर्दा बबी रेइडले एक गोल गरे।

खेलको पाँचौं मिनेटमै लिड्सले कोस्टाको गोलमा अग्रता बनाएको थियो। खेलको ३४ औं मिनेटमा फुलहमका मिट्रोभिचले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै खेल बराबरीमा ल्याएका थिए। तर त्यसको ६ मिनेट भित्रै लिड्सका क्लिन्चले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए। पहिलो हाफमा लिड्स २-१ ले अघि रह्यो।

दोस्रो हाफमा बामफोर्डले क्लिचको पासमा गोल गर्दै गोलान्तर बढाए। त्यस्तै लिड्सकै लागि कोस्टाले फेरि अर्को गोल थपे। उनले खेलको ५७ औं मिनेटमा गोल गर्दा फुलहमका बबी रेइडले ६२ औं मिनेट र मिट्रोभिचले ६७ औं मिनेटमा गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरे पनि लिड्ससँग अंक खोस्न त्यो पर्याप्त भएन। र, लिड्सले ४-३ गोल अन्तरले जित निकाल्दै प्रिमियर लिगको यो सिजनमा जितको स्वाद चाखेको छ।

यसअघिको खेलमा लिड्स साविक विजेता लिभरपुलसँग पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell