काठमाडौं : कोभिड-१९ बाट नेपालमा हालसम्म ६२ हजार ७९७ जना संक्रमित भइसकेका छन्। जसमध्ये १५ हजार ८४९ जना काठमाडौं उपत्यकाका मात्र हुन्। जुन कुल संक्रमितको २५.२३ प्रतिशत हो।
संक्रमण पुष्टि भएकामध्ये ७२.१ प्रतिशत संक्रमित संक्रमण मुक्त भइसकेका छन्। ४५ हजार २६७ संक्रमित संक्रमण मुक्त भइसके पनि अझै २७.३ प्रतिशत अर्थात १७ हजार १२९ जना अझै आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
जसमध्ये काठमाडौं उपत्यकामा मात्र ७ हजार ८५५ जना संक्रिय संक्रमित छन्। १५ हजार ८४९ जना संक्रमित पहिचान भएको उपत्यकामा ५० प्रतिशत अझै पनि आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
कहाँ छन् सक्रिय संक्रमित?
इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार उपत्यकामा हाल ७ हजार ८५५ जना सक्रिय संक्रमित छन्।
जसमध्ये काठमाडौं जिल्लामा ६ हजार ६०६, भक्तपुरमा ६६५ र ललितपुरमा ५८४ सक्रिय संक्रमित रहेको तथ्यांकमा उल्लेख छ। यद्यपि सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको तथ्यांकअनुसार उपत्यकामा हाल दुई हजार ५११ जनामात्र संस्थागत वा होम आइसोलेसनमा रहेका छन्। बाँकीको तथ्यांक भने सामाजिक विकास मन्त्रालयसँग छैन।
प्रदेशको सामाजिक मन्त्रालयको तथ्यांकमा काठमाडौं जिल्लाका सक्रिय संक्रमितमध्ये दुई हजार १७४ जनामात्र आइसोलेसनमा छन्। त्यस्तै ललितपुरमा २०८ र भक्तपुरमा १२९ जना आइसोलेसनमा रहेको तथ्यांकमा उल्लेख छ। यो तथ्यांकमा होम आइसोलेसनलाई समेत समावेश गरिएको छ।
बाँकी पाँच हजार ३४४ सक्रिय संक्रमित कहाँ छन् भन्ने तथ्यांक प्रदेशको सामाजिक विकास मन्त्रालयसँग छैन।
काठमाडौं महानगरका ४४१ संक्रमित कहाँ छन्?
काठमाडौं महानगरपालिकाको तथ्यांकअनुसार शनिवारसम्म ६ हजार ५१२ जना संक्रमित पहिचान भएका छन्। जसमध्ये दुई हजार ६८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्। त्यस्तै ४४० संक्रमित अस्पतालमा र ९६९ जना संस्थागत आइसोलेसनमा छन्।
संक्रमण पुष्टि भएकामध्ये दुई हजार ५४१ जना संक्रमण मुक्त हुँदा ५३ जनाको मृत्यु भइसकेको छ। तर, ४४१ संक्रमित कहाँ छन् भन्ने तथ्यांक महानगरपालिकासँग पनि छैन।
काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य महाशाखाको तथ्यांकमा पनि यी संक्रमितको अवस्था नखुलेको उल्लेख छ।
महानगरपालिकाको शहरी स्वास्थ्य महाशाखाका निर्देशक हरिबहादुर कुवँरका अनुसार त्यो संख्या संक्रमण पुष्टि भइ महानगरपालिकामा सम्पर्कमा नआएकाको संख्या भएको जानकारी दिए।
'स्वाब परीक्षणका लागि दिएका र पोजेटिभ आएका तर, फेला नपरेका संक्रमितको संख्या हो,' उनले भने, 'परीक्षण त गराए। तर कतिले मोबाइल नम्बर गलत दिए। कतिले नाम ठेगाना नै गलत दिएका छन्। इडीसीडीले पोजेटिभ आएकाहरुलाई सम्पर्क गर्छ। सम्पर्क नभएकाहरुलाई नखुलेको भनेर हामीलाई पठाउँछ। हामीले सम्पर्कको प्रयास गर्छौं। त्यसरी सम्पर्क गर्दा पनि फेला नपरेको संख्या हो त्यो।'
काठमाडौं जिल्ला भरीका त्यस्ता केसलाई ईडीसीडीले काठमाडौं महानगरपालिकामा पठाउने गरेको उनले जानकारी दिए।
'हामीले पनि सम्पर्क गर्ने प्रयास गर्छौं। हामीले पनि फेला पारेनौं भने जिल्ला स्वास्थ्य कार्यालयमा पठाउँछौं,' उनले भने, 'स्वास्थ्य कार्यालयले प्रहरीलाई यसबारे जानकारी गराउँछ र खोजी गर्छ।'
कतिपय संक्रमित यहाँ परीक्षणका लागि स्वाब दिने र बाहिर गएका पनि छन्। 'फोन गर्यो, म त चितवन छु भन्छन्,' उनले भने, 'पोजेटिभ आयो भने पछि ढाँट्ने गरेका छन्। कति बाहिर गएका पनि छन्।'