PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पेरिसडाँडामा कार्यकारीको परीक्षण, ओलीलाई लगाम लगाउने प्रचण्ड चाहना होला त पूरा?



प्रकाश भण्डारी

पेरिसडाँडामा कार्यकारीको परीक्षण, ओलीलाई लगाम लगाउने प्रचण्ड चाहना होला त पूरा?

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को झण्डै छ महिना लामो किचलोपछि केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्दै छ। मन्त्रिमण्डल पुनर्गठन, कार्यकारी अधिकारसहित पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पार्टी अध्यक्ष र पार्टीअन्तर्गत सरकार सञ्चालन लगायतका सहमति भएपछि फुटउन्मुख विवाद साम्य भएको छ। विवाद साम्य भएसँगै पार्टी उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभामा प्रवेश गरेका छन् भने युवराज खतिवडाले मन्त्रिपरिषदबाट बिदा भएर प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार नियुक्त भएका छन्। आज बस्ने बैठकले मुख्यगरी मन्त्रिमण्डल पुनर्गठनका लागि मन्त्रीहरुको सूची बनाउने बताइएको छ।

कार्यकारीको अग्नीपरीक्षामा प्रचण्ड

एमाले र माओवादी एकता भएपछि नेकपामा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको २०७६ मंसिर ४ को सहमति अनुसार प्रचण्डले कार्यकारीको जिम्मेवारी पाए पनि ओलीले स्वीकार नगर्दा पार्टीमा प्रचण्ड असन्तुष्ट थिए। असन्तुष्टि बढ्दै गएपछि नेकपाको विवाद सतहमै आएको थियो। नेकपाको पछिल्लो विवाद समाधान भएपछि प्रचण्डको कार्यकारी अधिकारसहितको पहिलो सचिवालय बैठक बस्दै छ।

यसअघि सरकार सञ्चालनमा ओलीले एकलौटी गरेको तथा पार्टीको विधि विधानको अवज्ञा गरेको आरोप लाग्दै आएको थियो। यसबीचमा नेकपाका कमिटी बैठकहरु प्रधानमन्त्री ओली निवास वालुवाटारमै बस्ने गरेका थिए। यसपटक भने पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो। यसलाई नेकपाका नेताहरुले पार्टीलाई सरकारको छायाँबाट टाढा राख्ने पहिलो संकेतका रुपमा लिएका छन्।

स्थायी कमिटी सदस्य पम्फा भुसालले सरकारको छायाँबाट पार्टीलाई अलग राख्ने संकेत स्वरुप सचिवालय बैठक पार्टी कार्यालमा बस्न लागेको बताइन्। उनले पार्टीको आफ्नै कार्यालय भएपछि सरकारी निवासमा बस्नु सान्दर्भिक नहुने भएकाले पनि यसलाई राम्रो संकेतका रुपमा लिने सकिने तर्क गरिन। 'यसअघिका बैठकहरु बालुवाटारमा बसेका थिए। यसमा त्यस्तो ठूलो केही छैन। तर पार्टीलाई सरकारको छायाँबाट टाढा राख्ने भन्ने उद्देश्य हो,' उनले भनिन्।

प्रधानमन्त्री पद जोगाउन सफल ओली र ओलीमाथि दबाब कायम गर्न सफल प्रचण्ड दुबैका लागि आजको बैठक एक परीक्षण सावित हुने नेताहरुको धारणा छ। प्रचण्डले विवादपछि फेरि पुरानै सहमतिअनुसार कार्यकारीको अधिकार पाएकाले उनका लागि आजको बैठक महत्वपूर्ण हुने नेकपाका नेताहरुको तर्क छ। प्रचण्ड निकट नेताका अनुसार प्रचण्डले पार्टी कार्यालयमा बैठक बसाल्नका लागि ओलीलाई मनाउन धेरै प्रयास गर्नुपरेको थियो। 'पार्टी कार्यालयमा बस्दा प्रचण्ड हाबी नै हुनेछन्। किनभने उनले कार्यकारीको भूमिका पनि पाएका छन्। पार्टी कार्यालयमा बस्दा बालुवाटार अलि कमजोर भएको भन्न पनि मिल्छ,' ति नेताले भने।

ओलीमाथि प्रचण्डको लगाम!

नेकपाभित्र ओली प्रचण्डबीच को प्रमुख भुमिकामा रहने भन्ने एकतादेखि नै विवाद हुँदै आएको छ। सरकार सञ्चालन र पार्टी सञ्चालनमा ओली हावी भएपछि प्रचण्ड सीमित भूमिकामा देखिएका थिए। तर कार्यकारीको सहमति पालना भएमा भने प्रचण्ड ओलीमाथि हावी हुने राजनीतिक विश्लेषक श्याम श्रेष्ठको भनाई छ। प्रचण्डले ओलीमाथि लगाम नै लगाउन खोजेको र त्यो नसकिरहेको बताए। तर हाल भएका सहमतिहरु कार्यान्वयन भएमा भने प्रचण्ड ओलीमाथि हावी हुने श्रेष्ठको बुझाइ छ। 'अन्तरपार्टी निर्देशनमा भएको कुरालाई हेर्दा पनि प्रचण्ड हावी हुने संकेत देखिन्छ। तर नेकपाको विवाद मिलेको भन्न मिल्दैन,' उनले भने।

नेकपाभित्र देखिएका समस्या एकतिर र ओली प्रचण्डको सहमति अर्कोतिर भएकाले हालको नेकपाको सहमति 'नाटक' मात्र भएको श्रेष्ठको भनाई छ। वामदेव गौतमलाई मात्रै खुसी बनाएर विवाद नमिल्ने उनको धारणा छ।

'नाटक भइरहेको छ। प्रचण्ड र केपी ओली मिलेर मिल्ने होइन। दुबैसँग एउटा सिंगो खलक छ। वामदेव ओली प्रचण्ड मिलेर हुँदैन। बिचार मिल्नुपर्‍यो। सिद्धान्त पनि मिलेकै छैन,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell