PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पेरिसडाँडामा नेकपा सचिवालय बैठक: सबै मन्त्री नफेरिने, मन्त्री हेरफेरको मापदण्डबारे छलफल



कुञ्जरमणि भट्टराई

पेरिसडाँडामा नेकपा सचिवालय बैठक: सबै मन्त्री नफेरिने, मन्त्री हेरफेरको मापदण्डबारे छलफल

काठमाडौं : सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुगेको छ। आइतवार पेरिसडाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् ‍पुनर्गठन गर्ने विषयमा छलफल भएको हो।

३ घण्टा लामो बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डका विषयमा छलफल भएको छ। यद्यपि, उक्त बैठकमा कुनैपनि व्यक्तिको नामको बारेमा चर्चा नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

'मन्त्रिपरिषद् पुनर्गठनका सन्दर्भमा सुझाव दिइएको छ। त्यसबारेमा व्यक्तिहरुका नाममा भने हामी प्रवेश गरेका छैनौं। आवश्यक पर्‍यो भने प्रधानमन्त्रीसँग छलफल हुन्छ। नीतिगत रुपमा क्राइटेरियका वारेमा विभिन्न कोणबाट सुझाव दिएका छौं’ उनले भने।

कस्ता मापदण्डमा छलफल भए भन्ने चाहीँ श्रेष्ठले खुलाएनन्।

कसलाई हटाउने कसलाई राख्ने ?

नेकपाको बैठकमा सबै मन्त्रीहरुलाई हटाउने, दुईवर्ष पुगेकालाई हटाउने, पछि आएका मन्त्रीहरुलाई निरन्तरता दिने लगायतका विकल्पमा छलफल भएको बताइएको छ।

‘पुराना सबै मन्त्रीहरुलाई हटाउनु उचित हुँदैन्। दुई वर्ष पुगेका र राम्रा काम गरेका मन्त्रीहरुलाई निरन्तरता दिनुपर्छ। पछि मन्त्री भएकालाई निरन्तरता दिनुपर्छ, पाटीमा काम गरेका र अहिलेसम्म मन्त्री नभएका व्यक्तिहरुलाई छनोट गर्नुपर्छ भन्ने विषयमा छलफल भएको छ’ एक सदस्यले भने।

त्यस्तै अबको मन्त्रिपरिषदमा सरकारका कामलाई प्रभावकारी बनाउनसक्ने योग्य र दक्ष व्यक्तिलाई स्थान दिनुपर्ने सुझाव समेत आएको ती सदस्यले बताए।

यसअघि स्थायी कमिटी बैठकमा मापदण्ड बनाएर मन्त्रिपरिषद् पुनगर्ठन गर्नुपर्ने सुझाव दिइएको थियो।

दोस्रो पटक पेरिसडाँडा पुगे ओली 

पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अध्यक्ष भएपछि पहिलोपटक आइतबार पेरिसडाँडामा पार्टीको सचिवालय बैठक बसेको हो। पार्टी  एकता अघि त्यहाँ माओवादीको केन्द्रीय कार्यालय थियो। पार्टी एकतापछि केन्द्रीय कार्यालय धुम्बाराहीमा भएपनि पेरिसडाँडामा ओली- प्रचण्डलाई बस्ने कार्यकक्ष राखिएको थियो।

पार्टी एकता भएपछि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक पेरिसडाँडा पुगेका हुन्। ओली पार्टी एकता भएको २८ महिनापछि दोस्रोपटक पेरिसडाँडा पुगेका हुन्। २०७५ जेठ ३ गते पार्टी एकता भएको भोलिपल्ट अर्थात् जेठ ४ गते कार्यालय भ्रमण गर्न उनी पहिलोपटक त्यहाँ पुगेका थिए।

आज ओली पुरै समय बैठकमा बसे। २६ गते सम्पन्न स्थायी कमिटी बैठकमा भने ओली केहीबेर बसेर नै बाहिरिएका थिए।

नेकपाले यसअघि सचिवालय बैठक २ गते बस्ने तय गरेको थियो। तर ओलीले ३ गते संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमको तयारीका लागि बैठकमा जान नसक्ने बताएपछि बैठक आइतवारका लागि सारिएको थियो।

नेकपा बैठकले ४ वटा एजेण्डाल तय गरेको छ। प्रवक्ता श्रेष्ठका अनुसार बैठकले मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक आयोगमा नियुक्ति, पार्टी एकताका बाँकी काम र विविध गरी ४ एजेण्डा तय गरेको छ।

तय गरिएका एजेण्डामाथि छलफलका लागि नेकपाले सोमबार दिउँसो १ बजे पेरिसडाँडामा नै बैठक बोलाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell