PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

विश्वम्भर प्याकुर्‍यालको संस्मरण ‘आफैंलाई खोज्दा’ सार्वजनिक



पहिलोपोस्ट

विश्वम्भर प्याकुर्‍यालको संस्मरण ‘आफैंलाई खोज्दा’ सार्वजनिक

काठमाडौं : अर्थशास्त्री, गीतकार एवं पूर्वराजदुत विश्वम्भर प्याकुर्‍यालको संस्मरण ‘आफैंलाई खोज्दा’ सार्वजनिक भएको छ। आइतवार भर्चुअल समारोह आयोजना गरी किताब लोकार्पण गरिएको हो।

जीवनमा आफूले भोगेका सुखदुःख, उत्साह, उमङ्ग र पीडाहरूलाई पुस्तकमा लिपिवद्ध गरेको लेखक प्याकुर्‍यालले बताए। ‘मैले आफ्ना भोगाइलाई आफैंसँग किरिया खाएर जस्ताको तस्तै उतारेको छु’, उनले भने।

विद्यार्थी जीवनका बेला एक्टिभिस्ट भएर जेल गएको। विद्यालयमा शिक्षण गरेकोदेखि विश्वविद्यालयमा लामो समय प्राध्यापनमा बिताएकासम्मको प्रसङ्ग। साहित्यिक लेखन। सङ्गीतकार, गायक अनि लेखकहरूसँग निकट भएर बिताएको समय। उच्चशिक्षाका लागि अमेरिका गएको, गल्ती गरेको, पुरस्कृत लगायत विविध घटना एवं विषयको समग्र प्रस्तुति नै आफ्नो पुस्तक रहेको लेखकको भनाइ छ।

 ‘मान्छेले आफ्नो जीवनका भिन्नभिन्न कालखण्डमा निर्वाह गर्नुपरेका भूमिकामाथि न्याय गर्नु भनेको ती कुनै पनि भूमिकामा आफूलाई बमिसाउँदा आफ्नो मौलिकतालाई कायम राख्न सक्नु नै हो। त्यो आफ्नोपन विश्वम्भरजीले आजसम्म आफूभित्र जीवित राख्नुभएको रहेछ’, पुस्तक बारे फिल्मकर्मी नीर शाहले प्रतिक्रिया दिए।

बैङ्कर एवम् स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जन भन्छन्, ‘मेरो तीन दशकको बैङ्किङ व्यवस्थापनको अनुभवमा प्याकुर्‍याल जस्तो विश्लेषणात्मक तथा बोल्नमा कुनै कन्जुस्याइँ नगरी निर्धक्क बोल्न सक्ने अर्थशास्त्री भेटेको छैन।’

त्यस्तो व्यक्तिको संस्मरण सबैका लागि उपयोगी हुन सक्ने उनको भनाइ छ। 

‘तिमीले भनेका सारा देव छोएर’, ‘आँखाहरूमा चाह अल्झिँदा’, ‘तिमीमा एउटा नशा छ, आँखामा अर्को मादकता छ’ जस्ता गीत लेखेका प्याकुर्‍याले पुस्तकमा आफ्नो सङ्घर्ष एवं आरोहअवरोहलाई सटिक किसिमले प्रस्तुत गरेको उनको भनाइ छ।

सरल प्रस्तुति रहेको पुस्तकले त्यो बेलाको युग, समाज र व्यवस्थालाई बुझ्न सघाउने युवा नेत्री रामकुमारी झाँक्रीले बताइन्। अहिलेको पुस्ताले पढ्ने, सिक्ने र अनुसरण गर्ने धेरै विषय पुस्तकमा रहेको उनको भनाइ छ। अहिलेको पुस्ताका लागि प्याकुर्‍यालको यो पुस्तक प्राथमिक विद्यालय सरह बन्ने उनको दावी छ।

‘नेपाली समाजले कामको वर्गीकरण गर्छ। कामको इज्जत गर्दैन । कामको सिन्को नभाँच्ने मान्छेलाई भाग्यमानी ठान्छ। व्यक्ति स्वयंले निजी जीवन कसरी बाँच्ने, केके गर्न हुने, केके गर्न नहुने आदि अनेक मानक हाम्रो समाजले बनाएको छ,’ उनले भनिन्, ‘तर प्याकर्‍यालले समाजले खडा गरेका ती सबै सबै मानक र तगारा पन्छाउँदै आफ्नो स्वतन्त्र र स्वाभिमानी जीवन बाँच्नुभयो।’

कोभिड–१९ को संक्रमणविरुद्धो सुरक्षा मापदण्ड ख्यालमा राख्दै किताब अनलाइन रिलिज गरिएको प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत निरज भारीले जानकारीले जानकारी दिए। भने,’सभासम्मेलन र सामूहिक भेला गर्ने अवस्था छैन तर पनि संकटका बीच हामीले आफ्ना कार्यलाई पनि जारी राख्नुपरेको छ। त्यसैको निरन्तरता हो, यो पुस्तक लोकर्पण।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell