PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

पिल्लर हराएको हुम्लाको विवादित भूमिमा चिनियाँ भवन, नापीसहित सिडिओको टोली लाप्चामा



कमलराज भट्ट

पिल्लर हराएको हुम्लाको विवादित भूमिमा चिनियाँ भवन, नापीसहित सिडिओको टोली लाप्चामा

काठमाडौँ: हुम्लामा पर्ने नेपाल-चीन सीमामा चिनियाँ पक्षले एकतर्फी रूपमा भवन बनाएपछि विवाद सिर्जना भएको छ।

हुम्लाको नाम्खा गाउँपालिका ६ स्थित लिमी गाउँको लाप्चा क्षेत्रमा चिनियाँ पक्षले नेपालसँग समन्वय नै नगरी ९ वटा भवन निर्माण गरेको हो। भवन निर्माण कार्यको स्थानीयले विरोध गरेका छन्।

नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले सीमा क्षेत्रमा चिनियाँ पक्षले ९ वटा भवन बनाएको जानकारी दिए।

केही दिनअघि गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत न्यौपाने पनि भवन निर्माण भएको क्षेत्रमा स्थलगत अध्ययन तथा अवलोकनमा गएका थिए।

न्यौपानेका अनुसार भवन निर्माण भएको भूभाग विवादित क्षेत्र हो। यहाँ भारतसँग जसरी दशगजा छुट्टाइएको छैन। सीमा छुट्टाउन पिल्लर छन्। यहाँको ११ नम्बर सीमा पिल्लर भने २०६४ सालदेखि हराएको छ। सशस्त्र प्रहरीले खोजिरहेको छ। ११ नम्बर पिल्लर हराउँदा सो क्षेत्रमा विवाद हुँदै आएको न्यौपाने बताउँछन्।

‘यो समस्या तत्कालको होइन। लिमी–लाप्चा सडक बनाउने क्रममा २०६६ सालमै त्यहाँ केही भवन निर्माण भएको रहेछ। दुवैतिरका पशुको उपचारका लागि भेटेरिनरी बनाउने चिनियाँ पक्षले भन्यो। स्थानीयको विरोधपछि रोकियो। अहिले फेरि बनाइएको छ,’ उनले भने।

भवन बनाइएको क्षेत्रभन्दा अलि पर उचाइमा १२ नम्बर पिल्लर छ। ११ नम्बर पिल्लर भेटिएपछि विवादित भूमिको बारेमा निर्क्योल निस्किने न्यौपाने बताउँछन्। ‘पिल्लर नेपालतिर छ कि चीनतिर? ११ नम्बर सीमा स्तम्भ नभेटिएसम्म भन्न सकिने अवस्था छैन,’ उनले भने।

उनका अनुसार स्थानीयले भने भवन बनेको भूभाग नेपालकै भएको बताएका छन्। चीनले भवन बनाएको स्थानमा स्थानीयलाई जान दिइएको छैन।

नवनिर्मित चिनियाँ भवनमा १/२ चिनियाँ नागरिक बसिरहेको र चिनियाँ सुरक्षाकर्मी भने नबसेको स्थलगत अवलोकनमा गएका न्यौपानेले जानकारी दिए। गाउँपालिकाको टोली चिनियाँ भवनसम्म भने पुगेन। नेपालतिरको भूमिमा भएकाले नेपालतिरबाट सिधै जान सकिन्छ।

‘भवन नजिकसम्म पुग्यौँ। भवन तल खोचमा थियो। हाई अल्टिच्युडमा छ। लेक लाग्ने, सामान्य अवस्थामा जानै गाह्रो छ,’ प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने, ‘फेरि स्थानीयहरूले अनुमति लिएर जानुपर्छ भन्ने कुरा गरे। नजिकै पुगेर टाढैबाट हेरेर, संरचनाको फोटो खिचेर फर्कियौँ।’

सिडिओ र सुरक्षा अधिकारीहरूको लेभलमा २०७२ सालमा सम्पन्न नेपाल-चीन सीमा बैठकमा पनि चिनियाँ पक्षद्वारा एकलौटी रूपमा निर्मित भवनबारे अनौपचारिक रूपमा कुरा उठेको थियो। त्यति बेला चिनियाँ अधिकारीहरूले ‘तपाईँहरूको गाईबस्तु रोगी हुन्छ। सीमा पार गरेर हाम्रोतिर आउँछ। रोग सार्दा हाम्रो बस्तुभाउ पनि रोगी हुन्छ। त्यही भएर दुवै देशका पशुको उपचारका लागि बनाइएको’ भन्ने तर्क गरेका थिए।

हुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाले पिल्लर हराउँदा समस्या आएको बताए। ‘सीमामा बनाएको रहेछ। बोर्डरमा कति उनीहरूको, कति हाम्रो भन्ने यकिन छैन। खाली जग्गामा भवन बनेको छ। जनताले चीनले च्यापेको भन्छन्। नापेपछि थाहा हुन्छ। उताको लाई पनि बोलाएर नापेर स्पष्ट गर्नुपर्छ,’ उनले भने।

सत्तारुढ नेकपाका सांसद लामाले केही दशक बन्द रहेको कैलाश मानसरोवरसम्मको क्याराभान रुटअन्तर्गत नयाँ सडक खोल्ने क्रममा भवन निर्माण भएको बताउँदै चिनियाँले नियतवश जानेर नगरेको दाबी गरे। ‘भवन नियतवश बनेको होइन,’ उनले दोहोर्‍याउँदै भने।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी समानुपातिकतर्फ हुम्लाकी सांसद रंगमति शाहीले भने यो घटनाबारे जानकारी नभएको बताइन्। ‘राम्रोसँग बुझ्न पाएको छैन। बुझेर बोल्छु,’ उनले भनिन्।

कर्मचारीसहित सिडिओको टोली लाप्चामा

चिनियाँ पक्षबाट सीमामा एकतर्फी गतिविधि भएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा सुरक्षा अधिकारी र नापी कार्यालयका कर्मचारीसहितको टोली नाम्खा लाप्चातिर प्रस्थान गरेको छ। शनिबार हिँडेको टोली आज लिमी गाउँ पुगेको र भोलि लाप्चास्थित भवन क्षेत्रमा पुगेर नापजाँच गर्ने सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले जानकारी दिए।

‘हिजो जानुभयो। आज पुग्नुभाछ। भोलि काउन्टरपार्टसहित नापजाँच गरेर ६ गते फर्किनुहुन्छ,’ उनले भने, ‘सिडिओसाप फर्किएपछि वास्तविकता के हो थाहा हुन्छ।’

हमालका अनुसार चिनियाँ पक्षले सीमामा एकतर्फी भवन बनाएको जानकारी गाउँपालिकाका जनप्रतिनिधिबाट आएपछि चारवटै सुरक्षा निकायका प्रमुख, नापी कार्यालयका कर्मचारीसहित ७ जनाको टोलीमा सिडिओ विवादित क्षेत्रतर्फ गएका हुन्। टोलीले भवन निर्माण भएको वास्तविकता बुझ्ने र पिल्लर अनुगमन तथा सीमामा नापजाँच गर्नेछ।

नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेका अनुसार जिल्लाबाट आएको टोलीसँग गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ, उपाध्यक्ष पेमा तामाङ, वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङको टोली पनि भवन निर्माण स्थलतर्फ गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell