विराटनगर: प्रतिनिधिसभा सांसद अमनलाल मोदी कोरोना भाइरसबाट संक्रमित भएका छन्।
आइतवार कोशी अस्पतालको प्रयोगशालामा स्वाब संकलन गरी गरिएको परीक्षणमा मोदीलाई संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव ताजिम अन्सारीले जानकारी दिए।
अन्सारीका अनुसार सांसद मोदीमा ज्वरो खोकी लगायत कोरोना संक्रमणका लक्षण देखिएपछि आइतबार बिहान करिब ११ बजे उनको स्वाब संकलन गरिएको थियो। साँझ आएको पीसीआर रिपोर्टमा उनमा कोभिड १९ पोजेटिभ देखिएको हो।
कोरोना संक्रमण पुष्टि भएपछि मोदीको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको अन्सारीले बताए।
‘उहाँमा ज्वरो १०० घरी १०१ जस्तो देखिएपछि आज बिहान कोशीमा स्वाब दिइएको थियो’ अन्सारीले भने ‘साँझ रिपोर्ट पोजेटिभ आयो, अहिले विराट मेडिकल कलेजमा उपचार गराइरहनु भएको छ।’
मोदीले गएको ६ महिनामा सातौं पटक पीसीआर परीक्षण गराएका थिए। उनी ५ दिनअघिमात्र काठमाडौंबाट विराटनगर आएका थिए।.काठमाडौंबाट विराटनगर आउनु अघि उनले छैंटौ पीसीआर परीक्षण गराएका थिए। त्यसबेला उनको रिपोर्ट नेगेटिभ आएको थियो।
विराटनगर आएपछि उनले क्षेत्रिय कमिटी बैठकमा उपस्थिति जनाएका थिए। त्यस्तै केही श्रदाञ्जलीका कार्यक्रमणमा पनि सहभागी भएको स्वकीय सचिव अन्सारीले जानकारी दिए।
सांसद मोदीमा संक्रमण देखिएपछि परिवारका सबै सदस्य र उनको सचिवालय सदस्यहरु सबैको सोमवार पीसीआर परीक्षण गरिने पनि अन्सारीले बताए।
मोदी मोरङ ४ नम्बर क्षेत्रबाट निर्वाचित नेकपाका सांसद हुन्।