PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

नाम खुलाउन लायकको काम बाबुहरूले गरुन्



पहिलोपोस्ट

नाम खुलाउन लायकको काम बाबुहरूले गरुन्

  • प्रसुन सिंह -

म यो लेखमार्फत् आफ्नो विगतको रामकहानी लेखेर सहानुभूति बटुल्नु आएकी हैन। अझ “नारीमात्र महान पुरुष मुर्दावाद"भन्ने उग्र विचारको वकालत त विल्कुलै गर्न आएकी हैन। जिम्मेवार बाबुहरू प्रति मेरो अगाध श्रद्धा छ। एकल आमाका रुपमा मैले यो त्याग गरेँ र त्यो पापड बेलेँ भन्ने प्रचारबाजी पनि गर्नुछैन। खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ। त्यसैले आफ्नो भोगाइको जगमा उभिएर यो विचार कोर्दै छु।

लकडाउनको समय, तीन वर्षे छोरो प्राय दिउँसो निदाएको आधा–एक घण्टा म आमाको भूमिकाबाट छोटो विश्राम लिँदै टिक्टके हिरोइन बन्छु। जुन समय मेरो रुचिकर कामहरू गर्नका लागि हो। कति छोरोका लागि बाल गीतमात्र सुन्नु? एकछिन टिक्टकमा 'रिमझिम रिमझिम सावन...' जस्ता रोम्यान्टिक गीतहरूमा झुम्छु, अदाहरू देखाउँछु, एग्रेसिभ डायलगमा मनको भडास निकाल्छु। अनि कहिले अघोरी बाबाका डायलगहरूमा मिमिक्री गर्छु। कलेजताका नाटक प्रतियोगितामा सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार जितेकी थिएँ। अहिले पनि अभिनयको शौख बेलाबेला जाग्छ। धन्य हो टिक्टकको।

अस्ति असारको महिना फेसबुक डिएक्टिभेट गरेको करिव दुई महिनापछि फेरि लगइन गरेँ।एक दिन फेसबुक स्क्रोल गर्दै जाँदा आँखा एकजना साथीले सेयर गरेको पोष्टमा अड्कियो। बरिष्ठ पत्रकार किशोर नेपालको एक ट्विटको स्क्रिन्सट् जसमा लेखिएको छ, “बाको नाम खुलाउन नसक्ने आमाले छोराछोरी किन जन्माउनु? आमा एक्लैले छोराछोरी जन्माउन सक्ने त होइन। सेक्स पार्टनरको नाम बताउन नचाहनेका लागि मेरी स्टोप्सका क्लिनिक देशभरि छरिएका छन् त। नवजात शिशुको ललाटमा ‘बिना बाबुको छोरो’किन लेखाउनु?”

एकछिन विश्वासै लागेन। करिब दुई वर्षदेखि निद्रामा रहेका आफ्नो ट्विटर खाता व्युझाएँ। किशोर नेपालज्यूको आधिकारिक खाताका ट्विट्हरु स्क्रोल गर्दै जाँदा वास्तवमै मार्च ८, २०१९ अन्तर्राष्ट्रिय नारी दिवसको दिन उहाँको उक्त ट्विट् सार्वजनिक भएको देखेँ। प्रत्येक शब्दले आफ्नो आत्मसम्मान माथि प्रहार गरेको महसुस गरेँ। आफ्नो छोरोलाई कसरी त्यस बेलासम्म एकल आमाका रुपमा हुर्काएँ एकएक सहज असहज पलहरूका फ्ल्यासब्याक आउन थाले, आँसु बगे, आवेष र व्यङग्यात्मक हाँसो सहितको। मनमनै प्रश्न गरे, “हाउ डेयर ही? राजनीतिक सामाजिक लगायतका विषयमा प्रखर मानिने विश्लेषकजस्तो स्तरको व्यक्ति मातृत्वको विषयमा कसरी असंवेदनशील हुनपुगे?”

कुनै पनि विवाहित महिलाले आमा बन्ने बेलामा बच्चाको बाको नाम खुलाउन नपरोस् भनेर रहर गरेकी हुन्नन्। उनको नाम दिल खोलेर सबैतिर लिन चाहन्छिन्। बच्चाको बाको साथ र हौसला चाहेकी हुन्छिन् जसले आमा बन्नुको कठिनाई बुझ्ने कोसिस गरोस्। तर, बाबुको जिम्मेवारी निभाउनु पर्ने पुरुषले नाम खुलाउन लायकको भूमिका निर्वाह नगरिदिँदा उनी त्यस्तो बाटो रोज्न बाध्य हुन्छिन्। शारीरीक मानसिक हिंसा वा अन्य विभिन्न भोगाइहरूले सम्बन्धहरू चिस्याउने वा विराम लगाउनुपर्ने अवस्थाको सिर्जना गर्छ। पाँच वर्ष पहिले आफ्नो वैवाहिक जीवन सुरु गर्दा मैले कुनै दिन त्यस सम्बन्धलाई अलविदा भन्नुपर्ला भनेर सपनामा पनि कल्पना गरेकी थिइन। हिन्दी र नेपाली सिनेमा हेर्दै हुर्किएकी मैले सन्तान जन्मिएपछि दम्पतीहरू झन् हाँसीखुसी “ह्याप्पिली ऐभर आफ्टर” जीवन बिताउँछन् भन्ने ठानेकी थिएँ। तर, त्यसो भएन। आफ्नो आत्मसम्मान र छोराको सकारात्मक वातावरणमा हुर्किन पाउने अधिकार ओझेलमा पर्ने घटनाहरू एकपछि अर्को घट्दै जाँदा अन्ततः एकल आमा भएर सन्तान हुर्काउने निर्णय लिएँ जसमा माइती र साथीभाइको भरपुर साथ पाएँ।

जीवनसाथीको मृत्युपश्चात् सन्तानको एक्लै जिम्मेवारी लिने महिलाले पनि त्यो परिस्थिति रहरले निम्त्याएकी हुन्नन्। जबर्जस्ती करणीबाट गर्भधारण हुँदा सन्तान जन्माउन पुगेकी महिला होस् वा प्रेम सम्बधमा रहँदा गर्भधारण गरेकी तर “भगौडा प्रेमी” ले जिम्मेवारीबाट पन्छिन खोजेका कारण आमा बनेकी महिला हुन्, सबैको संघर्ष विगतलाई छोडेर अघि बढ्नु नै हुन्छ। यी आमाहरूको परिस्थितिलाई बुझेर हौसलादिने कि नाममात्रको तर बच्चा हुर्काउन सहभागी नै नभएको बाबुको बारे अनावश्यक खोजीनीति गरेर उनीहरू र उनीहरूका बच्चालाई सम्मानपूर्वक बाँच्नबाट रोक्ने? यहाँ हेक्का राख्नुपर्ने थप कुरो के हो भने मातृत्व प्राकृतिक कुरा हो जसको अस्तित्व मानव जीवनको सुरुवातसँगै जोडिएको छ तर विवाह भन्ने संस्था समाज र कानुनले निकै पछि स्थापित गरेको हो।

कतिपयलाई लाग्दो हो करिब डेढ वर्ष अगाडिको ट्विटको चर्चा गरेर यो खासै नामै नसुनेकी महिलाले किन न्यु खोज्न थाली? मैले कानुन पढ्दा उजुरी गर्ने हदम्याद थाहा पाएको मितिबाट सुरु हुने बुझेकी छु। त्यसै सिद्धान्तको एउटा व्यवहारिक प्रयोग हो यो। रत्नाकर बाल्मिकी बने झैँ उहाँको विचारमा एकल आमा र महिलाको यौनिक अधिकारबारे हाल आएर विचार सम्मानजनक भएको भए फरक कुरो हो तर त्यो आधार पनि म देख्दिन। एउटा जिम्मेवार व्यक्तिबाट प्रेषित उक्त विचार हाम्रो आम मानसिकताको झलक हो र यस विषयमा चर्चा गर्न विलम्ब नभएको म ठान्दछु। विगत तीन वर्षदेखि स्टे एट होम मम (घरमा पूरा समय बसी बच्चाको स्याहार गर्ने आमा) को भूमिकामा यति डुबेँ कि राजनीती, सञ्चार जगत वा बाहिरी संसारको खबर बुझ्न न समय थियो न रुचि। त्यसैबीच वैवाहिक सम्बन्धलाई बिट मार्नुपर्ने अकल्पनीय अवस्था पनि सिर्जना भयो र हेर्दाहेर्दै सिङ्गल मदर (एकल आमा) बन्न पुगेँ। व्यक्तिगत संघर्षहरूबीच टुटेको हौसला बिस्तारै समेटेर बाहिर निस्कने यात्रामा छु म। देश र दुनियाँको खबरसँग फेरि जोडिने प्रयासमा छु जसबीच यो ट्विट्ले निको हुन लागेको घाउ कोट्याउने काम गरेको छ म र मजस्ता एकल आमाहरूका लागि। आम मानिसको विचारलाई प्रभाव पार्नसक्ने हैसियत भएका व्यक्तत्वबाट मातृत्वको सरेआम खिल्ली उडाउने कार्यको नजर अन्दाज गर्न सकिन मैले।

कुरो सिधा र सरल छ – हाम्रो जस्तो पितृसत्तात्मक समाजमा एकल आमाको रुपमा आफ्नो बच्चा हुर्काउँछु भनेर निर्णय लिनु भनेको बलेको कोइलामाथि हिँड्नु सरह हो। फरक यही हो कि संकिर्ण सोच भएका जमातले हामीलाई घर गरेर खान नसकेकी, संस्कारहीन, अराजक आईमाई, अभागी, लाचार आदिको बिल्ला थमाउन खोज्छन् भने नारीको आत्मसम्मानलाई प्राथमिकता दिने संवेदनशील मनहरूले हामीलाई आफ्नै सर्तमा बाँच्ने, जब्बर साहसी महिलाका उदाहरणका रुपमा लिन्छन्। शिक्षित, सभ्य र सुधारवादी भनाउँदो तप्काको दायित्व अपमानजनक सोचलाई इन्डोर्स गर्ने हो कि सम्मानजक सोचलाई प्रोत्साहन गर्ने? मात्र किताबका ठेलीहरू पढेर, वादहरूको विश्लेषण गरेर विद्धानको पगरी गुथ्ने कि फरक भोगाइ र जीवनहरूलाई नजिकबाट नियालेर समभावको विकास गरेर वास्तविक ज्ञानी बन्ने?

आमा र बाबु भनेका सम्मानित दर्जाहरू हुन्। यो सम्मान कमाउनुपर्छ। सन्तानप्रति विभिन्न प्रकारका जिम्मेवारी पूरा गर्नुपर्छ र आवश्यक त्यागहरू पनि गर्नुपर्छ। बच्चा जन्माउन महिला र पुरुष दुवैको भूमिका हुन्छ भन्ने कुरामा कुनै विवादै छैन तर यदि एक पटकको सहवासको आधारमा मात्र पुरुषहरूले सजिलै समाज र कानुनमा स्थान पाउँछन् भने त्यो न्याय संगत हुँदैन। मेरो वीर्यबाट सन्तान जन्मेको हो मैले हुर्काउन अन्य योगदान नदिए पनि बाबुको दर्जा पाउनुपर्छ भनेर पुरुषले हठ गर्नु वा मैले गर्भमा राखेर जन्माएकी हुँ मैले त्यसपछि पालन पोषण नगरे तापनि सधैं आमाको रुपमा भक्तिगान सुन्न पाउनुपर्छ भनेर महिलाले जिद्दी गर्नु सय रुपैयाँ रिचार्ज गरेर बाचुन्जेल मोबाइलबाट फोन गरिरहन पाउनुपर्छ भनेर माग गरेको जस्तै हो।

सन्तानलाई केवल जन्ममात्र दिएर उप्रतिको दायित्व पूरा हुँदैन। यो आजिवन निर्वाह गर्नुपर्ने जिम्मेवारी हो जुन महिला र पुरुष दुवैको उत्तिकै हुनुपर्दछ। यदि जिम्मेवारी पूरा गर्न सकिन्न वा भागिन्छ भने सित्तैमा जस लिन पाइन्न। “सक्ने भए मै जन्माइदिन्थे“ , “के गर्नु मैले दूध ख्वाउन मिल्दैन नत्र स्याहारथेँ नि बच्चा“, “मैले पैसा कमाएर दिएकै छु उसले त्यति जाबो बच्चा नि एक्लै हेर्न सक्दिन र?” जस्ता बहना बनाएर चोक, गल्ली र चियापसलमा गफिने पुरुषहरू वा कागजमा बाबु तर बच्चाहरू सँग भावनात्मक सामिप्यता नभएका पुरुषहरू पनि हाम्रै छरछिमेकमा प्रशस्त छन्। आमरुपमा महिलालाई प्रकृति र परम्परा दुवैले बच्चाको जन्म र पालन पोषणको तालिम दिएको छ तर पुरुषहरू यसबाट बञ्चित छन्। अबदेखि गर्भावस्था र त्यसपछिका चरणहरूका वास्तविकता पुरुषहरूलाई नजिकबाट देखाउन र त्यसप्रति संवेदनशील बनाउन परिवार र समाजले सुरुवात गर्नैपर्छ।

आम मानिसले रोल मोडलका रुपमा इज्जत गर्ने कोही पनि व्यक्तिले अब उपरान्त नसिहत छोराछोरीको बाबुको नाम खुलाउन नचाहने महिलालाई भन्दा पनि नाम खुलाउन लायकको काम नगर्ने पुरुषलाई दिनुपर्ला कि? महिलालाई सेक्स पार्टनरको नाम खुलाउने नखुलाउने उपदेश दिनुभन्दा गर्भधारण हुँदा जिम्मेवारी नलिने “भगौडा पार्टनरलाई” नैतिकताको पाठ सिकाउने कि? मेरी स्टोप्स सेन्टर जाने वा नजाने निर्णय गर्न पाउनु महिलाको कानुनी प्रजनन अधिकारको विषय हो। अनि “बिना बाबुको छोरो वा छोरी” भन्दा बरु “गैर जिम्मेवार बाबुको छोरो वा छोरी” कहलाउनु बालबालिकाको मनोविज्ञानका लागि कालान्तरमा घातक हुन्छ कि? बुद्धिजीवीहरूको कर्तव्य गलत मानसिकतालाई सुधार्न भूमिका खेल्नुपर्ने हो। सकिन्छ भने एकल आमाहरूको दैनिकी हेरौँ, चुनौतीहरू बुझ्ने प्रयास गरौँ, नयाँजीवन सुरु गर्ने साहसको कदर गरौँ तर बारम्बार विगतको हिलो छ्यापेर वा पुरषविना उनी अधुरो वा चरित्रहीन भएको अर्थ लाग्ने टिकाटिप्पणी नगरिदिनहोला।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell