PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

काठमाडौं महानगरमा कोभिड-१९ का कारण ५५ जनाको मृत्यु, १३ हजार ६१६ जना संक्रमित कुन वडामा कति?



विधुर ढकाल

काठमाडौं महानगरमा कोभिड-१९ का कारण ५५ जनाको मृत्यु, १३ हजार ६१६ जना संक्रमित कुन वडामा कति?

काठमाडौं : काठमाडौं जिल्लामा आइतवारसम्म १३ हजार ६१६ जना कोभिड-१९का संक्रमित पहिचान भइसकेका छन्। जिल्लामा पहिचान भएका संक्रमितमध्ये ५० प्रतिशत बढी संक्रमित काठमाडौं महानगरपालिकामा मात्र छन्।

महानगरमा हालसम्म ६ हजार ८५७ जना संक्रमित पहिचान भएको महानगरपालिकाको शहरी स्वास्थ्य महाशाखाको तथ्यांकमा उल्लेख छ। जुन जिल्लाको कुल संक्रमितको ५०.३५ प्रतशित हो।

काठमाडौ महानगरपालिकामा हालसम्म ५५ जनाको मृत्यु भइसकेको छ। त्यस्तै दुई हजार ९०३ जना संक्रमण मुक्त भएका र तीन हजार ४७७ सक्रिय संक्रमित रहेको महाशाखाको तथ्यांकमा उल्लेख छ।

महानगरपालिकाभित्र दुई हजार ११२ जना होम आइसोलेसनमा र ९२२ जना संस्थागत आइसोलेसनमा छन्। त्यस्तै ४४३ जना कोभिड-१९ संक्रमित अस्पतालमा रहेको महानगरको तथ्यांकमा उल्लेख छ। त्यस्तै हाल महानगरका ४२२ संक्रमितको अवस्था खुलेको छैन।

महानगरपालिकाको शहरी स्वास्थ्य महाशाखाका निर्देशक हरिबहादुर कुवँरका अनुसार कोभिड-१९ को परीक्षण गराएका र संक्रमण पुष्टिपछि सम्पर्कमा नआएकाको संख्या हो त्यो।

'स्वाब परीक्षणका लागि दिएका र पोजेटिभ आएका तर, फेला नपरेका संक्रमितको संख्या हो,' उनले भने, 'परीक्षण त गराए। तर कतिले मोबाइल नम्बर गलत दिए। कतिले नाम ठेगाना नै गलत दिएका छन्। इडीसीडीले पोजेटिभ आएकाहरुलाई सम्पर्क गर्छ। सम्पर्क नभएकाहरुलाई नखुलेको भनेर हामीलाई पठाउँछ। हामीले सम्पर्कको प्रयास गर्छौं। त्यसरी सम्पर्क गर्दा पनि फेला नपरेको संख्या हो त्यो।'

महानगरले हालसम्म १५ हजार २९२ कन्ट्र्याक्ट ट्रेसिङ गरेको र त्यसमध्ये १० हजार ८२८ जनाको आरटी पीसीआर परीक्षण गरिएको महाशाखाको तथ्यांकमा उल्लेख छ। यसरी परीक्षण गरिएका मध्ये एक हजार ३५१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। बाँकी पाँच हजार ५०६ स्थानीय रुपमा पुष्टि भएका तथा बाहिरबाट आएकाहरु हुन्।

कुन वडामा कति संक्रमित?

महानगरमा सबैभन्दा बढी वडा नं १५ प्रभावित देखिएको छ। त्यस वडामा ६१५ जना संक्रमित पहिचान भएका छन्। जसमध्ये ४२३ सक्रिय संक्रमित र २०२ संक्रमण मुक्त भइसकेका छन्। भने २ जना संक्रमितको मृत्यु भइसकेको छ। त्यस वडामा जम्मा २९८ जनाको कन्ट्र्याक्ट ट्रेसिङबाट पीसीआर परीक्षण गरिएको छ।

 

त्यस्तै १६ नं वडामा ४४६ जनामा संक्रमण पुष्टि भएको छ। ३ मा ४०८ र ११ मा ४०२ जना संक्रमित पहिचान भएका छन्। ३२ वडा रहेको काठमाडौ महानगरमा २१ वटा वडामा संक्रमितको संख्या एक सय भन्दा माथि छ।

सबै भन्दा कम १९ नं वडामा ४३ जना संक्रमित पहिचान भएका छन् भने २ र १८ नं वडामा ४६/४६ जना संक्रमित पहिचान भएका छन्।

न्युन कन्ट्र्याक्ट ट्रेसिङ

६ हजार ८५७ जना संक्रमित पहिचान भइसकेको महानगरपालिका भित्र १५ हजार २९२ मात्र कन्ट्र्याक्ट ट्रेसिङमा परेका छन्। दैनिक हुँदै आएको कन्ट्र्याक्ट ट्रेसिङ र नमुना संकलन संक्रमण पुष्टि हुनेको तुलनामा न्युन छ।

प्रति संक्रमित २.२३ व्यक्तिहरु कन्ट्र्याक्ट ट्रेसिङमा परेका छन्। जसमध्ये प्रति संक्रमित कन्ट्र्याक्ट ट्रेसिङबाट १.५७ जनाको पीसीआर परीक्षण गरिएको छ। जसमध्ये एक हजार ३५१ जना संक्रमित पहिचान भएका छन्।

६२७ जना संक्रमण पुष्टि भएको महानगरपालिकाको वडा नं १५ मा २९८ जनाको मान्त्र कन्ट्र्याक्ट ट्रेसिङ मार्फत पीसीआर परीक्षण भएको छ। जसमध्ये ९५ जना संक्रमित पहिचान भएका छन्।

त्यस्तै ४०२ जना संक्रमित पहिचान भएको वडा नं ११ मा ९० जनाको मात्र कन्ट्र्याक्ट ट्रेसिङबाट पीसीआर परीक्षण भएको छ।

५५ मृत्यु कुन वडामा कति?

३२ वडा रहेको काठमाडौंका २७ वडामा संक्रमित को मृत्यु भएको छ। सबैभन्दा बढी ५ नं वडामा ६ जना संक्रमितको मृत्यु भएको छ। ७ र २७ नं वडामा ४/४ जना संक्रमितको मृत्यु भएको छ। त्यस्तै ४, १०, १३, १६, २१, २५ नं वडामा ३/३ संक्रमितको मृत्यु भएको महानगरको तथ्यांकमा उल्लेख छ।

त्यस्तै १२, १५, २०, र ३० नं वडामा २/२ जना संक्रमितको मृत्यु हुँदा १, ३, ६, ८, ९, ११, १४, १७, २२, २३, २८, र ३१ नं वडामा १/१ जना संक्रमितको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell