विराटनगर : विराटनगरको कोशी अस्पतालका एक चिकित्सकलाई कोभिड १९ संक्रमणपछि उपचारका लागि भारत लगिएको छ।
आइतवार अस्पतालकै प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ती चिकित्समा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर लक्ष्मीनारायण यादवले जानकारी दिए।
उनका अनुसार ती चिकित्सक शनिवार साँझ बाटोमा हिँड्दै गर्दा लडेर बेहोस भएका थिए। उनको टाउकोमा गम्भीर चोटसमेत लाग्नुका साथै टाउकोमा रगत जमेको थियो।
ती चिकित्सकको स्वास्थ्य अवस्था गम्भीर भएकाले थप उपचारका लागि अस्पतालले नोवेल मेडिक कलेज शिक्षण अस्पताल विराटनगर रेफर गरेको थियो। तर, ती चिकित्सकले नोबेल अस्पताल नगइ भारत जान्छु भनी उतै गएको डाक्टर यादवले जानकारी दिए।
‘शनिवार बाटोमै लडेर बेहोस भएकाले उहाँको टाउकोमा ब्लड जमेको देखियो,’ प्रवक्ता यादवले भने, ‘हिजो रिपोर्ट पोजेटिभ आयो। हामीले नोबेल पठाएका थियौं तर उहाँ भारत जानुभएको छ’।
शनिवार लडेर बेहोस भएका चिकित्सकलाई अस्पतालको आइसीयूमा राखेर उपचार गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले बताए।
दासका अनुसार संक्रमण पुष्टि भएका ती चिकित्सकको टाउकोमा रगत जमेकाले तत्काल थप उपचार आवश्यक रहेको थियो। त्यसैले उनका आफन्तले थप उपचारका लागि भारत लैजाने बताएका थिए। भारतको पटनामा उपचारका लागि उनलाई लगिएको हो।
‘उहाँलाई आइतवार बिहान होस आएको थियो। हामीले भारत लैजानुस् भनेको होइन,' डाक्टर दासले भने, ‘उहाँका आफन्तहरुले नै पटना लगेर उपचार गर्ने बताउनु भयो र यहाँबाट लैजानु भयो’।
अस्पतालबाट बाहिरिनु अघिसम्म पनि चिकित्सकमा होस जाने र आउने भइरहेको उनले बताए।
राजविराज स्थायी घर भएका ती चिकित्सक कोशी अस्पतालका मेडिकल अफिसर हुन्। उनी बच्चा रोग विभागमा कार्यरत रहेको प्रवक्ता यादवले जानकारी दिए।
हालसम्म अस्पतालका ३९ जना कर्मचारी संक्रमित
हालसम्म अस्पतालका ३९ जना कर्मचारी संक्रमित भएको यादवले बताए। आजै मात्र दुई जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्।
स्वास्थ्यकर्मीमा संक्रमण देखिएसँगै आइसीयूमा अब पाँच दिन नयाँ बिरामी भर्ना नहुने उनले जानकारी दिए।
'पछिल्ला दिनहरुमा कर्मचारीहरुमा संक्रमण देखिने क्रम बढेको छ। हाम्रो आइसीयूमा खटिएका १० जना सिस्टरहरुमा इक्स्पोज भएको छ। त्यस्तै केही इमर्जेन्सी सेवाका पनि हुनुहुन्छ। उहाँहरु सबैलाई आइतवारदेखि नै क्वारेन्टाइनमा राखिएको छ,’ उनले भने, ‘अब ५ दिनभित्र सबैको स्वाब संकलन गरि पीसीआर परीक्षण गरिनेछ।’
अस्पतालको आइसीयूमा छ जना बिरामी उपचाररत छन्। त्यस्तै १० जनाको क्षमता भएको आइसोलेसन वार्डमा पनि छ जना कोरोना परीक्षणको रिपोर्ट कुरिरहेका छन्।
यता आपतकालीन सेवा विभागका पनि केही स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेको उनले बताए।