झापा : पूर्वी नेपालको चन्द्रगढी विमानस्थलबाट यति एयर र बुद्ध एयरका दुई जहाजले सोमवार छ महिनापछि भद्रपुर-काठमाडौं उडान भरेका छन्।
विमानस्थलका प्रमुख मुरारी पौडेलले सोमवार १२ बजेतिर बुद्ध एयरले ६५ जना र १२ः४५ बजे यति एयरले ६८ जना यात्रु बोकेर चन्द्रगढी विमानस्थलबाट काठमाडौंका लागि प्रस्थान गरेको जानकारी दिए।
कोभिड-१९ का कारण गत चैत ११ गतेदेखि सरकारले लागू गरेको लकडाउनयता मुलुकभरका विमानस्थल बन्द छन्। चन्द्रगढी विमानस्थलबाट चार्टर उडानसमेत भएको थिएन। यात्रु सुरक्षाका लागि विमानस्थलमा सामाजिक दूरी कायम गर्ने, स्यानिटाइजर गर्ने र लामबद्ध हुने व्यवस्था मिलाइएको हुँदा खासै भिडभाड नभएको विमानस्थल प्रमुख पौडेलले बताए।
छ महिनापछि विमानस्थलबाट उडान सञ्चालन हुँदा यात्रुमा खुशी छाएको अनिमेष ट्राभल्सका प्रबन्ध निर्देशक गोपाल खनालले बताए।