PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

४५ जिल्लामा थपिए कोभिड-१९ का संक्रमित, उपत्यकामा ६७४ जनामा संक्रमण पुष्टि, मृतक १६ मध्ये १० जना बागमतीका



विधुर ढकाल

४५ जिल्लामा थपिए कोभिड-१९ का संक्रमित, उपत्यकामा ६७४ जनामा संक्रमण पुष्टि, मृतक १६ मध्ये १० जना बागमतीका

काठमाडौं : पछिल्लो २४ घण्टामा ४५ जिल्लामा कोभिड-१९ का संक्रमित थप भएका छन्। देशभरका प्रयोगशालाबाट भएको ९ हजार ५३३ नमुनाको परीक्षणका क्रममा ४१८ महिला र ७३६ महिला गरी एक हजार १५४ जना नयाँ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ।

संक्रमण पुष्टि भएकामध्ये बागमती प्रदेशमा ७०४ जना रहेका छन्। जुन सोमवार पुष्टि भएका कुल संक्रमितको ६१ प्रतिशत हो। जसमध्ये काठमाडौं उपत्यकामा मात्र ६७४ जना छन्। जुन कुल संक्रमितको ५८.४ प्रतिशत हो।

काठमाडौं जिल्लामा मात्र २१३ महिला र ३२५ पुरुष गरी थप ५३८ जना कोभिड-१९का संक्रमित पहिचान भएका छन्।

त्यस्तै भक्तपुरमा ३० महिला र ४४ पुरुष गरी ७४ जना तथा ललितपुरमा ३१/३१ महिला पुरुष गरी थप ६२ जना संक्रमित पहिचान भएका छन्।

त्यस्तै प्रदेश १ का ५ जिल्लामा १२२ जना कोभिड—१९ का थप संक्रमित पहिचान भएका छन्। जसमध्ये मोरङका मात्र १०७ जना छन्।

प्रदेश २ मा १०९ जना संक्रमित पहिचान भएका छन्। जसमध्ये सप्तरीका मात्र ४७ जना छन्।

प्रदेश ५ का ८ जिल्लामा ८८ र सुदुरपश्चिम प्रदेशका ८जिल्लामा ७१ जना कोभिड-१९ का थप संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै कर्णाली प्रदेशका ३ जिल्लामा ३९ र गण्डकी प्रदेशका तीन जिल्लामा २१ जनामा पनि कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

मृत्यु भएका १६ मध्ये बागमती प्रदेशका १० जना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार थप १६ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ। मृत्यु हुनेमा तीन महिला र १३ पुरुष छन्।

मृत्यु भएकामध्ये उपत्यकाका ६ जनासहित बागमती प्रदेशका मात्रै १० जना छन्। मृत्यु हुनेमा भक्तपुरका ८४ र ६२ वर्षका दुई पुरुष, काठमाडौं जिल्लाका ५८ र ७३ वर्षका दुई पुरुष तथा ललितपुरका ५८ वर्षकी महिला र ६८ वर्षका पुरुष गरी दुई जना छन्।

त्यस्तै मकवानपुरकी १७ वर्षकी किशोरीको पनि मृत्यु भएको छ। त्यस्तै मकवानपुरकै ६८ वर्षका पुरुषको पनि मृत्यु भएको छ। त्यस्तै चितवनका ५५ वर्षका पुरुष र दोलखाकी ५२ वर्षकी महिलाको पनि मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। त्यस्तै प्रदेश ५ मा तीन जनाको मृत्यु भएको छ। जसमध्ये रुपन्देहीका ६७ वर्षका पुरुष तथा बाँकेका ५० र ५९ वर्षका पुरुष छन्।

त्यस्तै प्रदेश १ मा झपाका ७२ वर्षका पुरुष र सुनसरीका ४९ वर्षका पुरुष गरी २ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ।

त्यस्तै प्रदेश २ मा पर्साका ८८ वर्षका पुरुषको पनि मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने कोभिड-१९ संक्रमितको संख्या ४२७ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell