PahiloPost

Nov 27, 2024 | १२ मंसिर २०८१

प्रदेश १ मा कोरोनाबाट ३ जनाको मृत्यु, ११९ संक्रमित थपिए



फूलमाया पुरी

प्रदेश १ मा कोरोनाबाट ३ जनाको मृत्यु, ११९ संक्रमित थपिए

विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ। ताप्लेजुङ, सुनसरी र झापाका १/१ महिलाको मृत्यु भएको हो। यससँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय ७६ जनाको पीसीआर परीक्षण गर्दा १ सय १९ जना कोरोना संक्रमित थपिएका छन्। ५३ महिला र ६६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।

आज मोरङमा मात्र १ सय ५ जना संक्रमित थपिएका हुन्। त्यसैगरी आज थपिएकामा सुनसरीमा ९, झापामा २, उदयपुर, संखुवासभा र प्रदेश १ बाहिरका १/१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा मात्र ९७ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा ४३ महिला र ५४ पुरुष रहेका छन्। मोरङकै कटहरीमा २ महिला ४ पुरुष, ग्रामथानमा १ महिला र बुढीगंगामा १ पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ।

सुनसरीको धरानमा ५ महिला ४ पुरुष, झापाको विर्तामोडमा १ पुरुष, मेचीनगरमा १ महिला, उदयपुरको त्रियुगा र संखुवासभाको चैनपुरमा १/१ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा हालसम्मको कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ९३ पुगेको छ।

प्रदेश १ मा आज १६ जना डिस्चार्ज भएका छन्।

आज मोरङको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १०, कालिसदन आइसोलेसन, विराटनगर र झुर्किया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट ३/३ जना डिस्चार्ज भएका हुन्। यससँगै हालसम्म २ हजार ५ सय ५२ जना डिस्चार्ज भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell