PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ओलीको 'ब्याक टु बालुवाटार' रणनीति: पेरिसडाँडाबाट सरेको बैठकले पार्टी विवादमा के राख्छ अर्थ?



प्रकाश भण्डारी

ओलीको 'ब्याक टु बालुवाटार' रणनीति: पेरिसडाँडाबाट सरेको बैठकले पार्टी विवादमा के राख्छ अर्थ?

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की स्थायी कमिटी सदस्य पम्फा भुसालले आइतवारको सचिवालय बैठकलाई सामान्य ढंगले बुझिन्। पार्टी विवाद मिलिसकेपछि  प्रधानमन्त्री निवास बालुवाटारमै बैठक बस्दा गलत सन्देश जाने उनको बुझाइ थियो।

पुष्पकमल दाहाल प्रचण्ड पार्टीको कार्यकारी अध्यक्ष बनिसकेपछि पेरिसडाँडामा बैठक बस्नु भुसालको विचारमा सरकारको छायाबाट पार्टी अलग भएको पहिलो संकेत पनि थियो।

'बालुवाटारमा भएपछि अलिकति सरकारको प्रभाव त रहन्छ नै। त्यसैले पनि पार्टी कार्यालयमा राखिएको हो,' पार्टी कार्यालयमा बैठक किन राखिएको भन्ने प्रश्नमा उनको जवाफ थियो।

लामो सयमसम्म बालुवाटारमै पार्टीका क्रियाकलाप गर्नुलाई नेता कार्यकर्ताले मन नपराएकाले पनि पेरिसडाँडामा बैठक बोलाइएको उनले बताएकी थिइन्।

तर, पेरिसडाँडाको  बैठक दोस्रो दिन (सोमवार) बस्न सकेन। असोज २ गतेको बैठक स्थगित गरेका ओलीले प्रचण्डसँग छलफल गरेर सोमवारको बैठक पनि स्थगित गरे। उनले बैठक स्थगित मात्रै गरेनन्, बैठकस्थल समेत परिवर्तन गरिदिए। प्रधानमन्त्री ओलीले फेरि बालुवाटारमा नै सचिवालय बैठक बोलाएका छन्।

स्थान परिवर्तन गरेर किन सोमवारको बैठक स्थगित भयो भन्नेवार पार्टी प्रवक्तालाई समेत थाहा हुन सकेन। 'अध्यक्षहरुको सहमतिमा बैठक स्थगित भएको हो। किन स्थगति भएको हो मलाई थाहा भएन, ' श्रेष्ठले बैठकबारे भने।

ओली निकट एक नेताका अनुसार पेरिसडाँडामा बोलाइएको बैठकमा ओलीले आफूलाई रणनीतिक रुपमा कमजोर ठानेपछि बालुवाटारमा नै बैठक बोलाउनुपर्ने निष्कर्षमा ओली पुगेका हुन्। 

'उता राख्दा पूर्व प्रधानमन्त्री, उनीहरुका सल्लाहकार लगायतको लर्को हुने भयो। र त्यसले उहाँलाई अलिकति अफ्ठेरो भएपछि बालुवाटार मै बस्दा सजिलो हुन्छ भन्ने सहमति भएको हो,' ती नेताले भने।

मन्त्रिपरिषदमा कसलाई लैजाने र कसलाई बिदा गर्ने भन्ने ओली प्रचण्डबीच सहमति नभएकोले आजको बैठक स्थगित भएको हो। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बैठकका लागि तयारी नपुगेकाले दुवै अध्यक्षले  सहमतिमा बैठक स्थगित गरेको बताए। उनले बैठक बस्न पेरिसडाँडाको हल साँघुरो भएकाले बालुवाटार सार्न परेको दाबी गरे।

'उता साघुरो पनि भयो। आजको बैठक स्थगित गरेर भोली बालुवाटारमै बसौं यता सजिलो हुन्छ भन्ने सहमति भएको हो,' उनले भने।

नेकपा वृतमा पार्टी बैठकस्थल पेरिसडाँडालाई छानिनुलाई विवाद समाधानको एक महत्वपूर्ण संकेतका रुपमा प्रस्तुत गरिरहँदा राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भने यसलाई अनौठो प्रवृतिका रुपमा लिएका छन्। उनले बैठक स्थल सार्नु ओली प्रचण्डको नाटक मात्र भएको टिप्पणी गरे। श्रेष्ठको विचारमा जबरजस्ती दुई अध्यक्षले विवाद मिलेको जस्तो देखाउन बैठक पेरिसडाँडामा बोलाएका थिए। 'यो नाटक मात्र हो। प्रचण्डको आफ्नै खलक छ पार्टीमा ओलीको पनि त्यस्तै छ। यिनिहरु मात्र मिलेर हुदैन' उनले भने।

केही समयका लागि लेनदेन विवाद साम्य भएजस्तो देखिए पनि विवाद समाधन नभएको उनको दाबी छ। वैचारिक हिसावले दुई अध्यक्षबीच ठुलो अन्तर रहेको श्रेष्ठले बताउँछन्।

यही वैचारिक बेमेलकै कारण नेकपामा नेताहरुको कुर्सि फेर्नेदेखि बैठक पार्टी कार्यालयमा बोलाउनेकी वालुवाटारमा भन्ने विवाद भइरहको तर्क छ श्रेष्ठको।

प्रचण्डले साउन ३ गते आफूलाई परिवन्दमा पारेर ओलीले शितल निवास लगेको र त्यहाँ जनताको बहुदलिय जनवाद जबज मान्ने शर्तमा अध्यक्षका लागि सघाउने वचन दिएको आफू निकट नेताहरुलाई भनेका थिए।

तर 'जबज'लाई प्रचण्डले मान्न सकेनन्। प्रचण्डले आफू निकट नेतालाई बेला बेलामा ओलीले 'जनयुद्ध' शब्द उच्चारण नै गर्न नचाहेको बताउँदै आएका छन्।

प्रचण्ड निकट एक नेताका अनुसार पेरिसडाँडामा बैठक बोलाउन ओली तयार थिएनन्। तर प्रचण्डले पेरिसडाँडामै बैठक बोलाउनुपर्ने अडान राखेपछि बाध्य भएर सहमति गरिएको थियो। ती नेताका अनुसार कार्यकर्तालाई नेतृत्व तहमा विवाद छैन् भन्ने देखाउन पनि प्रचण्डले पेरिसडाँडा बैठक बोलाउनुपर्ने अडान राखेका थिए।

अर्कोतिर प्रचण्डले बालुवाटार भन्दा पार्टी कार्यालमा बैठक बोलाइए आफूले पाएको कार्यकारी अधिकारको व्वयहारिक कार्यान्वयन हुने विश्लेषण गरेका थिए। तर, फेरी केपी ओलीले पेरिसडाँडामा जान नसक्ने बताएपछि भने बैठक स्थगित गर्नुपरेको हो। बालुवाटार स्रोतका अनुसार कार्यकारीकै विवादका कारण ओली पेरिसडाँडा जान नचाहेका हुन्।

'कार्यकारी भएपछि उहाँहरुलाई अब पार्टीको पुरै अध्यक्ष मै मात्रै भएको हुँ भन्ने हुनेरहेछ। त्यही भएर प्रधानमन्त्रीले जान मान्नु भएन्,' स्रोतले भन्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell