PahiloPost

Nov 27, 2024 | १२ मंसिर २०८१

ताप्लेजुङकी कोराना संक्रमित महिलाको विराट मेडिकल कलेजमा मृत्यु



फूलमाया पुरी

ताप्लेजुङकी कोराना संक्रमित महिलाको विराट मेडिकल कलेजमा मृत्यु

विराटनगर : मोरङको विराट मेडिकल कलेजको कोभिड अस्पतालमा उपचाररत थप एक कोराना संक्रमित महिलाको मृत्यु भएको छ। ताप्लेजुङकी ३७ वर्षीया महिलाको आइसीयूमा उपचारको क्रममा सोमवार बिहान १०:४५ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा पुरु कोरालाले जानकारी दिए।

डा कोइरालाका अनुसार कलेजोमा गम्भीर समस्या भएकी ती महिलामा गत भदौ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो। बिरामीका आफन्तले जानकारी गराए अनुसार भदौ २८ गते ती महिला नोबेल अस्पताल भर्ना भएको उनले बताए। सोही दिन अस्पतालले स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा पोजिटीभ रिपोर्ट आएको थियो।

त्यसपश्चात नोवेल अस्पतालले समन्वय गरी विराट मेडिकल पठाएको थियो।

‘पहिलेदेखि नै कलेजोमा खराबीका कारण उहाँमा स्वास्थ्य समस्या त थियो नै त्यसमा पनि कोभिड-१९ को संक्रमणले थप गाह्रो बनायो’, डा पुरुले भने, ‘आइसीयूमा राखेर वैज्ञानिक ढंगबाट सकेसम्म उपचार गर्दा पनि हामीले उहाँलाई बचाउन सकेनौं।’

जिल्ला प्रशासन कार्यालय र नेपाली सेनालाई जानकारी गराइसकेकोले नियम अनुसार शव व्यवस्थापन हुने उनले बताए। योसँगै विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा हालसम्म कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको डा पुरुले बताए।

त्यसो त ६० बेडको क्षमता भएको विराट मेडिकल कलेजको कोभिड अस्पतालमा ५९ वटा बेड भरिसकेका छन्। र, ५ बेडको आइसीयूमा पनि सबै बेड उपचाररत बिरामीले भरिएको अवस्थामा रहेको डा पुरुले जानकारी दिए।

आइसीयूमा उपचाररत अधिकांश निमोनियाका समस्या भएका बिरामीहरु रहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell