वीरगंज: भारतीय नागरिक अवैध रुपमा प्रवेश गरी वीरगंजमा पीसीआर परीक्षण गराउन थालेका छन्। पर्सा-बाराका ग्रामीण नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई झुक्याउँदै वीरगंज पुगेर उनीहरुले पीसीआर परीक्षण गर्ने गरेको खुलेको हो।
नारायणी अस्पताल पीसीआर प्रयोगशालाले गएराति सार्वजनिक गरेको नतिजा अनुसार पर्साबाट १७७ जनाको र बाराबाट १५ जनाको स्वाब संकलन गरी कुल १९२ जनाको पीसीआर परीक्षण भएको छ। जसमा ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा पर्साका ३८ वर्षीय, बाराका ५९ वर्षीय, सर्लाहीका ४४ वर्षीय गरी तीन जना पुरुष छन्। सर्लाहीका युवक वीरगंजमै बसोबास गर्ने गरेका छन्।
५ जनामध्ये २ जना भारतीय नागरिकमा पनि कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी गराए। उनीहरु कहाँका हुन् र कसरी पीसीआर परीक्षण गराएका हुन् भन्नेबारेमा नारायणी अस्पतालले स्पष्ट विवरण खुलाएको छैन। दुई भारतीय नागरिकहरुको उमेर ४१ वर्ष र ५८ वर्ष रहेको छ।
अहिले नारायणी अस्पतालमा दैनिक ८० देखि सय जनाको सशुल्क पीसीआर परीक्षण भइरहेको छ। दुई हजार शुल्क तिरेर गराइने पीसीआरमा दैनिक ३० जना जति भारतीय नागरिक हुने गरेको नारायणी अस्पताल स्रोतको दाबी छ।
‘केही दिनदेखि भारतीयहरुको नेपाली आफन्तको नागरिकताको फोटोकापी र कन्ट्याक्ट ट्रेसिङको ठेगाना उपलब्ध गराएपछि मात्र पीसीआर गरिरहेका छौँ’, नारायणी अस्पताल पीसीआर प्रयोगशालाकी प्रमुख डा. नीरा पाठकले भनिन्।
उक्त कुरा कानुनसंगत हो या कानुन विपरीत उनले खुलाउन चाहिनन्।
सीमामा नियमन नगरे परीक्षणका लागि भारतीयहरुको लर्को लाग्ने चिकित्सकहरुकै अनुमान छ।
‘भारतीय वीरगंजका आफन्तजनको नागरिकता, ठेगाना र घर उपयोग गरी पीसीआर परीक्षण गराइरहेका छन्। उनीहरु भारतबाट अवैध रुपमा प्रवेश गरेर यहाँको स्वास्थ्य सेवाको लाभ लिइरहेका छन्,’ एक चिकित्सकले भने, ‘भोलि अवस्था भयावह हुन सक्छ, भारतमा अहिले महामारी तीव्र रुपमा अघि बढेको छ। सीमा नाकामा अवैध घुसपैठलाई रोक्नुपर्छ। अर्को कुरा यदि कोही भारतीयमा संक्रमण देखियो र उ भाग्यो भने उसको जिम्मा कसले लिने?’
पर्सा, बारामा एकातर्फ परीक्षण घटाएर ग्रीन जोन बनाउने हतार छ अर्को तर्फ भारतीयहरु धमाधम पीसीआर परीक्षण गर्न नेपाल भित्रिरहेका छन्। यस्तो गलत कामलाई रोक्नु पर्ने चिकित्सकहरुको भनाइ छ।
यस विषयमा सशस्त्र प्रहरी बल १३ नम्बर गण (पर्सा सशस्त्र कार्यालय) का प्रमुख एसपी राजेन्द्र खड्कासँग बुझ्दा उनले आफूले पनि भारतीय गोप्य रुपमा प्रवेश गरेको सुनेको र त्यसलाई मध्यनजर गर्दै आफू मातहतका सबै बीओपीलाई निर्देशन दिइसकेको बताए।
‘अहिले पनि अलौमा २ जना भारतीय सीमा पारी रोकिएका छन्। मैले हिजै सबै बीओपीलाई कडाइ गर्न भनिसकेको छु,’ उनले भने, ‘तापनि फेरि बुझछु।’
पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले भारतीयहरुको गैरकानुनी प्रवेशलाई अंकुश लगाउन आज बस्ने जिल्ला सुरक्षा समितिको बैठकमा यस बारे छलफल गर्ने बताए। उनले विगतमा कडाइ गर्दै आए तापनि कुनै नाकाको गोप्य बाटोबाट प्रवेश गर्ने गरिएको सूचना आएको बताए।
किन आउँदैछन् भारतीय?
लकडाउनको कारण भारतका मजदुर नेपाल आउन सकिरहेका छैनन्। बिहार र उत्तर प्रदेशका मजदुर पर्सा, बाराको नाकाबाट वीरगंज पुग्छन्। कुनै आफन्तजनको कागजातमार्फत पीसीआर परीक्षण गराउँछन्। नेगेटिभ आयो भने वीरगंजबाट बसमा चढेर काठमाडौं, पोखरा, भरतपुर, हैटौँडालगायतका शहरमा पुगिरहेका छन्। पोजिटिभ आयो भने उपचार गराउने उनीहरुको सोच छ।
यसमा पर्साका सिडिओ तामाङले भारतीय नागरिकको हकमा नेपाली नागरिक वा निकायले कन्ट्याक्ट ट्रेसिङको जिम्मा लियो र कागजात पेस गरी पीसीआर परीक्षण गराउन जानकारी गराएर परीक्षण गर्ने नियम छ। तर, अवैध प्रवेश र प्रयोजन छ भने गर्न नमिल्ने तामाङले प्रतिक्रिया दिए।