PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

काठमाडौंमा अनशन निरन्तरता दिँदै डा.गोविन्द केसी, आफ्नै खर्चमा जुम्ला छाडेर आउँदैछन् किन?



प्रकाश भण्डारी

काठमाडौंमा अनशन निरन्तरता दिँदै डा.गोविन्द केसी, आफ्नै खर्चमा जुम्ला छाडेर आउँदैछन् किन?
फोटोहरु : महेन्द्र कार्कीको फेसबुकबाट

काठमाडौं:  जुम्लामा अनशन थालेका डा. गोविन्द केसी काठमाडौं आउँदै छन्। १९ औं पटकको अनशन जुम्लामा थालेका केसी सोमवार नेपालगंञ्ज आइपुगे। नियमित उडानमार्फत उनी नेपालगञ्ज आएका हुन्।

मंगलवार साढे (११:२५) को उडानमार्फत उनी काठमाडौं आउन लागेको केसीका सहयोग प्रितम सुवेदीले जानकारी दिए। उनले अनशन थालेको मंगलवार ९ दिन पुगेको छ। ८ दिन जुम्लामा अनशन बसेका केसीले बाँकी दिनको अनशन भने काठमाडौंमा थाल्ने भएका हुन्। काठमाडौंमा कुन ठाउँमा अनशन थाल्ने भन्नेबारे भने कुनै निर्णय नभएको सुवेदीले बताए।

किन आउँदैछन् काठमाडौं?

जुम्लामा यसअघि अनशन बस्दा प्रहरीले बल प्रयोग गरेको र सरकारले अनशनको बेवास्ता गरेको भन्दै केसीले काठमाडौं आउने निर्णय गरेका हुन्। सोमवार विज्ञप्ति जारी गर्दै काठमाडौंमै अब आमरण अनशन थालिने केसीले बताएका छन्।

उनले आफूले उपचार गर्न नमान्दा पनि प्रहरीले अपहरण शैलीमा अस्पताल ल्याएको आरोप लगाएका थिए। उनले सरकारले दुई वर्षअघिको जुम्लामा थालिएको अनशनमा बल प्रयोग गर्न लगाएको र अहिले पनि बल प्रयोग गर्ने सम्भावना भएकाले काठमाडौं आउने निर्णय गरेको बताएका छन्।

'दुई वर्ष अगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतंक फैलाउदै हिंसा र तोडफोड गर्‍यो अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरु छन्,' विज्ञप्तिमा भनिएको छ। उनका सहयोगीका अनुसार एकातिर स्वास्थ्य बिग्रँदै जाने र अर्कोतिर सरकारले बेवास्ता गर्दै गएपछि केसी काठमाडौं आउने निधोमा पुगेका थिए।

सोमवारमात्रै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै केसीलाई उपचार सहज हुनेठाउँमा सार्नुपर्ने सुझाव दिएको थियो। उनको स्वास्थ्य अवस्था कमजोर भएकाले संक्रमणको उच्च जोखिम भएको र हालको स्वास्थ्य अवस्थाबारे जाच्न केसीले नमानेपछि अबस्था जटिले बनेको अस्पतालले जनाएको छ। केसीले काठमाडौंमै आमरण अनशन थाले सरकारमाथि दबाव पर्ने र उनको मुद्दाले ब्यापकता पाउने भएकाले पनि केसी काठमाडौं आउने निर्णयमा पुगेको बताइएको छ।

आफ्नै खर्चमा काठमाडौं

यसअघि गत वर्षपनि जुम्लामा अनशन बस्दा स्वास्थ्य अवस्था बिग्रदै गएपछि सरकारले केसीलाई काठमाडौं ल्याएको थियो। २०७५ साउन ३ मा उनी काठमाडौं आउन नमानेपछि बल प्रयोग गर्नुपरेको थियो। काठमाडौं ल्याएर उनलाई त्यतिबेला टिचिङ हस्पिटलमा राखिएको थियो। यसपटक भने केसी आफ्नै पैसामा काठमाडौं आएको जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए।

'उहाँ आफ्नै पैसामा प्लेन चढेर काठमाडौं जान तयार हुनु भएको हो। यसमा हामीले केही पनि गर्नु परेन,' उनले भने। जुम्लामा अनशन थाल्नुअघि नै उनलाई प्रहरीले निगरानीमा राख्न थालेपछि केसीका समर्थकले सरकारको चर्को विरोध गर्न थालेका थिए। अनशनको सुरुवातका दिनमा केसीले बिरामीलाई अनशन स्थलमै जाँच समेत गरेका थिए।

६ बुँदे माग यस्ता छन्

केसीले यसपटकको अनशन ६ बुँदे मागसहित सुरु गरेका छन्। यसअघि १८ औं पटकसम्म आमरण अनशन बसेका उनले सरकारसँग विभिन्न सहमति गर्दै अनशन तोड्दै आएका थिए। यसपटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययन कार्यक्रम सञ्चालन गर्नुपर्ने, २०७५ साउन १० को सहमति कार्यान्वयन गर्नुपर्ने, चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्रमा बरिष्ठता मिचेर भएको नियुक्ति सच्याउनुपर्ने, अछामको बयलपाटा अस्पतालको आर्थिक पाटो सबल बनाउनुपर्ने लगाएतका माग राखेर अनसनमा बसेका हुन्। २०६९ असार २१ मा पहिलो अनशन थालेका केसीले गत वर्ष साउन १० मा सरकारी वार्ता टोलीसँग ९ बुँदे सहमति गर्दै अनशन तोडेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell