PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

राज्यको लथालिंग पाराले कोरोना परीक्षणका लागि यसरी टेकुमा घण्टौं लाममा उभिन बाध्य छन् रामहरु

राज्यको लथालिंग पाराले कोरोना परीक्षणका लागि यसरी टेकुमा घण्टौं लाममा उभिन बाध्य छन् रामहरु

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : कोभिड-१९ संक्रमण रोकथाममा लागि सरकारले गत चैतबाट लकडाउनदेखि कर्फ्युसम्म लगायो। तर, रोकथाम तथा नियन्त्रणमा खासै प्रगति देखिएन।

स्वास्थ्य विज्ञहरुले संक्रमण रोक्न टेस्ट, टेस्ट एन्ड टेस्टको उपाय सुझाए। सरकारले ६ महिनाको अवधि कोभिड-१९ परीक्षण बढाउने बढाउने भनेर रट्दै बितायो। १३ हजार परीक्षण नकट्दा पनि प्रधानमन्त्री केपी शर्माले २३ हजार परीक्षण गरिसकेको दाबी गर्न भ्याए।

सरकारको अव्यवस्थित पारा काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अगाडि पुगेर हेरे देखिहालिन्छ। त्यहाँ पीसीआर परीक्षणकै लागि लाइन बस्न मध्यरातिदेखि सर्वसाधारणको दौडधुप नै चल्छ।   

यही भिडमा भेटिए राम यादव। केही दिनअघि भारतबाट काठमाडौं आएका उनलाई डेरामा पुग्दा उनलाई घरबेटीले पीसीआर रिपोर्ट मागे। त्यसपछि मंगलवार सबेरै उनी हानिए टेकु।

कोरोना परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण केन्द्रमा स्वाब दिन पुगेकाहरुको लाम लामै थियो। यादव स्वाब संकलन गराउन टिकट काटे र त्यही लामको अन्तिममा पुगेर उभिए।

काठमाडौं खुला भएसँगै विभिन्न जिल्ला र भारतबाट मानिसहरु आउने क्रम बढ्दो छ। राम त्यही आउने भिडको एक प्रतिनिधि पात्र हुन्। बाहिरबाट आउनेहरु मध्ये अधिकांश पीसीआर परीक्षणका लागि टेकु पुग्ने गर्छन्।

'अरु ठाउँमा दुई हजार लिन्छ रे। कामधन्दा छैन। भर्खर त आएको। पैसा नि छैन। त्यसैले यहाँ सस्तो हुन्छ भनेर आएको,' यादवले भने।

सरकारले पीसीआर परीक्षण शूल्क २ हजार तोकेको छ। टेकुमा भने निशुल्क। टिकट शुल्क बापत ३० रुपैयाँमा। त्यसैल रामजस्तै सयौं व्यक्ति दैनिक रुपमा टेकु पुग्ने गर्छन् र कोरोना महामारीबीच भिडमा उभिन्छन्। न कुनै स्वास्थ्य सतर्कता न सुरक्षा। मात्र छ त पीसीआर गर्नुपर्ने बाध्यता।

सरकारले भिडभाड गर्न प्रतिबन्ध लगाएको छ तर यसरी भिडमा नै बसेर परीक्षणको लागि पालो कुर्नुपर्ने अवस्था सरकारले देख्न नसकेको टेकु पुगेकाहरुको गुनासो छ। सरोकारवालाहरुले यसरी कुनै सतर्कता बिना नै लाइनमा राखेर पीसीआर परीक्षण गराउँदै थप संक्रमणको जोखिम हुन सक्ने भन्दै चेतावनी दिएका छन्। तर महिनौं बित्दासम्म टेकुमा न कोरोना परीक्षण गर्न आउनेको संख्या घटेको छ न भिड नै।



ट्रेन्डिङ पोस्ट

Ncell