काठमाडौं : लकडाउनको अवधिमा १२ जना लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले आत्महत्या गरेका छन्।
निल हिरा समाजले सञ्चारकर्मीहरुबीच गरेको एक कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक भएको हो। समाजका अनुज राईले लकडाउनको अवधिमा वैवाहिकसँगै मानसिक एवं आर्थिक समस्याका कारण लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले आत्महत्या गरेको जानकारी दिए।
‘लकडाउनको अवधिमा एक्लै बस्नुपर्ने समुदायबाट टाढा हुँदा उहाँहरु मानसिक रुपमा विछिप्त हुनु भयो’, उनले भने, ‘मनका कुरा साट्न कोही त साथी चाहियो। तर, पाउनु भएन्। कतिले आर्थिक अभावका कारण हात मुख जोड्न समस्या भयो र आत्महत्याको बाटो रोज्नु भयो।’
सरकारले संविधानमा लैंगिक अल्पसंख्यकलाई संवोधन गरे पनि वैवाहिक अधिकार नदिएको भन्दै अझै पनि कानुनी रुपमा लैंगिक अल्पसंख्यकहरु एक्लै हुनुपरेको उनको भनाई थियो।
‘हामीले विवाह गर्ने अधिकार सरकारले दिएको छैन। दर्ता हुँदैन’, राईले भने, ‘माया गर्ने त कोही चाहियो नी? हामीले पनि मनको कुरा साट्न कोही त पाउनुपर्यो।’
कैलालीमा दूई जना युवतीले आत्महत्या गरेको भन्दै समाजबाट अस्वीकृत हुने डरले आत्महत्या गर्ने घटना बढेको राईले बताए।
कार्यक्रममा बोल्दै समाजकी एन्जल रानाले समाजमा अझै पनि लैंगिक अल्पसंख्यक समुदायलाई हेर्ने दृष्टिकोण फरक रहेको भन्दै समावेसी सहभागितामा आफ्नो समुदाय समावेस हुन नसकेको बताइन्।
‘विभिन्न समुदायलाई आरक्षणको ब्यवस्था छ। हामीलाई आरक्षण छैन’, उनले भनिन्, ‘अल्पसंख्यक भनेर एउटै टोकरीमा समावेस गरिएको छ। हामी त्यसमा अट्न सकेनौं।’
लैंगिक अल्पसंख्यक समुदायलाई बैवाहिक अधिकार दिनुपर्ने उनीहरुको माग छ।
यसैबीच, लकडाउनको अवधिमा एक हजार बढी लैंगिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुलाई आधारभूत सामाग्रीहरु वितरण गरिएको जानकारी दिए।
