विराटनगर : मोरङको विराटनगरमा नेपाल टेलिकमको तार चोरी गरेको अभियोगमा ४ जना युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका वडा नम्बर ६ बस्ने २१ वर्षीय विजय सहनी, १८ वर्षका राज सहनी, २१ वर्षीय रविन सहनी र वर्ष १९ का सुमित सहनी रहेका छन्।
प्रहरीले उनीहरुबाट नेपाल टेलिकमको १५० पेयर र २२० मिटर केवल तार बरामद गरेको छ। त्यस्तै, को ४ प ४१५८ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।
विराटनगर महानगरपालिका वडा नम्बर ४ जामुनगाछीबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए।
प्रवक्ता राईका अनुसार नेपाल टेलिकम शाखा कार्यालय विराटनगरले गत असोज १ गते जिप्रकालाई पत्रमार्फत महानगरपालिकाको विभिन्न स्थानहरुबाट टेलिकमको तार चोरी भएको उजुरी दिएको थियो। सोही अनुसार अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलिले सोमवार राति ८ बजे जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो।
यसरी चोरिएका सामानसहित पक्राउ परेका चारै जना माथि चोरी ऐन अन्तर्गत कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
