PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

प्रदेश २ लोकसेवा आयोगको एक वर्ष पूरा, कर्मचारी अभाव भने ज्यूँका त्यूँ



पहिलोपोस्ट

प्रदेश २ लोकसेवा आयोगको एक वर्ष पूरा, कर्मचारी अभाव भने ज्यूँका त्यूँ

जनकपुरधाम : प्रदेश नम्बर २ सरकारले गत वर्ष गठन गरेको प्रदेश लोकसेवा आयोगको एक वर्ष पूरा भएको छ। प्रदेश लोक सेवा आयोगले एक वर्षको अवधिमा गरेका कामको प्रगति विवरण प्रदेश प्रमुखलाई बुझाएको छ। प्रदेश प्रमुख तिलक बहादुर परियारलाई आयोगका प्रमुख सुरेन्द्रप्रसाद यादवले मंगलवार आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन बुझाएका हुन्।

आयोगको वार्षिक प्रतिवेदनमा २२ बुँदे उपलब्धि उल्लेख गरिएको छ। आयोगले बुझाएको प्रतिवेदनमा विभिन्न सेवाका लागि २३ वटा पाठ्यक्रम मस्यौदा निर्माण, कर्मचारी अचार संहिता निर्माण, प्रदेश लोक सेवा आयोग नियमावली निर्माण गरिएको उल्लेख छ। यद्यपि अहिलेसम्म ती उपलब्धिहरुलाई राजपत्रमा प्रकाशित भने गरिएको छैन। एक वर्षको अवधिमा प्रदेश लोक सेवा आयोगको २८ पटकको बैठकमा गरिएका ६४ वटा निर्णयलाई समेत उपलब्धिको रुपमा प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनका अनुसार आयोगमा कर्मचारीसमेत पूर्ति हुन सकेको छैन। प्रदेश लोकसेवा आयोग अहिले पनि करार वा काजमा खटाइएका कर्मचारीहरुद्वारा संचालित छ। प्रतिवेदनमा कार्यालयले सूचना प्रवाहका लागि आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको र आयोग बारे जानकारी दिन पम्पलेट तयार पारेको कामलाई समेत उपलब्धिको रुपमा उल्लेख गरिएको छ।

प्रदेश सरकारले नै चलायमान बनाउन सकेन लोकसेवा आयोग

प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीसम्म विभिन्न मञ्चमा अहिले पनि कर्मचारी अभावका कारण प्रदेश सरकारले जुन गतिमा काम गर्न सक्नु पर्थ्यो त्यो हुन नसकेको बताउँदै आइरहेका छन्। प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीले विभिन्न मञ्चमा यस्ता अभिव्यक्ति दिइरहँदा कर्मचारी अभाव हुन नदिनका लागि गठन गरिएको प्रदेश लोक सेवा आयोगलाई प्रदेश सरकारले नै चलायमान बनाउन नसकिएको देखिएको छ।

कर्मचारी माग नगरेसम्म प्रदेश लोक सेवा आयोगले केही नगरेको जस्तो अनुभूमित हुनु स्वभाविक रहेको बताउँदै प्रदेश लोकसेवा आयोगका प्रवक्ता गंगेश गुञ्जन झाले आयोगको ऐन, निर्देशिका लगायतका कामहरु गर्नु पनि ठूलै उपलब्धि रहेको दावी गरे।

उनले भने, ‘हामीले कर्मचारी पूर्तिका लागि अहिलेसम्म विज्ञापन त निकाल्न सकेका छैनौँ तर त्यसका लागि सम्पूर्ण आधार तयार पारी सकेका छौँ।’

प्रवक्ता झाले प्रदेश सरकारले माग नगरेसम्म आयोगले कर्मचारी पूर्तिका लागि विज्ञापन निकाल्न नसक्ने बताए। उनले बारम्बार प्रदेश सरकारलाई यसका लागि ताकेता गरेपनि अहिलेसम्म कुनै प्रतिक्रिया प्रदेश सरकारबाट नआएको बताए।

प्रदेश लोकसेवा आयोग गठन भएको एक वर्ष पूरा गरेपनि त्यसको अनुभूति भने अहिलेसम्म प्रदेशवासीले गर्न नसकेको आरोप समेत लागि रहेको छ। एक वर्षको अवधिमा प्रदेश लोक सेवा आयोगको उपलब्धि शुन्य रहेको कतिपयको विश्लेषण छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell