PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सामाजिक सञ्जालमा भाइरल भइरहेको वीर अस्पताल प्रकरण, के हो वास्तविकता?



पहिलोपोस्ट

सामाजिक सञ्जालमा भाइरल भइरहेको वीर अस्पताल प्रकरण, के हो वास्तविकता?

काठमाडौँ: असोज ३ गते वीर अस्पतालमा उपचारको क्रममा ६३ वर्षीय रामलखन जयसवालको मृत्यु भयो। जयवालको मृत्यु शंकास्पद रूपमा भएको उनको परिवारले दाबी गरेका छन्। मृत्यु नभई हत्या भएको आशंका परिवारको रहेको छ।

अहिले सामाजिक सञ्जालमा विभिन्न टिका-टिप्पणी समेत हुन थालेका छन्। कतिले अस्पतालले आँखा झिकेको समेत बताइरहेका छन्।

सामाजिक सञ्जालमा घटनाबारेको अपुष्ट भिडियो भाइरल भइरहेको छ।

तर वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले मृत्युमा शंका गर्नुपर्ने कारण नभएको बताएका छन्। सेञ्चुरीले मृत्युपछि आवश्यक तापक्रम भएको कोठामा नराख्दा शरीर सडेको बताएका छन्।

'हामीले एकपटक फेरि पनि गएर हेर्‍यौँ। शरीरमा कुनै चोट छैन। मृत्यु भएको तीन दिनसम्म एउटा कोठामा रहेकाले आँखा बाहिर निस्किने, जिब्रो निस्किने, शरीर फुल्ने तथा शरीरमा विभिन्न निलो कालो दाग जस्तो देखिने हुन्छ। त्यही मात्र भएको हो,' निर्देशक सेन्चुरीले भने।

परिवारका सदस्यहरूले भने घटना शंकास्पद् भन्दै छानबिनको माग गरिरहेका छन्। 'शरीरमा चोट देखिएको छ। घाँटीमा पनि दागजस्तो भएकाले हामीलाई मृत्यु शंकास्पद लागेको हो,' जयसवालका भतिज शिवले भने।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका घर भएका उनी ज्यान मार्ने मुद्दामा ८ वर्षदेखि केन्द्रीय कारागार सुन्धारामा कैद भुक्तान गर्दै थिए। असोज ३ गते राति ९ बजेर ४५ मिनेटमा स्वास्थ्यमा समस्या देखिएपछि जयसवालालाई अस्पताल लगिएको जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए। अस्पताल पुर्‍याउने बित्तिकै मृत्युको भएको घोषणा गरिएको थियो।

'मृत्यु भएपछि कारागारको रिक्वेस्टमा हाम्रो इमर्जेन्सी नजिकैको कोठामा राखेको थियौँ। हाम्रो अस्पतालमा शव राख्न रेफ्रिजरेटर छैन। टिचिङ लग्नुपर्ने हुन्थ्यो। तर कोभिड परीक्षणको रिपोर्ट नआउँदासम्म राखेको हो। त्यसरी राख्दा शव सडेर यस्तो भएको हो,' निर्देशक सेञ्चुरीले भने।

मृत्युपछि उनको कोभिड-१९ परीक्षण पोजेटिभ देखिएको थियो।

मंगलबार परिवारले वीर अस्पताल पुगेर शव हेर्दा शंका लागेपछि घटनाको छानबिन हुनुपर्ने माग गरेका थिए।

केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले भने मृत्यु कुनै पनि शंकास्पद नभएको दाबी गरेका छन्। पार्किन्सनको बिरामी भएका जयसवाललाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको उनले बताए।

'कारागारभित्र कुनै पनि शंकास्पद छैन। उहाँलाई आवश्यक परे सिसी क्यामेरा फुटेजदेखि अन्य प्रमाण देखाउन सकिन्छ। बिरामी भएपछि ३ गते ९ बजेर ४५ मिनेटमा अस्पताल लगेका थियौँ। करिब ११ बजेतिर मृत्यु भएको जानकारी आएको थियो,' जेलर बाँस्कोटाले भने।

जयसवाल ज्यान मार्ने मुद्दामा कारागारमा रहेका थिए। जिल्ला अदालत रुपन्देहीले ज्यान मार्ने मुद्दामा २० वर्ष सजाय सुनाएको थियो। उनले ८ वर्ष कैद भुक्तान गरिसकेका थिए।

शरीरबाट आँखा झिकेकोको भनाईमा सत्यता नरहेको अस्पतालले दाबी गरेको छ।

'यो सबै गलत कुरा हो। अस्पतालले यस्तो गरेको छैन। हामीले आँखा किन झिक्नु,' प्रश्न गर्दै सेञ्चुरीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell